‘एक मुठ्ठी बादल’ समीक्षा: मौन आँखाभित्र गहिरा कथाहरू

1.1k
Shares

‘एक मुठ्ठी बादल’ नाममै एउटा अधुरोपन, एउटा सपना, अनि समात्न खोज्दा पनि फुत्किरहने जीवनको प्रतीकजस्तो लाग्यो । यही कारणले यो सिनेमा अझ विशेष बन्यो । अझ विशेष यस अर्थमा पनि कि यो केवल महिलाको कथा होइन, महिलाहरूले आफ्नै दृष्टिकोणबाट बनाएको कथा हो । निर्माणदेखि कथावाचनसम्म, संवेदनादेखि संघर्षसम्म महिलाहरू नै यसको केन्द्रमा रहेका छन् । महिला पात्रहरूको अनुभव, मौनता, पीडा र शक्ति नै सिनेमाको मुटु बनेर अन्तिमसम्म दर्शकलाई बाँधिरहन्छ ।

विदेशमा बसेर पनि नेपाली समाज, भावना र महिलाका अनुभवलाई यति नजिकबाट बुझेर एक महिला लेखक तथा निर्देशक नेपाल आएर यस्तो सिनेमा बनाउनु आफैंमा नेपाली सिनेमाका लागि ठूलो र सकारात्मक कदम हो ।

यो केवल एउटा फिल्म बनाउने काम मात्र होइन, नेपाली कथालाई नयाँ दृष्टिकोण, नयाँ संवेदना र नयाँ भाषा दिने प्रयास पनि हो । जसरी ‘लुट’ सिनेमाले नेपाली सिनेमाको प्रस्तुति, कथा भन्ने शैली र दर्शकको सोचमै परिवर्तन ल्याएको थियो, त्यसैगरी ‘एक मुठ्ठी बादल’ ले पनि नेपाली सिनेमामा नयाँ सम्भावनाको ढोका खोल्न सक्छ भन्ने अनुभूति भयो । यो फिल्मले ठूलो स्वरमा होइन, आफ्नै शान्त गहिराइबाट प्रभाव छोड्छ । र, सायद यही कुरा यसलाई विशेष बनाउँछ ।

‘एक मुठ्ठी बादल’ को मौनताभित्र गहिरा कथाहरू लुकेका छन् । माइलीले विवाहसँग जोडिएको ‘नाक छेड्ने’ प्रचलन अस्वीकार गर्नु केवल व्यक्तिगत निर्णय होइन, महिलामाथि थोपारिँदै आएका परम्परागत अपेक्षाविरुद्धको एउटा मौन प्रतिरोध हो । यही शान्त असहमतिको शक्ति सिनेमाले निकै सुन्दर ढंगले देखाएको छ । विवाह दर्ताका लागि वडा कार्यालय जाँदा माइलीले सुरुदेखिनै असहजता महसुस गरिरहेकी देखिन्छिन्, जसले उसको मनभित्रको द्वन्द्वलाई सूक्ष्म रूपमा संकेत गरिरहेको हुन्छ ।

यही सूक्ष्म भाव, मौनता र नबोलिएका अनुभूतिहरूमार्फत ‘एक मुठ्ठी बादल’ को कथा अगाडि बढ्छ । विवाहको लागि भएको त्यो सानो जमघटमा परिवारभित्रका लुकेका भावनात्मक तनावहरू निकै सुन्दर र सूक्ष्म ढंगले प्रस्तुत गरिएको देखिन्छ । आमाबुबा, जेठी, माइली, ज्वाइँदेखि फुपूसम्म सबैका आफ्नै दबाब, असन्तुष्टि र मौन तनावहरू छन्, जुन ठूलो संवादभन्दा पनि व्यवहार, हाउभाउ र मौनतामार्फत महसुस हुन्छ । यही यथार्थपूर्ण प्रस्तुतीले दृश्यलाई अझ गहिरो र सम्बन्धित बनाएको छ ।

माइलीले वाचन गरेको ‘पम्पैको फूल’ कविताले महिलाहरूको भावनात्मक दूरी, अपनत्वको खोजी, भित्री तड्पन र ‘म वास्तवमा को हुँ?’ भन्ने अस्तित्वको प्रश्नलाई निकै प्रतीकात्मक ढंगले प्रस्तुत गरेको छ । कविताभित्रको संवेदना माइलीको मौनता र उसको भित्री द्वन्द्वसँग जोडिँदा अझ गहिरो अर्थ दिन्छ । त्यसैगरी, माइलीकी आमाले ‘म पनि त्यसै भागेको भए, अमेरिका गएकी भए…’ भनेर व्यक्त गरेको संवादले उहाँभित्र लुकेको पश्चाताप, अधुरा सपना र परिवारका लागि गरेको त्यागलाई अत्यन्त मार्मिक रूपमा उजागर गर्छ ।

