सातै प्रदेशको बजेट आज सार्वजनिक गरिँदै


काठमाडौं । आज सातै प्रदेश सरकारले आफ्नो आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् ।

आज बस्ने सम्बन्धित प्रदेश सभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन् ।

संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार १ गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातै वटा प्रदेशले बजेट ल्याउन लागेका हुन् ।

यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भइसकेको छ ।

आज दिउँसो १ बजे मधेश प्रदेशले बजेट प्रस्तुत गर्नेछ । त्यसैगरी, कर्णाली प्रदेशले दिउँसो ३ बजे, कोशी, बागमती र गण्डकी प्रदेशले दिउँसो ४ बजे आ-आफ्नो प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यतालिका बनाएका छन् ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशले भने साँझ ५ बजे मात्र बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।