
एजेन्सी । इतिहासमा हरेक साम्राज्यको पतन एउटै रेखामा आएर ठोकिएको छ ।
अमेरिकाले त्यो रेखा धेरै अघि नै पार गरिसकेको छ । केही दिनअघि विश्वका सबैभन्दा धनी व्यक्ति इलोन मस्कले एउटा डरलाग्दो स्वीकारोक्ति गरे । उनले खुला रूपमा अमेरिका पतन हुने डर लागिरहेको बताए ।
मस्कको भनाइ थियो, ‘अहिले हाम्रो ऋणको ब्याज नै रक्षा बजेटभन्दा बढी भइसकेको छ । कृत्रिम बुद्धिमत्ता (एआई) र रोबोटले यसको समाधान निकाल्न सकेनन् भने हाम्रो खेल खत्तम हुनेछ ।’ यो एउटा वाक्यभित्र विशाल योजना लुकेको छ ।
सबैभन्दा पहिले यस ऋणको आकारलाई हेर्नुपर्छ । अमेरिकासँग अहिले ३९० खर्ब डलरको ऋण छ । यो रकम तिर्ने कुरा त छोडौं, यसलाई दिमागमा कल्पना गर्न पनि गाह्रो छ ।
गत वर्ष मात्रै अमेरिकाले यस ऋणको ब्याजबापत १० खर्ब डलर खर्च गर्यो । त्यही अवधिमा अमेरिकाको सैन्य बजेट ९४७ अर्ब डलर मात्र थियो । अर्थात्, अमेरिकाले आफ्नो सेनामा गर्ने खर्चभन्दा बढी त पुरानो ऋणको ब्याज तिर्नमा खर्च गरिरहेको छ । नागरिकले तिर्ने हरेक १०० डलर करमध्ये २० डलर कुनै सेवामा नभई सिधै ब्याजमा स्वाहा भइरहेको छ ।
सामान्यतया कुनै पनि देश यति ठूलो ऋणको भारमा टिक्न सक्दैन । त्यसोभए अमेरिका कसरी टिकिरहेको छ त ?
यसको एउटै जवाफ हो— ‘पेट्रोडलर’ । दशकौंदेखि विश्वमा तेलको खरिदबिक्री डलरमा मात्र हुँदै आएको छ । कुनै देशलाई तेल चाहिन्छ भने उसले पहिले डलर थुपार्नुपर्छ ।
यसले विश्व बजारमा डलरको कहिल्यै नसकिने भोक सिर्जना गर्यो । सबैलाई डलर चाहिएपछि अमेरिकाले आफूले चाहेजति ऋण लिन पायो किनकि उसले छापेको हरेक डलरका लागि विश्व लालायित छ ।
तर, यस प्रणालीलाई के कुराले जीवित राखेको थियो त ? यसको आधार थियो— समुद्रमा अमेरिकाको प्रभुत्व । अमेरिकी जलसेनाले तेल ओसारपसार हुने महत्त्वपूर्ण सामुद्रिक मार्ग र जलयोजकहरूमा नियन्त्रण जमाएको थियो ।
सरल भाषामा भन्दा डलरको शक्तिको पछाडि अमेरिकी सेना थियो । जलसेनाले तेलको मार्ग नियन्त्रण गर्ने, तेल डलरमा बेचिने, डलरको माग कहिल्यै नसकिने र त्यसैको बलमा अमेरिकाले असीमित ऋण लिने चक्र चलिरहेको थियो ।
अहिले यो चक्र उल्टो घुम्न थालेको छ । ऋणको ब्याजले अहिले त्यही जलसेनाको बजेटलाई उछिनेको छ जुन यो पूरै प्रणालीको जग थियो ।
विश्वका ठूला लगानीकर्तामध्ये एक रे डालियोले सयौं वर्षको साम्राज्य पतनको इतिहास अध्ययन गरेर ठ्याक्कै यही क्षणको वर्णन गरेका छन् । डालियोका अनुसार, जब महाशक्तिहरू अत्यधिक ऋणी हुन्छन् र उनीहरूले आफ्नो सैन्य तथा आर्थिक नियन्त्रण गुमाउन थाल्छन्, तब सहयोगी र ऋणदाताहरूले उनीहरूमाथिको विश्वास गुमाउँछन् । त्यसपछि उनीहरूको मुद्रा कमजोर हुन्छ, विशेषगरी सुनको तुलनामा ।
डालियोले सूचीकृत गरेका यी हरेक लक्षणहरूले अहिले पालैपालो अमेरिकाको ढोका ढकढक्याइरहेका छन् । अमेरिका एकातिर ऋणको दलदलमा छ भने अर्कोतिर इरानसँगको युद्धमा होमिएको छ । डालियोको शब्दमा भन्दा यो अत्यधिक ऋणको अवस्थामा शक्तिको प्रदर्शन गरेर आफ्नो सामर्थ्यभन्दा बाहिर जाने काम हो ।
अब वास्तविक प्रश्न आउँछ— यो ऋण कसरी तिर्ने ? यसको जवाफ क्रूर तर स्पष्ट छः यो ऋण कहिल्यै तिरिँदैन । कर दोब्बर पारे पनि वा बजेटमा जति कटौती गरे पनि यो ऋणको पहाड उभिइरहन्छ । यो ऋणबाट मुक्त हुने एउटै उपाय छ— ऋणलाई ‘पगाल्ने’ ।
