सुलभको बयान: दीपक भट्टले फ्रि वाईफाई प्रयोग गरेर कारोबार गर्दा मेरो अफिसको आईपी एड्रेस देखियो

मैले बिमा कम्पनीको रकम दुरुपयोग गरेको छैन, श्रीमतीले ब्रोकरलाई ६२ करोड तिर्न बाँकी छ

2.1k
Shares



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष सुलभ अग्रवालले बिमा कम्पनीको रकम दुरुपयोग गरी व्यक्तिगत लाभ लिएको आरोप अस्वीकार गरेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनीसहितका कम्पनीहरूको रकम दुरुपयोग गरी सेयर किनेर व्यक्तिगत लाभ लिएको विषयमा बिमा ऐनसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा बयान दिँदै उनले आफूले बिमा ऐनविपरीत कुनै पनि कार्य नगरेको दाबी गरेका हुन् ।

सुलभले दीपक भट्ट र उनका कर्मचारीहरु आफ्नो कार्यालयमा आइरहने हुनाले कार्यालयको फ्रि वाईफाई प्रयोग गरी सेयर किनबेच गरेको हुनाले भट्टको कारोबारमा आफ्नो कार्यालयको आइपी एड्रेस देखिएको हुनसक्ने बयान दिएका छन् ।

साढे दुई महिनाअघिसम्म हिमालयन लाइफ इन्स्योरेन्सको अध्यक्ष रहेको र उक्त कम्पनीमा आफ्नो व्यक्तिगत ३० करोड रुपैयाँ लगानी रहेको जानकारी उनले बताएका छन् । उनले कम्पनीको सेयर खरिद–बिक्रीसम्बन्धी निर्णय व्यवस्थापन र लगानी समितिले गर्ने भन्दै त्यसमा आफ्नो संलग्नता नरहने दाबी गरेका छन् ।

बयानका क्रममा अग्रवालले श्रीमती सुभी अग्रवालले ५५ नम्बर ब्रोकर (भृकुटी स्टक ब्रोकिङ) मार्फत सेयर कारोबार गर्ने गरेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘श्रीमतीले ५५ नम्बर ब्रोकरसँग विगतदेखि नै कारोबार गर्दै आएकी छिन् । हाल उनले उक्त ब्रोकरलाई करिब ६२ करोड रुपैयाँ तिर्न बाँकी छ ।’ सीआईबीसँगको बयानमा अग्रवालले भनेका छन्, ‘उक्त रकम श्रीमतीले उधारो वा सापटीका रूपमा लिएको र सो रकम उनैले प्रयोग गरेको हो ।’

हिमालयन लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको ‘हिमालयन लार्ज क्याप फण्ड’ को रकम योजनाबद्ध रूपमा ५५ नम्बर ब्रोकरको खातामा पठाई व्यक्तिगत लाभ लिएको भन्ने आरोपलाई उनले अस्वीकार गरेका छन् । ‘मैले अध्यक्षको हैसियतमा कुनै प्रभाव प्रयोग गरी म्युचुअल फण्डको रकम ब्रोकरकहाँ पठाएको छैन । म उक्त फण्डको कुनै पदमा पनि छैन र बिमा ऐन २०७९ को दफा १४० बमोजिमको कुनै कसुर गरेको छैन ।’

अग्रवालले आफ्नो नक्सालस्थित निजी कार्यालयको आईपी एड्रेस सेयर कारोबारमा प्रयोग भएको सम्बन्धमा कार्यालयमा ‘फ्रि वाईफाई’ रहेको र त्यहाँ आफ्ना कर्मचारीका साथै व्यवसायी दीपक भट्ट वा उनका कर्मचारीहरू आउने-जाने क्रममा उक्त वाईफाई प्रयोग गरेको हुनसक्ने बताएका छन् ।

‘दीपक भट्ट र उनका कर्मचारीहरू मेरो कार्यालयमा आउने-जाने गर्दथे, त्यसैले मेरो कार्यालयको आईपी एड्रेस प्रयोग भएको हुनसक्छ । यसमा मेरो कुनै भूमिका छैन,’ अग्रवालले बयानमा भनेका छन् । उनले दीपक भट्टसँग आफ्नो हाल कुनै लेनदेन नरहेको तर परिवारका अन्य सदस्यहरूको केही लेनदेन बाँकी रहेको बताएका छन् ।

