
काठमाडौं । सरकारले सरकारी कर्मचारी तथा शिक्षकको तलब २१ प्रतिशतले बढाएको छ । सरकरले १० प्रतिशतले तलब बृद्धि मासिक मूल्यांकनसहितकोबा अर्को ११ प्रतिशत गरेर २१ प्रतिशले बढेको उल्लेख छ । मासिक महंगि भत्ता कायम नै रहेकोले पनि अब कर्मचारीको तलब ४० हजारदेखि १ लाख रुपैयाँ भन्दा माथि पुगेको छ ।
अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कर्मचारीको तलब बृद्धि गर्ने घोषणा गरेका हुन् ।
मन्त्री वाग्लेले शुक्रबार संसदमा पेश गरेको आगामी आवको बजेटमार्फत चार वर्षपछि कर्मचारीको तलब बढाएर कारण सरकारी कर्मचारी तथा शिक्षकलाई खुशी बनाउने काम गरेका छन् ।
कर्मचारीलाई खुसी बनाएर काम लिनुपर्ने भएकोले पनि बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कम्तीमा २१ प्रतिशतले तलब वृद्धि गरेको हो । सरकारले बढाएको यो तलब भने आगामी साउन १ देखि लागू हुने भने भदौदेखि मात्रै कर्मचारीले बढेको तबल पाउने छन् ।
यस अघि २०७९/८० मा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीको तलब १५ प्रतिशतले बढाएका थिए । त्यसपछि तलब नबढेको भएपनि चालू आर्थिक वर्ष २०८२/८३ को बजेटबाट भने सरकारले महंगी भत्ता मासिक ५ हजार दिन थालेको छ ।
कर्मचारीको तलब प्रत्येक दुई वर्षमा बढाउनु पर्ने व्यवस्था निजामति सेवा ऐनमा छ । तर सरकारले स्रोतको अभाव भएको भन्दै पछिल्लो तीन आर्थिक वर्षदेखि तलब बढाएको थिएन ।
सरकारले कर्मचारी ट्रेड युनियन खारेज गरेको, छोटो समयमा नै प्रगति देखिने गरी काम गर्न दिएको निर्देशन र कर्मचारीबाट नतिजामुखी कामको अपेक्षा बालेन सरकारले गरेकोले पनि तलबभत्ता बढाएर काम लिन खोजेको हो ।
त्यसो त महँगीको दर अनुसार खर्च धान्न सहज बनाउनकै लागि पनि निजामती सेवा ऐनमा भएको व्यवस्था अनुसार यो वर्ष तलब बढाउन सरकार बाध्य भएको हो । कर्मचारीको तलब बढाउन मुख्यसचिव सुमनराज अर्यालको संयोजकत्वको तलबभत्ता पुनरावलोकन समितिले दिएको सुझाव अनुसार नै यसपटक तलब बढाइएको छ । तर सुझाव अनुसार दिएको तबलमानको सबैको सीमा भने सरकारले सबै स्वीकार भने नगरेको उल्लेख छ ।
समितिले प्रत्येक वर्षमा राजस्व वृद्धिदर, कुल दरबन्दी संख्या र विगत तीन वर्षमा मूल्यसूचीको आधारमा प्रदान गरिएको महँगी भत्तालाई समेत आधार मानेर तलब भत्ता तथा अन्य सुविधा पुनरावलोकन गर्न सरकारलाई सुझाव दिएको थियो । समितिले सरकारी कर्मचारीको न्यूनतम ३५ हजार र अधिकतम १ लाख २१ हजार बनाउन सुझाव दिएको छ ।
सरकारलाई स्रोतको जोहो गर्न चाप परेको भए पनि कर्मचारीको तलब बढाएर काम लिनुपर्ने र सबैलाई रिझाएर काम गर्नुपर्ने बाध्यताकाबीच तलब बढाउन बाध्य भएको पनि अर्थ मन्त्रालको भनाइ छ । अर्थ मन्त्रालयका अनुसार कर्मचारीको तलब बढाउनै पर्ने भएकोले अनावश्यक खर्च कटौटी गर्ने र स्रोत संकलनमा पनि कडाइ गरिने भएको छ ।
हालको तलबमान अनुसार मुख्यसचिवको ७७ हजार २११, सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७३७, उपसचिवको ४८ हजार ७३७, शाखा अधिकृतको ४३ हजार ६८९, नायव सुब्बाको ४३ हजार ३८९ रुपैयाँ र कार्यालय सहयोगीको २७ हजार ६१२ रुपैयाँ तलब छ । यही तलबमान अनुसार साउनबाट नयाँ तलबमान निर्धारण हुन्छ । कर्मचारीको तबल बढ्दा शिक्षक, सुरक्षा निकाय र पेन्सन पाउने अवकासप्राप्त कर्मचारीको पनि पेन्सन पनि तबल बढ्छ ।






प्रतिक्रिया