यो ऋण डलरमा छ । डलरको मूल्य नै घटाइदियो भने डलरमा तिर्नुपर्ने ऋणको वास्तविक मूल्य पनि घट्छ । ट्रम्पले ‘मलाई कमजोर डलरले चिन्ता दिँदैन’ भन्नुको वास्तविक अर्थ यही हो ।
सामान्यतया कुनै देशको मुद्राको मूल्य घट्दा महँगी बढ्छ र जनता गरिब हुन्छन् । ऋण पगाल्न डलर कमजोर बनाइयो भने त्यसको मार सिधै आफ्नै नागरिकमाथि पर्छ । इतिहासमा अहिलेसम्म कोही पनि यो जालबाट उम्किन सकेका छैनन् । ऋण पगाल्न खोज्ने हरेक देशले आफ्ना जनतालाई मुद्रास्फीतिको जाँतोमा पिसेका छन् ।
तर, अमेरिकाको अहिलेको योजना यो पर्खाल भत्काउनेमा आधारित छ । र, त्यो पर्खाल भत्काउने हतियार हो— कृत्रिम बुद्धिमत्ता (एआई) ।
यसको तर्क एकदम सरल छः रोबोटहरूले नरोकिई चौबीसै घण्टा उत्पादन गर्न थाले भने बजारमा सामानको बाढी आउनेछ । त्यसपछि जति पैसा छापे पनि बजारमा सामान पर्याप्त हुने भएकाले मूल्य बढ्दैन । पैसाको मूल्य घट्छ, तर जीवन महँगो हुँदैन । रोबोटले त्यो खाडल भर्नेछन् ।
इतिहासमा पहिलोपटक कुनै देशले आफ्ना जनतालाई गरिब नबनाई आफ्नो मुद्राको अवमूल्यन गरेर ऋणबाट उम्किने प्रयास गरिरहेको छ । किनभने इतिहासमा पहिलोपटक उत्पादनलाई असीमित रूपमा बढाउन सक्ने शक्ति (एआई) उपलब्ध छ ।
इलोन मस्कको त्यो डरमिश्रित वाक्यले यही कुरालाई संकेत गरेको हो । रोबोटहरू समयमै तयार भएनन् भने छापिएको सबै पैसाको भार जनताको ढाडमा पर्नेछ र अमेरिका इतिहासका डुबेका साम्राज्यहरूको सूचीमा थपिनेछ ।
यो योजना कति गम्भीर छ भन्ने कुरा ट्रम्पले फेड (अमेरिकी केन्द्रीय बैंक) को प्रमुखमा रोजेका व्यक्तिबाट पनि स्पष्ट हुन्छ । केभिन वार्श पहिले ‘ब्याजदर घटाउनु खतरनाक हुन्छ, यसले महँगी बढाउँछ’ भन्ने खेमाका थिए ।
तर, अहिले उनले आफ्नो विचार बदलेका छन् । एआईले सबै कुरा परिवर्तन गरिदिएको उनी तर्क गर्छन् । अब पैसा छापे पनि वा ब्याजदर घटाए पनि उत्पादन यति धेरै बढ्नेछ कि महँगी आउने छैन ।
ट्रम्पले ठ्याक्कै यही कुरा बोल्ने व्यक्तिको खोजी गरिरहेका थिए किनभने यो योजना सफल हुन डलरलाई कमजोर बनाउनुपर्नेछ र त्यो गर्दा ‘चिन्ता नगर्नुहोस्, रोबोटले महँगी नियन्त्रण गर्नेछन्’ भन्ने मान्छे चाहिन्छ ।
यसरी यो योजना तयार भएको छः ट्रम्पले डलर कमजोर बनाउने, मस्कले उत्पादनका लागि रोबोटको फौज खडा गर्ने र वार्शले केन्द्रीय बैंकबाट पैसाको खोलो बगाउने । यो तीन व्यक्तिको ‘ऋण पगाल्ने मशिन’ हो ।
तर, यहाँ सबैभन्दा डरलाग्दो कुरा के छ भने रे डालियोले पतनको अन्तिम संकेत भनेको कुरा अर्थात् मुद्रा सुनको तुलनामा पग्लिनु हो । अमेरिकाको यो ‘बचाउ योजना’ डालियोले भनेको ‘अन्त्यको सुरुवात’ सँग ठ्याक्कै मेल खान्छ ।
अर्थात्, अमेरिकाले आफूलाई बचाउन चालेको कदम नै उसको पतनको वास्तविक संकेत हुन सक्छ । विश्वका केन्द्रीय बैंकहरूले अहिले रेकर्ड स्तरमा सुन किनिरहेका छन् । यसको कारण पनि यही हो ।
के यो योजना सफल होला ? यसमा कोही पनि निश्चित छैनन् । एकातिर इतिहास छ जसले भन्छ कि ऋणबाट ठग्न खोज्ने हरेक शक्ति पतन भएको छ । अर्कोतिर एउटा यस्तो प्रविधि छ जुन पहिले कहिल्यै थिएन । त्यो हो नरोकिई काम गर्ने मशिन ।
अमेरिका कि त इतिहासकै सबैभन्दा ठूलो आर्थिक जुवा खेलिरहेको छ कि त ऊ साम्राज्यहरूलाई निल्ने हजारौं वर्ष पुरानो खाडललाई नाघ्ने पहिलो शक्ति बन्नेछ । यसको परिणामले अमेरिकालाई मात्र होइन, डलर बोक्ने विश्वका हरेक व्यक्तिलाई असर गर्नेछ ।





प्रतिक्रिया