हिमालयन रि इन्स्योरेन्सको कुनै जिम्मेवारीमा नरहेको तर आफू सेयरधनी रहेको ‘अम्बर प्रो इन्भेष्टमेन्ट’ मार्फत त्यहाँ लगानी मात्र रहेको उनले बताएका छन् । साथै, जगदम्बा स्टिल्स आफ्नो कम्पनी नभएको समेत उनले बयानमा उल्लेख गरेका छन् ।

उनले आफूले अरू कसैको टीएमएस युजरनेम र पासवर्ड प्रयोग नगरेको र श्रीमतीको सेयर कारोबारमा कहिलेकाहीँ गाइड गर्ने वा अनुमति लिएर कर्मचारीमार्फत काम गरिदिने गरेको स्वीकार गरेका छन् ।

सुलभ अग्रवाललाई प्रहरीले गत चैत २२ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । उनीमाथि धितोपत्रसम्बन्धी कसूर, बिमा सम्बन्धी कसूर, बैंकिङ कसूर, राजस्व छलि सम्बन्धी कसूर र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तो छ सुलभले सीआईबीमा दिएको बयान

म हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा गुराँस लाइफ, युनियन लाइफ र लक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्जर भएपछि सञ्चालक अध्यक्ष भएको थिएँ र हाल करिब दुई महिनाअघि राजीनामा दिएको छु । मेरो हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा अन्दाजी ३० करोड रुपैयाँ लगानी रहेको छ । मेरो परिवार र व्यवसायको उक्त कम्पनीमा कुनै लगानी छैन । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयर खरिद–बिक्रीसम्बन्धी कारोबार कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा व्यवस्था भएबमोजिम तथा प्रचलित कानुनबमोजिम लगानी समिति र व्यवस्थापनले गर्ने गरेको छ । उक्त कारोबारको बारेमा लगानी समिति र व्यवस्थापनलाई त्यसको पूरा जिम्मेवारी रहन्छ । के-कुन धितोपत्र दलाल व्यवसायीमार्फत सेयर खरिद-बिक्री गर्ने गरेको छ, मलाई थाहा छैन ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई जानकारी होला । कम्पनीको सञ्चालक अध्यक्षको रूपमा वार्षिक रूपमा पेश हुने वित्तीय विवरणहरूबाहेक मलाई उक्त कम्पनीको सेयर कारोबारसम्बन्धी त्रैमासिक तथा वार्षिक रूपमा मात्र जानकारी हुने गरेको छ । मैले मेरो सेयर कारोबार आफैंले गर्दै आएको छु । उक्त कारोबार मेरो रोहवरमा कहिलेकाहीँ कर्मचारीहरूमार्फत समेत गराउँदछु । मेरो कारोबार काठमाडौं नक्सालस्थित मेरो स्वामित्वको भवनमा रहेको मेरो व्यक्तिगत कार्यालयबाट गर्दै आएको छु । मैले सेयर कारोबार गर्नका लागि प्रचलित नियमबमोजिम नै कारोबार सीमा प्राप्त गर्ने गरेको छु । चेक तथा अग्रिम रूपमा रकम जम्मा गरेको छैन । हाल ब्रोकरसँग व्यक्तिगत लेनदेन तथा उधारो कारोबारसमेत छैन ।

मैले मेरो बाहेक अन्य कुनै व्यक्ति वा संस्थाको डिम्याट एकाउन्ट, टीएमएस युजर प्रयोग गर्ने गरेको छैन । मेरो श्रीमतीको सेयर कारोबार गर्दा मैले गाइडसम्म गर्ने गरेको छु र कहिलेकाहीँ उनको अनुमति लिएर मेरो कर्मचारीमार्फत कारोबार गरिदिने गरेको छु । हिमालयन रिइन्स्योरेन्सको म कुनै पनि जिम्मेवारीमा रहेको छैन । ५५ नम्बर ब्रोकरबाट को-कसले के-कति रकम लिएका छन् भन्ने कुरा मलाई जानकारी छैन । तर मेरी श्रीमती सुवी अग्रवालले लिएको रकमका हकमा उक्त ब्रोकरसँग विगतदेखि नै कारोबार हुँदै आएकोमा हाल ब्रोकरलाई मेरी श्रीमतीले विभिन्न मितिमा लिएको रकमसमेत गरी ब्रोकर नं. ५५ लाई केही रकम तिर्न बाँकी छ । ब्रोकरलाई तिर्न बाँकी रकम अन्दाजी ६२ करोड रुपैयाँ हुनसक्छ, हाल एकीन भएन । ५५ नम्बर ब्रोकरबाट मेरी श्रीमतीले लिएको रकम उक्त ब्रोकरले के-कहाँबाट रकम ल्याएको हो भन्नेबारे मलाई थाहा जानकारी छैन । मेरी श्रीमतीले उधारो/सापटी लिएकी हुन् ।

