
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणमा आएकी छिन् ।
तीनदिने भ्रमणका लागि रोजर्स काठमाडौं आइपुगेकी हुन् । वालेन्द्र शाह बालेन नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमण गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।
भारत आइपुगेकी उनी उतैबाट नेपाल आएकी हुन् ।
नेपालस्थित अमेरिकी दूतावासले आयोजना गरेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । नेपाल बसाइका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले गत जेठ ६ गते बिहान ९:१० बजे सगरमाथाको सफल आरोहण गरेका थिए । उनकै सम्मानमा दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा उक्त समिट आयोजना गर्न लागेको हो ।
बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म चल्ने एकदिने विशेष कार्यक्रममा हिमाल, पर्वतारोहण, साहसिक पर्यटन, उच्च हिमाली अनुसन्धान तथा अभियान व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याइने बताइएको छ ।
उपविदेशमन्त्री रोजर्सले प्रधानमन्त्री बालेनसँग भेट गर्ने कार्यक्रम भने तय भएको छैन ।
उनले नेपाल सरकारका उच्च अधिकारीहरू, अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरू र अमेरिकी विदेश मन्त्रालयका विभिन्न कार्यक्रमका पूर्व-सहभागीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली स्थित अमेरिकी दूतावासले जनाएको छ ।
उनले खुला समाज र आर्थिक समृद्धिको आधारका रूपमा अभिव्यक्ति स्वतन्त्रता र डिजिटल स्वतन्त्रताको वकालत गर्ने छिन् । साथै, उनले ऐतिहासिक पाटन दरबार स्क्वायर र अमेरिकी राजदूत सांस्कृतिक संरक्षण कोष अन्तर्गतका सातवटा सम्पदा स्थलहरूको भ्रमण गर्ने कार्यक्रम छ ।
यस भ्रमणले नेपालको सांस्कृतिक सम्पदा संरक्षणमा अमेरिकाको सहयोगलाई दर्शाउनुका साथै नेपाली जनजीवन, धार्मिक परम्परा र पर्यटन अर्थतन्त्रको केन्द्रमा रहेका यस्ता स्थलहरूको सुरक्षाप्रति अमेरिकी प्रतिबद्धतालाई जोड दिने दूतावासले जनाएको छ ।
यसअघि वैशाख ८ गते अमेरिकाका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री पल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरेका थिए।
अमेरिकी उच्च अधिकारीहरूको निरन्तर भ्रमणकै बीच युरोपेली संघ (ईयू) का सदस्य राष्ट्रका राजदूत तथा मिसन प्रमुखहरूको टोलीले मंगलबार प्रधानमन्त्री शाहसँग सामूहिक छलफल गरेका थिए । ईयू सदस्य २३ राष्ट्रका राजदूत तथा कूटनीतिक प्रतिनिधिहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका थिए।
नेपालमा बालेनको नेतृत्वमा नयाँ सरकार गठन भएको दुई महिना नपुग्दै पश्चिमा शक्तिराष्ट्रहरूको कूटनीतिक सक्रियता बढेको हो ।





प्रतिक्रिया