
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको कार्यशैलीप्रति कडा टिप्पणी गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै ओलीले आफ्ना नेताको बचाउ गर्न देशकै हितविपरीत लाग्नु घातक हुने चेतावनी दिइन् ।
सम्बोधनका क्रममा उनले हिजोसम्म राष्ट्रवादको कुरा गर्नेहरू आज नेतालाई जोगाउन ‘नेपालले भारतीय भूमि मिचेको’ प्रमाण खोज्दै हिँड्नु लज्जास्पद भएको बताइन् ।
प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक र कानुनी दृष्टिले कमजोर रहेको उल्लेख गर्दै उनले भनिन्, ‘प्रधानमन्त्री व्यक्ति मात्र नभएर संस्था हुन्, उनको फितलो भाष्यले राष्ट्रिय सङ्कट निम्त्याउन सक्छ । यसलाई सामान्य भनेर पन्छाउन मिल्दैन ।’
ओलीले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले भाषा प्रयोग गर्दा गम्भीरता र परिपक्वता देखाउनुपर्नेमा जोड दिइन् । नेताको अन्धभक्त भई राष्ट्रिय स्वाभिमानमा आँच पुऱ्याउने काम नगर्न उनले सांसदहरूलाई आग्रह गरिन् । व्यक्ति पूजा गर्ने प्रवृत्तिले अन्ततः देशलाई कमजोर बनाउने उनको जिकिर थियो ।





प्रतिक्रिया