उनको आँखा भरिएको आँसु, स्वरको भारीपन र मौनताले महिलाहरूले जीवनभर परिवारका लागि गर्ने अदृश्य भावनात्मक श्रमलाई संकेत गर्छ, जुन धेरैजसो न त देखिन्छ, न त मूल्याङ्कन नै हुन्छ । जेठीको आफ्नै भावनात्मक विघटनहरू छन् । विवाहलाई लिएर उनी एक किसिमको मानसिक जडता जस्तो अवस्थामा पुग्छिन् । छोड्ने कि बस्ने भन्ने द्विविधामा अड्किएको अवस्था । यो केवल व्यक्तिगत निर्णयको कुरा मात्र होइन, पितृसत्तात्मक पारिवारिक संरचना भित्र बस्नुपर्ने दबाब, जिम्मेवारी र डरबीचको गहिरो संघर्ष हो । यसले विवाहभित्रको मनोवैज्ञानिक द्वन्द्वलाई अत्यन्त सूक्ष्म रूपमा उजागर गर्छ ।

त्यसैगरी, माइलीका बुबाले देखाएको बिरुवाको दृश्यात्मक प्रतीक अत्यन्त अर्थपूर्ण छ । उनी लामो समय विदेशमा बसेर परिवारका लागि पैसा कमाउने अनुभवसँग जोडिँदा, त्यो प्रतीकले बाहिरी अपेक्षा, जिम्मेवारी र त्यसकै बीचमा लुकेको दबाब, एक्लोपन र भावनात्मक घुटनलाई गहिरो रूपमा प्रस्तुत गर्छ । सिनेमाले विवाहलाई केवल व्यक्तिगत सम्बन्ध नभई एउटा सामाजिक संस्थाको रूपमा देखाएको छ, जहाँ सामाजिक र पारिवारिक दबाबहरू गहिरो रूपमा जोडिएका हुन्छन् ।

माइलीले विवाहको तयारीपछि नाक छेड्ने दृश्यमा देखिएको सूक्ष्म असहजता, मौन आँसु र भित्री द्वन्द्वले विवाहलाई केवल उत्सव नभई एउटा भावनात्मक संक्रमण र आन्तरिक संघर्षको प्रक्रिया बनाइदिन्छ । यी सबै सूक्ष्म प्रतीक, मौनता र भावनात्मक तहहरूले ‘एक मुठ्ठी बादल’ लाई अत्यन्त गहिरो र संवेदनशील सामाजिक भावनात्मक कथन बनाएको छ ।

कलाकारहरूको समूहगत प्रस्तुतिले ‘एक मुठ्ठी बादल’ लाई भावनात्मक रूपमा अझ सशक्त बनाएको छ । यसै सिनेमाबाट नेपाली सिनेमामा उदाउँदै गरेका नयाँ नायक सहयोग अधिकारीले आफ्नो भूमिकालाई स्वाभाविक र प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् । सधैंझैं सिनेमाले मागेभन्दा बढी गहिराइ दिन सक्ने सशक्त नायक गौरव बिष्टले पनि आफ्नो चरित्रलाई मजबुत र प्रभावशाली रूपमा निभाएका छन् ।

सिनेमाको केन्द्रमा रहेर दर्शकलाई अन्तिमसम्म बाँधिराख्ने काम आँचल शर्माले आफ्नो संवेदनशील र सशक्त अभिनयमार्फत गरेकी छन् । त्यसैगरी, निशा शर्मा, उषा रजक, ‘कान्छी’ अस्मिता गौतम, ‘बुवा’ शेखर चापागाईं, ‘ज्वाइँ’ मनिष निरौला र ‘फुपू’ भीमा मैनालीले पनि आफ्ना–आफ्ना पात्रहरूलाई अत्यन्त स्वाभाविक, सूक्ष्म र भावनात्मक रूपमा ‘बाँचेर’ प्रस्तुत गरेका छन्, जसले फिल्मको कथा अझ जीवन्त र गहिरो बनाएको छ ।

