मुद्रण विभागमा सतर्कता केन्द्रको छड्के, २० कर्मचारी समयमा आएनन्

84
Shares

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंस्थित मुद्रण विभागमा अनुगमन गरेको छ । अनुगमनका क्रममा २० जना कर्मचारीले समयमा कार्यालय नआउने, कार्यालय पोशाक नलगाउने र आचरणको पालना नगरी निजामती सेवा ऐन, उल्लंघन गरेको पाइएको छ । नियम उल्लंघन गरेपछि २० जना कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ अनुसार कारबाही गर्न निर्देशन दिएको छ ।

सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यरत कर्मचारीको उपस्थिति, नियमित सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंस्थित मुद्रण विभागमा छड्के अनुगमन गरेका थियो ।

अनुगमनका क्रममा केही कर्मचारीले सरकारी कार्यालयमा लागू नियम पालना नगरेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।

केन्द्रले निजामती सेवा ऐन, २०४९ को दफा ५५(क) तथा अन्य प्रचलित कानुनी व्यवस्थाअनुसार सम्बन्धित कर्मचारीमाथि आवश्यक कारबाही गरी जानकारी गराउन निर्देशन दिइएको छ ।

केन्द्रले निजामती सेवाका कर्मचारीलाई प्रचलित कानुन तथा आचारसंहिताअनुसार काम गर्नुपर्ने उल्लेख गर्दै समयपालना र अनुशासनमा विशेष ध्यान दिन आग्रह समेत गरेको छ ।