टेन स्टिलले एकै वर्ष गर्‍यो साढे १ अर्ब रुपैयाँ बढीको कारोबार

49
Shares

काठमाडौं । टेन स्टिलले एकै वर्ष साढे १ अर्ब रुपैयाँ बढीको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ५८ करोड रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२४ मा ७८ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ७५ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको कारोबार गत आवमा १०२ प्रतिशतले वृद्धि भएको उल्लेख छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ८२ करोड रुपैयाँको कारोबार गरिसकेको छ ।

कम्पनीले गत आवमा १ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२२ देखि २०२४ सम्म भने कम्पनीले खुद घाटा व्यहोर्दै आएको थियो । त्यस्तै, कम्पनीको १ करोड ९६ लाख रुपैयाँ कुल नगद सञ्चिति छ ।

सन् २०१८ मा स्थापना भएको कम्पनीले माइल्ड स्टिल ब्ल्याक पाइप, एमएस सिट र शटर प्रोफाइल उत्पादन गरी बजारमा बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले सन् २०२० देखि व्यावसायिक कारोबार गर्दै आएको छ । कम्पनीले वार्षिक ३० हजार मेट्रिक टन क्षमतामा एमएस पाइप उत्पादन गर्दै आएको छ ।

त्यसैगरी, कम्पनीले आफ्नो क्षमता विस्तार गरी ट्यूब मिलमार्फत ६० हजार मेट्रिक टन क्षमतामा एमएस पाइप, १२ हजार मेट्रिक टन क्षमतामा हट रोल्ड सिट्स र कोल्ड रोल्ड सिट्स, तथा ३ हजार मेट्रिक टन क्षमतामा शटर प्रोफाइल उत्पादन गर्दै आएको छ।

अनिलकुमार अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४७ करोड २ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड ९८ लाख रुपैयाँको रेटिङ गराएको हो ।