नेपालमा विभिन्न ब्रान्डका चामल बेच्ने १८ कम्पनीले गरे साढे ३३ अर्बको व्यापार, कुनले कति गरे ?


काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डका चामल बेच्ने १८ कम्पनीले एकै वर्ष साढे ३३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको पाइएको छ । रेटिङमार्फत संकलन गरिएको तथ्याङ्कअनुसार देशभर चामल बिक्री–वितरण गर्दै आएका १८ कम्पनीले गत आर्थिक वर्षमा ३३ अर्ब ६३ करोड ९० लाख रुपैयाँको कारोबार गरेका हुन् ।

उक्त कम्पनीहरूले सन् २०२४ मा २९ अर्ब ८३ करोड ९० लाख रुपैयाँको कारोबार गरेका थिए । संकलित तथ्याङ्कमा गत आवमा सबैभन्दा बढी सगरमाथा एग्रो ट्रेडिङ प्रालिले कारोबार गरेको छ ।

कम्पनीले गत आवमा ५ अर्ब ९७ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । त्यसपछि जयश्री फुड्सले ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, गत आवमा सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङले २ अर्ब ८६ करोड ४० लाख रुपैयाँ, ओम एग्रो प्रोडक्टले २ अर्ब ३९ करोड ५० लाख रुपैयाँ, सरोबर एग्रो इन्डष्ट्रिजले २ अर्ब १६ करोड २० लाख रुपैयाँ र महेश खाद्य उद्योगले १ अर्ब ८७ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् ।

त्यसैगरी, जय हरी एग्रोले १ अर्ब ६४ करोड १० लाख रुपैयाँ, रोयल राइस मिलले १ अर्ब ६० करोड ८० लाख रुपैयाँ, शिव पार्वती एग्रोले १ अर्ब ४४ करोड १० लाख रुपैयाँ, शिवम् एग्रो इन्डष्ट्रिजले १ अर्ब ३८ करोड २० लाख रुपैयाँ, मारुती फुड पार्कले १ अर्ब २५ करोड ३० लाख रुपैयाँ, पशुपति एग्रो एन्ड फुड इन्डष्ट्रिजले १ अर्ब २४ करोड ५० लाख रुपैयाँ र सीताराम एग्रो फुड प्रोडक्टले १ अर्ब १५ करोड ९० लाख रुपैयाँको कारोबार गरेका छन् ।

त्यस्तै, भुदियो खाद्य उद्योगले १ अर्ब ७ करोड ३० लाख रुपैयाँ, त्रिवेणी राइस इन्डष्ट्रिले १ अर्ब ६ करोड ५० लाख रुपैयाँ, गणपति एग्रो प्रोडक्ट प्रोसेसिङ इन्डष्ट्रिजले १ अर्ब ४ करोड १० लाख रुपैयाँ, मोहक खाद्य उद्योगले १ अर्ब २ करोड ८० लाख रुपैयाँ र काभ्रेली एग्रो इन्डष्ट्रिजले ७२ करोड १० लाख रुपैयाँको कारोबार गरेका छन् ।

कुन कम्पनीले कुन ब्रान्डमा बेच्छन् ?

सगरमाथा एग्रो ट्रेडिङ प्रालि: सन् २०१२ मा स्थापना भएको यस कम्पनीले गत आवमा करिब ६ अर्ब रुपैयाँको कारोबार गर्दा सन् २०२४ मा ४ अर्ब ५३ करोड ४० लाख र सन् २०२३ मा ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले चामलसँगै गहुँ, कोदो, मकै प्रशोधन गरी बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले रिपुराज, मखनखोर, जय हो, मुन्नासाही, नेवारी, मुस्कान, जिम्बु, भोज स्पेशल र रोयल टेस्टी ब्रान्डमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले गरेको कारोबारमध्ये ९८ प्रतिशत हिस्सा चामलको छ ।

यसमा श्यामसुन्दर रुङ्गटाको ३७ प्रतिशत, उमेशकुमार अग्रवालको ३७ प्रतिशत, अभिषेक अग्रवालको १२.५ प्रतिशत, उत्कर्ष अग्रवालको १२.५ प्रतिशत र सवितादेवी रुङ्गटाको १ प्रतिशत स्वामित्व छ ।

जय हरी एग्रो प्रालि: जय हरी एग्रो प्रालिले गत आवमा १ अर्ब ६४ करोड १० लाख रुपैयाँ कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब २३ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा ४३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २००८ मा स्थापना भएको कम्पनीले लङ–ग्रेन राइस र स्टिम राइस बेहुली, नाति–नातिनी, बुढा–बुढी, दैलो ब्रान्डमा बिक्री–वितरण गर्दै आएको छ । प्रति घण्टा १२ मेट्रिक टन प्रशोधन क्षमता रहेको कम्पनीका प्रबन्ध निर्देशक अमनकुमार अग्रवाल हुन् ।

सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङ उद्योग प्रालि: यस उद्योगले गत आवमा २ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २००१ मा स्थापना भएको कम्पनीले लङ ग्रेन चामल र जीरा चामल थकाली, मुबारक, सन्चो, कुहिनुर र सुवास साही ब्रान्डमा बिक्री–वितरण गर्दै आएको छ ।

ओम एग्रो प्रोडक्ट प्रालि: सन् २००५ मा स्थापना भएको ओम एग्रो प्रोडक्टले सन् २०२४ मा २ अर्ब २४ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब १२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले गत आवमा २ अर्ब ३९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । दैनिक ३ सय मेट्रिक टन उत्पादन क्षमता भएको कम्पनीले ‘पर्ल’ ब्रान्डमा चामल बिक्री–वितरण गर्दै आएको छ । रुङ्गटा ग्रुपद्वारा सञ्चालित कम्पनीका अध्यक्ष प्रदीपकुमार रुङ्गटा हुन् ।

सरोबर एग्रो इन्डष्ट्रिज प्रालि: सन् २०२० मा स्थापना भएको कम्पनीले गत आवमा २ अर्ब १६ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२४ मा ८३ करोड रुपैयाँको कारोबार गरेको थियो । प्रति घण्टा १२ मेट्रिक टन प्रशोधन गर्ने क्षमता रहेको कम्पनीले ५ केजीदेखि २५ केजीको प्याकेजिङमा चामल बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका अध्यक्ष सौदागरप्रसाद जैसवाल हुन् ।

महेश खाद्य उद्योग प्रालि: सन् १९९६ मा स्थापना भएको महेश खाद्य उद्योगले सन् २०२४ मा १ अर्ब ८४ करोड ८० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ४० करोड १० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ५ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । वार्षिक ७५ हजार मेट्रिक टन धान प्रशोधन क्षमता रहेको कम्पनीले ‘लालीगुराँस’ ब्रान्डमा चामल बिक्री–वितरण गर्दै आएको छ । यसमा महेश राठीको ४०.५४ प्रतिशत, राजेश राठीको २९.७३ प्रतिशत र नरेश राठीको २९.७३ प्रतिशत स्वामित्व छ ।

रोयल राइस मिल प्राइभेट कम्पनी: रोयल राइस मिलले गत आवमा १ अर्ब ६० करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ३७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा स्थापना भएको कम्पनीले सर्ट ग्रेन राइस र लङ ग्रेन राइस मुस्ताङ, कायरा र नेपाल गोल्ड ब्रान्डमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले ५ केजीदेखि २५ केजीसम्मका प्याक बिक्री गर्दै आएको छ । प्रति घण्टा १६ मेट्रिक टन क्षमता रहेको कम्पनीको नेतृत्व प्रमिल न्यौपानेले गरिरहेका छन् ।

शिव पार्वती एग्रो प्रालि: शिव पार्वती एग्रोले गत आवमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब २१ करोड ९० लाख रुपैयाँ र सन् २०२२ मा ३१ करोड रुपैयाँको कारोबार गरेको थियो । सन् २०१९ मा स्थापना भएको कम्पनीले प्रति घण्टा ११ मेट्रिक टन क्षमतामा धान प्रशोधन गर्दै आएको छ । कम्पनीले कमल, रोशनी, गोरखनाथ र बाँसबारी ब्रान्डमा चामल बिक्री–वितरण गर्दै आएको छ । कम्पनीमा मनोजकुमार गुप्ताको पूर्ण स्वामित्व छ ।

शिवम् एग्रो इन्डष्ट्रिज प्रालि: सन् २०१२ मा स्थापना भएको यस प्रालिले गत आवमा १ अर्ब ३८ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब २२ करोड ४० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ६२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सर्ट ग्रेन र लङ ग्रेन राइस ५ केजीदेखि ३० केजीको प्याकेजिङमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीले प्रशोधित चामल विभिन्न ७ वटा ब्रान्डमा बेच्ने गरेको छ । देशभर २०० भन्दा बढी डिलर रहेको यस कम्पनीका अध्यक्ष शिवजीप्रसाद साह कलवार हुन् ।

मारुती फुड पार्क प्रालि: मारुती फुड पार्क प्रालिले गत आवमा १ अर्ब २५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१९ मा स्थापना भएको कम्पनीले वार्षिक ३३ हजार ८ सय ४० मेट्रिक टन क्षमतामा धान प्रशोधन गर्दै आएको छ । कम्पनीले तनिस्क, काठमाडौं गेट, बुद्ध गेट, सेतो हिमाल र एच एन्ड टी ब्रान्डमा चामल बिक्री–वितरण गर्दछ । कम्पनीका प्रबन्ध निर्देशक विनोदकुमार अग्रहरी हुन् ।

