सत्तारूढ दलकै सांसद भन्छन्ः बजेट कार्यान्वयन हुँदैन, यो त फुकिएको ठूलो बेलुन मात्र हो

56
Shares

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन नहुने दाबी गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले वर्तमान बजेटलाई ‘ठूलो फुकिएको बेलुन’ को संज्ञा दिए ।

फुकिएको बेलुन लामो समयसम्म नटिक्ने उल्लेख गर्दै सिंहले आगामी बजेट पनि लक्ष्यअनुसार पूरा हुन नसक्ने ठोकुवा गरे । उनले दक्षिण एसियाका कुनै पनि देशले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३२ देखि ३३ प्रतिशतको बजेट बनाउने नगरेको बताउँदै नेपालको बजेटको आकार यथार्थपरक नभएको तर्क गरे । बजेटमा केही सकारात्मक कुरा भए पनि समग्रमा यसले आम नागरिकलाई राहत दिन नसकेको उनको भनाइ छ ।

सांसद सिंहले शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक अधिकारको रूपमा सुनिश्चित गरे पनि सरकारले यी क्षेत्रमा कर लगाएर संविधानको मर्मविपरीत काम गरेको आरोप लगाए । ‘मौलिक अधिकारमा कर लगाउन पाइँदैन,’ उनले भने, ‘निजी विद्यालय र अस्पतालमा लगाइएको करको भार अन्ततः विद्यार्थी र सेवाग्राहीमाथि नै पर्छ ।’

उनले पहिले सार्वजनिक शिक्षण संस्था र अस्पताललाई मजबुत बनाएर मात्र अन्य व्यवस्था गर्नुपर्नेमा त्यसतर्फ सरकारको ध्यान नगएको बताए । सातै प्रदेशमा बुढानीलकण्ठ जस्तै गुणस्तरीय विद्यालय खोल्ने आशा गरे पनि बजेटमा त्यस्तो केही नदेखिएको भन्दै उनले असन्तुष्टि पोखे ।

मुलुकमा व्यापारिक वातावरण कमजोर बन्दै गएको र निजी क्षेत्र त्रसित रहेको सिंहले बताए । ‘बैंकरहरू खुसी छन् भनिन्छ, तर बैंकमा निक्षेप थुप्रिएको छ, कसैले ऋण लिने अवस्था छैन,’ उनले भने, ‘यहाँ व्यापार गर्ने वातावरण छैन, डरको माहौल छ । डरले शासन चल्ला, तर डरले विकास हुँदैन ।’

किसानले उत्पादन गरेको तरकारीले उचित मूल्य नपाएको र उपभोक्ताले महँगोमा किन्नु परेको विषयमा पनि सिंहले सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘किसानले खेतमा ५ रुपैयाँमा तरकारी बेच्छ, तर काठमाडौँका उपभोक्ताले ५० रुपैयाँ तिर्नुपर्छ । किसानलाई उचित मूल्य दिलाउने व्यवस्था बजेटमा छैन ।’

यस्तै, युवा स्वरोजगार र आईटी क्षेत्रको विकासका लागि बजेटमा स्पष्ट कार्यक्रम नभएको उनको आरोप छ । बेरोजगारी र एआईको चुनौती बढ्दै गएका बेला युवालाई रोजगारी दिने योजना नल्याए यसले ठूलो संकट निम्त्याउने उनले चेतावनी दिए । उनले गरिब, दलित, मुसहर र चेपाङ बस्तीका मानिसले बजेटबाट केही नपाएको गुनासो गरे ।

सांसद सिंहले नेपालको बजेट घाटाको अवस्थालाई गाउँको ऋणमा डुबेको साहुजीसँग तुलना गरे । ‘साढे ४ खर्ब आन्तरिक ऋण लिने र त्यसमध्ये ३ खर्ब पुरानो ऋणको सावाँ–ब्याज तिर्नमै खर्च गर्ने प्रवृत्तिले देश समृद्ध हुँदैन,’ उनले भने ।

पुँजीगत खर्च २० प्रतिशत मात्र हुने देशलाई ‘भगवानले मात्र बचाउन सक्ने’ भन्दै उनले बजेटले सिङ्गापुर वा जापान बनाउने सपना बाँडे पनि परिणाम ‘ढाकको तीन पात’ जस्तै हुने टिप्पणी गरे । देश रेमिट्यान्सको भरमा चलेको र उत्पादनमूलक क्षेत्र धराशायी भएको भन्दै उनले सरकारले ल्याएको बजेटले वर्तमान आर्थिक समस्या समाधान नगर्ने दाबी गरे ।