चीनले बनायो मस्तिष्कमा राख्न मिल्ने व्यावसायिक चिप

595
Shares

एजेन्सी । चीनले इलोन मस्कको चर्चित कम्पनी न्युरालिंकलाई उछिनेर ब्रेन–कम्प्युटर इन्टरफेस प्रविधिलाई व्यावसायिक रूपमा बजारमा ल्याउने दौडमा ठूलो सफलता हात पारेको छ ।

सफल क्लिनिकल परीक्षणपछि चीनले विश्वकै पहिलो व्यावसायिक ब्रेन चिपलाई अनुमति दिएको छ । यसलाई प्रविधि क्षेत्रमा ऐतिहासिक फड्को मानिएको छ ।

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार नियो नाम दिइएको यो सिक्का आकारको इम्प्लान्ट व्यावसायिक प्रयोगका लागि क्लिनिकल परीक्षण पूरा गर्ने पहिलो शल्यक्रियात्मक उपकरण बनेको छ ।

बेइजिङको चिंग्वा विश्वविद्यालय र शाङ्हाईस्थित न्युराकल टेक्नोलोजीका अनुसन्धाताहरूले विकास गरेको यो चिप अब चीनको सरकारी स्वास्थ्य प्रणालीका लागि ठूलो परिमाणमा उत्पादन गरिने तयारी भइरहेको छ ।

नियोको पहिलो संस्करण मुख्यतया मेरुदण्डको चोट लागेका र पक्षघात भएका बिरामीहरूलाई उनीहरूको स्नायु प्रणालीमा पुनः नियन्त्रण कायम गर्न मद्दत गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

तर, अनुसन्धानकर्ताहरू र लगानीकर्ताहरूले यस प्रविधिलाई मानव र मशिनबीचको अन्तर्क्रियामा आउने एउटा ठूलो परिवर्तनको सुरुवातको रूपमा हेरेका छन् । चीनले यो सफलता हात पारिरहँदा इलोन मस्कको कम्पनी न्युरालिंकले भने अमेरिकामा अझै पनि मानव परीक्षण नै जारी राखेको छ र उसले व्यावसायिक प्रयोगका लागि अझै पनि व्यापक नियामक अनुमति प्राप्त गर्न सकेको छैन ।

इलोन मस्कले यस प्रविधिलाई धेरैपटक जिसस–लेभल टेक्नोलोजी (चमत्कारी प्रविधि) भन्दै यसको प्रचार गर्दै आएका छन् । यसै हप्ता इजरायलमा आयोजित एउटा कार्यक्रममा भिडियो लिंकमार्फत बोल्दै मस्कले आफ्नो कम्पनीले गरेका उपलब्धिहरूले उचित पहिचान नपाएको गुनासो गरेका थिए ।

उनले पक्षघात भएका मानिसहरूमा नियन्त्रण फर्काउनु र दृष्टिविहीनहरूलाई दृष्टि दिनु निकै ठूलो कुरा भएको र यो चमत्कारी स्तरको प्रविधि भएको तर्क गरे । न्युरालिंकको दाबीअनुसार, भविष्यमा यसको इम्प्लान्टले प्रयोगकर्ताहरूलाई केवल आफ्नो सोचाइको भरमा कम्प्युटर टाइप गर्न, कर्सर चलाउन र विभिन्न उपकरणहरू सञ्चालन गर्न अनुमति दिनेछ ।

विश्लेषकहरूका अनुसार, चीनले मस्कभन्दा छिटो प्रगति गर्नुको मुख्य कारण नियो चिपको विशेष डिजाइन हो । मस्कको न्युरालिंक एन१ उपकरणले मस्तिष्कको भित्री भाग (सेरेब्रल कर्टेक्स) सम्म इलेक्ट्रोडहरू छिराउनुपर्ने हुन्छ जुन निकै जटिल र जोखिमपूर्ण प्रक्रिया हो ।

तर चीनको नियो चिप खप्पर र मस्तिष्कको बीचमा बस्ने गरी डिजाइन गरिएको छ । यसमा भएका आठवटा सेन्सरहरू मस्तिष्कको सुरक्षात्मक बाहिरी झिल्ली (ड्यूरा मेटर) मा राखिन्छन् जसले गर्दा शल्यक्रिया कम जोखिमपूर्ण हुन्छ । यो इम्प्लान्टले मस्तिष्कका संकेतहरू संकलन गरी नजिकैको कम्प्युटरमा पठाउँछ जहाँ ती संकेतहरू डिजिटल आदेशमा परिणत हुन्छन् ।

हालसम्म ३६ जना बिरामीहरूमा यो उपकरणको परीक्षण भइसकेको छ र यसको नतिजा सकारात्मक देखिएको छ ।

अनुसन्धाताहरूका अनुसार, कम आक्रामक पद्धतिले गर्दा परम्परागत ब्रेन इम्प्लान्टमा हुने मेडिकल जोखिमहरूलाई कम गर्न मद्दत पुग्छ ।

विशेषज्ञहरूले यो प्रविधिले पक्षघात र मेरुदण्डको चोट मात्र नभई पार्किन्सन, छारे रोग (मिर्गी), पक्षघात र डिप्रेसन जस्ता गम्भीर न्युरोलोजिकल समस्या भएका लाखौं मानिसहरूको जीवनमा सुधार ल्याउन सक्ने अपेक्षा गरेका छन् ।

प्रविधिको विकाससँगै यसले गोपनीयता, सुरक्षा र व्यक्तिगत सुरक्षाका बारेमा गम्भीर चिन्ताहरू पनि उब्जाएको छ । साइबर सुरक्षा विशेषज्ञहरूका अनुसार, यी उपकरणहरूले ठूलो सम्भावना बोके पनि नयाँ जोखिमहरू पनि सिर्जना गर्छन् ।

सैद्धान्तिक रूपमा ह्याकरहरूले बिरामीको संवेदनशील न्यूरल डाटा, जस्तै सोच र स्मृतिहरूमा पहुँच प्राप्त गर्न सक्ने डर छ । साथै, ह्याकिङमार्फत बिरामीको एकाग्र हुने क्षमतामा ह्रास ल्याउने वा शारीरिक चालहरूलाई समेत नियन्त्रण गर्न सक्ने भयानक सम्भावना रहेको चेतावनी दिइएको छ ।

यस्ता उपकरणहरू भविष्यमा सर्वसाधारणका लागि सामान्य बन्दै जाँदा यी जोखिमहरू अझै बढ्न सक्ने देखिन्छ ।

चीनले व्यावसायिक अनुमति पाए पनि न्युरालिंकले आफ्नो प्रविधिलाई परिष्कृत गर्ने काम जारी राखेको छ । हाल ९ जना बिरामीहरूमा न्युरालिंकको एन१ चिप परीक्षण भइरहेको छ ।

तीमध्येकी एक सहभागी अड्रे क्रुजले यो प्रविधिले आफ्नो जीवनमा ल्याएको परिवर्तनको बारेमा अनुभव साझा गरेकी छन् । २० वर्षपछि पहिलोपटक आफ्नो नाम लेख्न प्रयास गरिरहेको बताउँदै उनले यस यात्राले न्युरालिंकको प्रविधिलाई अझ राम्रो बनाउन मद्दत पुग्ने र भविष्यमा लाखौं मानिसले केवल दिमागले उपकरणहरू चलाउन सक्ने विश्वास व्यक्त गरेकी छन् ।