पशुपति एग्रो एन्ड फुड इन्डष्ट्रिज प्रालि: यस उद्योगले गत आवमा १ अर्ब २४ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ४९ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा ३० करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा स्थापना भएको कम्पनीले धान आयात गरी ग्रेडिङ, सर्टिङ र पोलिसिङ गरी बिक्री–वितरण गर्दै आएको छ । प्रति घण्टा ८ मेट्रिक टन धान प्रशोधन क्षमता भएको यस कम्पनीले माइजू, सुनचरी, हिमानी, सनराइज, डबल सूर्यजस्ता ब्रान्डमा चामल बेच्ने गरेको छ । कम्पनीका सीईओ आशुतोष पाण्डे हुन् ।

सीताराम एग्रो फुड प्रोडक्ट प्रालि: सीताराम एग्रो फुड प्रोडक्टले गत आवमा १ अर्ब १५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ५ करोड ३० लाख रुपैयाँ र सन् २०२३ मा ६१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा स्थापना भएको कम्पनीले धान आयात गरी प्रशोधन पश्चात् एसएमटी गोल्ड, लालबन्दी, बन्चरी र युवराज ब्रान्डमा बिक्री–वितरण गर्दछ । प्रति घण्टा ८ मेट्रिक टन प्रशोधन क्षमता रहेको यस कम्पनीमा सीतारामकुमार साह रौनियारको पूर्ण स्वामित्व छ ।

भुदियो खाद्य उद्योग प्रालि: सन् २००१ मा स्थापना भएको यस कम्पनीले चामलसँगै हुलास मैदा, सुजी, दाल, पिठो र हुलास भुजाको कारोबार गर्दै आएको छ । कम्पनीले गत आवमा १ अर्ब ७ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब २६ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा १ अर्ब ९ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले ‘हुलास’ ब्रान्डमा १ केजीदेखि २५ केजीसम्मको प्याकेजमा सामान बिक्री गर्दछ । गोल्छा अर्गनाइजेसनद्वारा सञ्चालित यस कम्पनीका अध्यक्ष लोकमान्य गोल्छा हुन् ।

त्रिवेणी राइस इन्डष्ट्रि प्रालि: सन् २०२३ मा स्थापना भएको त्रिवेणी राइस इन्डष्ट्रिले गत आवमा १ अर्ब ६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ५६ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले चामलको सोर्सिङ, प्रोसेसिङ, प्याकेजिङ र वितरण गर्दै आएको छ । कम्पनीले जीरा मसिनो र सोना मनसुली चामलका साथै भुस, चिउरा र नक्कु बिक्री गर्दछ । प्रति घण्टा ८ मेट्रिक टन प्रशोधन क्षमता रहेको यो संघाई परिवारद्वारा सञ्चालित कम्पनी हो ।

गणपति एग्रो प्रोडक्ट प्रोसेसिङ इन्डष्ट्रिज प्रालि: यस उद्योगले गत आवमा १ अर्ब ४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा ८७ करोड २० लाख रुपैयाँ र सन् २०२३ मा ८४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०१७ मा स्थापना भएको कम्पनीले सायरा, गणपति भोज, साहसी र हिमगंगा ब्रान्डमा चामल बिक्री–वितरण गर्दै आएको छ । प्रति घण्टा ८ मेट्रिक टन उत्पादन क्षमता रहेको यस कम्पनीको स्वामित्व अर्जुनकुमार साहमा छ ।

मोहक खाद्य उद्योग प्रालि: मोहक खाद्य उद्योगले गत आवमा १ अर्ब २ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब ३० करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ४३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२१ मा स्थापना भएको कम्पनीले नागरिक, चखेवा, कसौडी, बादल र गोल्डेन एप्पल ब्रान्डमा चामल बिक्री गर्दछ । प्रति घण्टा ८ मेट्रिक टन प्रशोधन क्षमता रहेको कम्पनीका प्रबन्ध निर्देशक मदन खड्का हुन् ।

काभ्रेली एग्रो इन्डष्ट्रिज प्रालि: काभ्रेली एग्रो इन्डष्ट्रिजले गत आवमा ७२ करोड १० लाख रुपैयाँ, सन् २०२४ मा ५९ करोड १० लाख रुपैयाँ र सन् २०२३ मा १७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२० मा स्थापना भएको कम्पनीले वार्षिक २४ हजार टन क्षमतामा चामल उत्पादन गर्दै आएको छ ।