
काठमाडौं । व्यवसायी खुमाप्रसाद अर्यालको ओम एग्रो कम्पनीको व्यापार आक्रामक देखिएको छ । गत आर्थिक वर्षको अन्तिम दुई महिनाबाट आंशिक व्यावसायिक कारोबार सुरू गरेको कम्पनीले चालु आवमा आक्रामक रूपमा व्यापार गरेको पाइएको छ ।
कम्पनीले गत आवको दुई महिनाको अवधिमा १३ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । गत आवमा गरेको व्यापार सन्तोषजनक रहे पनि अपेक्षाकृत कम बिक्री मूल्य हुँदा कम्पनीले नगद घाटा व्यहोरेको थियो । कम्पनीको गत आवमा १.१४ सञ्चालन मार्जिन रहेकाले सञ्चालन नाफा कमजोर देखिएको थियो ।
तर, चालु आवको पहिलो त्रैमासमा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी व्यावसायिक कारोबार गरेको कम्पनीले आक्रामक रूपमा बजारमा कारोबार सुरु गरेको पाइएको तथ्यांकले स्पष्ट देखाउँछ । कम्पनीले चालु आवको १० महिनाको अवधिमा १ अर्ब २ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ ।
कम्पनीका अनुसार चालु आवको कारोबार सञ्चालन विस्तारमा सन्तोषजनक प्रगति भएको उल्लेख छ । तर, भावी योजनाअनुसार उत्पादन क्षमता उपयोग वृद्धि पर्याप्त नगद प्रवाह सिर्जना गर्न सक्ने क्षमतामा निर्भर हुने जनाएको छ ।
गत आवको अन्त्यसम्ममा कम्पनीको पुँजी संरचना उच्च ऋणभारयुक्त अवस्थामा थियो । कम्पनीको समग्र गियरिङ अनुपात २.७१ गुणा (कर्जा र स्वपुँजीको अनुपात) रहेको थियो । उच्च ऋणमा आधारित पुँजीगत खर्चको कारण तथा सुरुवाती वर्षहरूमा भएको घाटाका कारण ट्यान्जिबल नेट वर्थ घट्नुले उत्पन्न भएको उल्लेख छ । कम्पनीले चालु आवमा थप आवधिक कर्जा लिएर पुँजीगत खर्च सम्पन्न गरेकाले गियरिङ अनुपात अझ बढ्ने अनुमान गरिएको छ ।
नेपालमा पोल्ट्री दाना क्षेत्रमा उच्च प्रतिस्पर्धा छ । आन्तरिक लगानीकर्ता तथा विदेशी लगानीकर्ताको पनि उच्च आकर्षण छ । नेपालमा भारत र चीनबाट यस क्षेत्रमा विदेशी लगानी भित्रिँदै आएको छ । नेपाली लगानीकर्ताले विदेशी लगानीकर्ताको प्रविधियुक्त उद्योगसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो रहेको उल्लेख गरेका छन् ।
सन् २००९ मा स्थापना भएको यो कम्पनीले पोल्ट्री दाना उत्पादन गर्दै आएको छ । प्रतिघण्टा २० मेट्रिक टन उत्पादन क्षमता रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीमा दुई जना निर्देशक छन् । खुमाप्रसाद अर्याल कम्पनीका अध्यक्ष हुन् ।








प्रतिक्रिया