
काठमाडौं । २०-३० लाख रूपैयाँ इन्भ्वाइस मूल्य भएका ईभी कारमा अर्थ मन्त्रालयले बेनामे सूचना निकालेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नेतृत्वको मन्त्रालयले आर्थिक विधेयकमा नसमेटेको विषयलाई उल्लेख गरी विभिन्न समाचार माध्यममा प्रकाशन भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
आर्थिक विधेयकले विद्युतीय कारमा अन्तःशुल्क हटाएर स्वच्छ पूर्वाधार लगानी शुल्क लगाइएको छ । जसअनुसार अब मोटरको पिक पावरमा आधारित नभएर मूल्यमा स्वच्छ पूर्वाधार शुल्क लाग्नेछ ।
आर्थिक विधेयकको अनुसूची ३ अनुसार सबै कारमा मूल्यको २० प्रतिशत स्वच्छ पूर्वाधार शुल्क लाग्ने उल्लेख छ । सोही अनुसूचीको प्रकरण २ मा ४ वटा प्रतिबन्धात्मक वाक्यांश राख्दै २० लाख रूपैयाँसम्म इन्भ्वाइस मूल्य भएका कारमा २.५ प्रतिशत, ३०-४० लाखका कारमा थप १५ प्रतिशत (कुल ३५ प्रतिशत), ४०-५० लाखका कारमा थप ७० प्रतिशत (कुल ९० प्रतिशत) र ५० लाखभन्दा बढी मूल्यका कारमा थप ११० प्रतिशत (कुल १३० प्रतिशत) स्वच्छ पूर्वाधार शुल्क लाग्ने व्यवस्था गरिएको छ ।
यो सूचीमा २०-३० लाख रूपैयाँ इन्भ्वाइस मूल्य हुने कारमा कति थप कर लाग्छ भन्ने उल्लेख नगरेको भन्दै क्लिकमान्डुले यसबाट यो मूल्यका ईभीलाई कर नलाग्ने घुमाउरो बाटो खोलेको समाचार सम्प्रेषण गरेको थियो ।
प्रकरण २ मा स्पष्ट रूपमा ‘प्रकरण १ मा जुनसुकै कुरा लेखिए तापनि देहायका विषयमा देहाय बमोजिम हुने’ उल्लेख गरेर प्रकरण १ को व्यवस्था प्रभावकारी नहुने बाटो खोलेको छ ।
प्रकरण २ मा २०-३० लाख मूल्य भएका कारमा कति स्वच्छ पूर्वाधार कर लाग्छ भन्ने आर्थिक विधेयकमा स्पष्ट नहुँदा अर्थ मन्त्रालयले भने २० प्रतिशत नै स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने दाबी गरेको हो ।
‘अन्य कुनै प्रकरणमा व्यवस्था नभएको खण्डमा स्वतः प्रकरण १ कायम हुने नै हुन्छ,’ मन्त्रालयले भनेको छ, ‘तसर्थ, २० लाख देखि ३० लाख कारोबार मूल्य भएका विद्युतीय सवारीमा लाग्ने कर २० प्रतिशत भन्सार तथा २० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने व्यवस्था प्रस्ट नै हुने भयो ।’
स्पष्टीकरण दिने क्रममा अर्थ मन्त्रालयले अर्को त्रुटि गरेको छ । ४०-५० लाख सीआईएफ मूल्य भएका ईभीमा आर्थिक विधेयकले ९० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क लाग्ने उल्लेख गरे तापनि बेनामे स्पष्टीकरणले ७० प्रतिशतमात्र लाग्ने उल्लेख गरेको छ ।
यता विवादित भएपछि आर्थिक विधेयक अर्थ मन्त्रालयको वेबसाइटबाटै गायब गरिएको छ ।






प्रतिक्रिया