आईपीओको तयारीमा रहेको न्यूज २४ को व्यापार २१.३६% ले घट्यो, ६ महिनामा कतिको कारोबार ?

98
Shares

काठमाडौं । आईपीओ ल्याउने तयारीमा रहेको नेपाल ब्रोडकास्टिङ च्यानल ‘न्यूज २४’ ले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा साढे ३ करोड रुपैयाँको कारोबार गरेको छ ।

सन् २००७ मा स्थापना भएको यो कम्पनी सन् २०२३ मा पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले ९ करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने तयारी गरेको हो । कम्पनीले आईपीओ जारी गरी व्यापार विस्तार गर्ने योजना रहेको उल्लेख गरेको छ ।

सन् २०२५ मा ९ करोड रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२४ मा ११ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा १० करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १० करोड ८० लाख रुपैयाँ र सन् २०२१ मा ९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

गत आर्थिक वर्ष कम्पनीको कारोबार २१.३६ प्रतिशतले घटेको छ । कम्पनीका अनुसार विज्ञापनमा कमी आउँदा कारोबारमा गिरावट आएको हो ।

कम्पनीले गत आवमा २.९९ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा यसको खुद नाफा १६.१० प्रतिशत रहेको थियो । कम्पनीको खुद नाफा सन् २०२४ मा १ करोड ९० लाख रुपैयाँ रहेकोमा गत आवमा घटेर ३० लाख रुपैयाँमा खुम्चिएको छ । त्यस्तै, कम्पनीको कुल नगद सञ्चय ३ करोड १० लाख रुपैयाँबाट घटेर १ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको अध्यक्षमा अनिल जोशी रहेका छन् ।