‘एक मुठ्ठी बादल’ लाई मैले अझ व्यापक भावनात्मक-सामाजिक दृष्टिकोणबाट हेरेकी छु । वास्तवमै, फिल्मले महिला अनुभव र पारिवारिक सम्बन्धको सूक्ष्म भावनात्मक पक्षलाई राम्रोसँग देखाएको भए पनि केही संरचनागत पक्षहरू अझ गहिरो रूपमा उतार्न सकिने ठाउँ थियो । विशेषगरी उच्च शिक्षित महिलाहरू पनि पुरानो परम्परा र ‘अरूले के भन्छ’ भन्ने सामाजिक दबाबभित्र बाँधिनु पर्ने विरोधाभासलाई अझ स्पष्ट रूपमा देखाउन सकिन्थ्यो । सासू–बुहारी सम्बन्ध मात्र होइन, परिवारभित्र शक्ति कसरी एउटै केन्द्रमा घुम्छ, अनि त्यो केन्द्र कहिले ससुरा, प्राय सासु–केन्द्रित भएर मात्र चल्छ भन्ने कुरा अझ तीव्र रूपमा देखाउन सकिन्थ्यो ।

त्यस्तै, सम्पत्ति, नियन्त्रण र भावनात्मक अधिकारको दोहोरो व्यवहार, जस्तै आमाजु-नन्दलाई आफ्नो लागि स्वतन्त्रता चाहने तर बुहारी-भाउजुलाई नियन्त्रण गर्न खोज्ने सोच, आफु छुट्टै बसेर आफ्नो श्रीमानको कमाई आफैं मात्र खर्च गरुँ तर दाजुभाइ आमाकै ईसारामा जिन्दगीभर नाचुन् र कमाई पनि आमाबाबु हातमा मात्र दिउन् ।, आजको समाजको महत्वपूर्ण यथार्थ हो, जसलाई अझ गहिरो र सशक्त रूपमा प्रस्तुत गर्न सकिन्थ्यो । छोरा-छोरी र ज्वाइँ-बुहारीलाई फरक व्यवहार गर्ने लैङ्गिक भेदभावयुक्त दोहोरो मापदण्ड र ‘छोरीले नाइँ भन्दा स्वीकार्य तर बुहारीले नाइँ भन्दा अस्वीकार्य’ हुने मानसिकता पनि अझ स्पष्ट रूपमा देखाउन सकिन्थ्यो । समग्रमा, फिल्मले भावनात्मक तहलाई राम्रोसँग समातेको छ, तर पनि सामाजिक शक्ति संरचना, पारिवारिक नियन्त्रण, र अन्तर्निहित पितृसत्तात्मक अन्तर्विरोधहरुलाई अझ विस्तृत रूपमा देखाउन सक्ने सम्भावना भने अझै बाँकी छ ।

मेरो विचारमा मैले यो भन्नका लागि मात्रै भनेकी होईन तर मैले नायकद्वय सहयोग अधिकारी र गौरव बिष्टको दृष्टिकोण बाट सहारा शर्मामा धेरै अन्तर्निहित क्षमता देखेकी छु । मैले उहाँमा यति धेरै सम्भावना देखेकी छु कि यो सिनेमालाई म केवल स्थिर कथा होइन, बरु एउटा खुला अनुभवको रूपमा हेरेकी छु । यसले दर्शकको आफ्नै दृष्टि, समाजबोध र व्यक्तिगत अनुभवमार्फत निरन्तर नयाँ अर्थहरू थप्दै जान्छ ।

यो सिनेमाका सकारात्मक आलोचनाहरू म यिनै पात्र र परिवारहरूसम्म भेट हुँदा समयमै सुनाउनेछु । तर समग्रमा हेर्दा, यो सिनेमा जति राम्रो बनेको छ, यसले एउटै कथालाई फरक फरक कोणबाट पढ्ने अवसर प्रदान गर्छ र दर्शकलाई आफ्नै दृष्टि, भावना र समाजबोधमार्फत अर्थ निर्माण गर्न प्रेरित गर्छ । भावनालाई पनि यसले अत्यन्त सूक्ष्म र सुन्दर ढंगले प्रस्तुत गरेको छ, जसले समाजभित्रका जटिल सम्बन्ध र अन्तर्निहित यथार्थलाई गहिरो रूपमा उजागर गर्छ ।

(लेखक खरेल सामाजिक विज्ञानकी अध्येता हुन् ।)