
काठमाडौं । प्रतिपक्ष दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले ल्याएको बजेटले मुलुकको वास्तविक समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेटका कतिपय प्रावधानप्रति असन्तुष्टि व्यक्त गरे ।
अध्यक्ष राईले देशको समस्यालाई खुट्टाको घाउसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले घाउ निको पार्नुभन्दा पनि नयाँ जुत्ता किन्ने खालको काम गरेको भन्दै कटाक्ष गरे । ‘बजेट भनेको समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर ? खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो ध्यान जानुपर्छ,’ उनले भने ।
नेपालमा पेट्रोलियम पदार्थको मूल्य विश्वमै महँगो रहेको उल्लेख गर्दै राईले दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य अचाक्ली बढ्दा पनि त्यसलाई घटाउनेतर्फ बजेटले ध्यान नदिएकोमा आक्रोश व्यक्त गरे । उनले बजेटले विकासको वास्तविक अर्थ बुझ्न नसकेको तर्क गरे ।
सरकारले १०० वटा घर बनाएर सर्वसाधारणलाई बिक्री गर्ने योजना ल्याएकोमा अध्यक्ष राईले कडा आपत्ति जनाए । सरकार शान्ति सुव्यवस्था कायम गर्ने र सेवा सुविधा दिने निकाय भएको उल्लेख गर्दै उनले सरकार जग्गा वा रियल स्टेट व्यापारी हुन नसक्ने बताए ।
‘सरकार भनेको सेवा सुविधा प्रदान गर्ने निकाय हो, हामी जग्गा व्यापारी होइनौं,’ राईले भने, ‘सरकारले व्यापारी जस्तो भएर आवास निर्माण गरी बिक्री गर्ने कुरा आपत्तिजनक छ ।’ उनले सरकारले आफ्नो भूमिका बिर्सेर व्यापारिक काममा हात हाल्न खोजेको भन्दै यस्तो नीति राष्ट्रहितमा नहुने जिकिर गरे ।









प्रतिक्रिया