उक्त रकम सुवीले नै प्रयोग गरेकी हुन् । म अध्यक्ष रहेको हिमालयन लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको म्युचुअल फण्ड ‘Himalayan Large Cap Fund’, मेरो लगानी रहेको हिमालयन सेक्युरिटिज बैंकरसमेतको रकम संगठित योजनाबद्ध रूपमा भृकुटी स्टक ब्रोकिङ कम्पनीको खातामा जम्मा गरी त्यस्तो रकम दुरुपयोग गरेर व्यक्तिगत लाभ लिने मनसायले बिमा कम्पनीको व्यवसायको क्रममा आर्थिक अनियमितता र दुरुपयोग गर्ने तथा बिमा ऐन, २०७९ को दफा १४० को बर्खिलाप मैले गरेको छैन । म हिमालयन रिइन्स्योरेन्सको कुनै जिम्मेवारीमा छैन । केवल म सेयरधनी रहेको अम्बर प्रो इन्भेष्टमेन्ट प्रालिको लगानी हिमालयन रिमा रहेको छ । मेरी श्रीमतीले ५५ नम्बर ब्रोकरसँग कारोबार गर्ने क्रममा सापटी लिएकी छिन् । यस सम्बन्धी सबै व्यहोरा माथि खुलाएको छु । मैले कुनै बिमा कम्पनीमा संलग्न भई बिमा ऐनको दफा १४० को कसुर गरेको छैन । मेरो कुनै स्वार्थको द्वन्द्व पनि छैन ।

मैले अनुचित तरिकाले वा अध्यक्षको हैसियतमा प्रभावको दुरुपयोग गरी हिमालयन लाइफ इन्स्योरेन्सले सञ्चालन गरेको म्युचुअल फण्ड ‘Himalayan Large Cap Fund’ समेतको रकम ५५ नम्बर ब्रोकरमा पठाई त्यसबाट मैले कुनै लाभ लिने कार्य गरेको होइन । म ‘Himalayan Large Cap Fund’ को कुनै पद र जिम्मेवारीमा छैन । यस कार्यमा मेरो कुनै संलग्नता छैन । बिमा ऐनमा उल्लेखित कर्तव्य र अधिकारको सम्बन्धमा मैले अध्यक्षको हैसियतले आफूलाई थाहा भएसम्म सबै बिमकको हितमा काम गरेको छु । मैले कुनै गैरकानुनी काम गरेको छैन र कुनै पनि गैरकानुनी निर्देशन दिएको छैन । साथै, गैरकानुनी लाभसमेत लिएको छैन । मैले अन्य कसैको टीएमएस युजरनेम र पासवर्डसमेत प्राप्त गरी आफूअनुकूल कारोबार गर्ने–गराउने गरेको छैन । उल्लिखित कम्पनी तथा व्यक्तिहरूको सेयर कारोबार गरेको छैन, साथै बिमकको रकम दुरुपयोग गरेको छैन । मेरो अफिसमा को–के व्यक्ति आएर उक्त कारोबार गरेका हुन्, मलाई जानकारी भएन । त्यसैले मैले बिमा ऐनअनुसारको कुनै कसुर गरेको छैन ।

म हिमालयन लाइफ इन्स्योरेन्समा अध्यक्ष रहेको ठिक साँचो हो । अन्य बिमा कम्पनीहरूमा लगानीबाहेक कुनै समिति र व्यवस्थापनमा मेरो संलग्नता छैन । आईपी प्रयोग सम्बन्धमा मेरो कार्यालयमा फ्रि वाईफाई भएकाले उक्त कार्यालयका स्टाफहरू र दीपक भट्ट वा उनका स्टाफहरूले प्रयोग गरेको हुनसक्दछ । दीपक भट्टबाट भएका कारोबार सम्बन्धमा दीपक भट्ट वा उनका कर्मचारीहरूसमेत मेरो कार्यालयमा आउने-जाने भएकाले मेरो कार्यालयको आईपी एड्रेस प्रयोग भएको हुनसक्छ । यसमा मेरो कुनै भूमिका रहेको छैन । जगदम्बा स्टिल्स मेरो कम्पनी होइन । दीपक भट्टसँग मेरो हाल रकम लेनदेन छैन । मेरो परिवारका सदस्यहरूको केही लेनदेन बाँकी छ । मैले दीपक भट्टसँग मिली बिमा ऐन २०७९ अनुसारको कसुर गरेको छैन ।