दक्षिण एशियामै पहिलोपल्ट आयो ट्राइब, पाँचतारे बन्दै गरेको होटल सब्रिनाको व्यवस्थापन सम्हाल्ने

154
Shares

काठमाडौं । बुढानीलकण्ठमा रहेको होटल सब्रिनाको कारोबार ९ प्रतिशतले बढेको छ । कम्पनीको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा ९.२३ प्रतिशतले बढेको हो ।

होटलले सन् २०२४ मा ६ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २०२५ मा ७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा ८ करोड रुपैयाँको कारोबार गरेको थियो ।

सन् २०१८ मा स्थापना भएको होटलले बुढानीलकण्ठमा लक्जरी होटल सञ्चालन गर्दै आएको छ । पाँचतारेमा परिणत भएपछि होटल ‘ट्राइब’ ब्रान्डमा सञ्चालन हुनेछ । ट्राइब दक्षिण एशियामै पहिलोपल्ट आएको हो ।

सन् २०२४ मा पब्लिक कम्पनीमा परिणत भएको होटल ३ रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल ४८ वटा कोठाको सुविधासहित पर्यटकका लागि स्ट्यान्डर्ड होटल सञ्चालन गर्दै आएको छ । तर, कम्पनीले उक्त क्षमता बढाएर १०३ वटा कोठाको सुविधा दिने योजनासहित होटललाई पाँचतारेमा परिणत गर्न स्तरोन्नति गर्दैछ ।

होटल सामान्य रूपमा सन् २०१८ देखि सञ्चालनमा आएको थियो भने पूर्ण क्षमतामा सन् २०२० देखि सञ्चालन भएको थियो । हाल कम्पनीको योजनाअनुसार स्तरोन्नतिअन्तर्गत पूँजीगत खर्च प्रस्ताव गरिएको छ । जसमा होटल निर्माण गर्न इक्विटी लगानी र ऋणमार्फत लगानी गर्नेछ ।

होटलले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब २५ करोड रुपैयाँको रेटिङ गराएको छ । होटलले दीर्घकालीन कर्जाका लागि ६२ करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६२ करोड ७१ लाख रुपैयाँको रेटिङ गराएको हो ।