
खासै ट्रेलर, रिभ्यु वा ‘कस्तो भयो’ भन्ने बहसभन्दा पनि सिधै सिनेमा हेर्न रुचाउने म, अदालतले नै रोक लगाएको खबर आएपछि भने यो लालिबजार मा आखिर के रहेछ भन्ने उत्सुकता जागेको थियो । संयोगले यसको ग्रान्ड प्रिमियरमै पुगेर सिनेमा हेर्ने अवसर पाएँ ।
मेरो लागि सिनेमा भनेको केवल मनोरञ्जन मात्र होइन, समाजलाई हेर्ने एउटा दृश्यात्मक माध्यम पनि हो । हामी सबैको दृष्टिकोण फरक हुन्छ, त्यसैले कुनै सिनेमा राम्रो वा नराम्रो भन्ने मूल्यांकन पनि फरक फरक नै हुन्छ । तर यो सिनेमा किन विवादमा पर्यो, किन प्रतिबन्धसम्मको कुरा आयो भन्ने जिज्ञासा लिएर हेर्दा, यसले हाम्रो समाजभित्र दबिएर बसेका धेरै यथार्थहरू छुन खोजेको महसुस भयो ।
कुनै पनि सिनेमा हेर्दा म त्यसलाई केवल मनोरञ्जनको रूपमा मात्र होइन, समाजशास्त्रीय दृष्टिकोणबाट पनि हेर्ने गर्छु । समाजशास्त्री, अनुसन्धानकर्ता तथा समाज र मानव व्यवहारको सूक्ष्म पर्यवेक्षकको रूपमा मेरो बुझाइमा लालिबजार लाई केवल विवादको आँखाले मात्र होइन, यसले उठाउन खोजेका सामाजिक प्रश्नहरू, शक्ति संरचना, सामाजिक व्यवहार र यथार्थहरूको दृष्टिकोणबाट पनि हेर्नु आवश्यक छ।
आज समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा लालिबजार नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको जातीय संरचना, असमानता, सीमान्तीकरण र लैंगिक विभेदको प्रतिबिम्बका रूपमा देखिन्छ । यस चलचित्रका पात्रहरूले विशेषगरी सीमान्तकृत वर्ग र बादी समुदायले भोग्दै आएको सामाजिक यथार्थलाई प्रतिनिधित्व गरेका छन् । ऐतिहासिक रूपमा विभेद, गरिबी र अवसरको अभावसँग संघर्ष गर्दै आएको बादी समुदायको जीवनलाई चलचित्रले संवेदनशील रूपमा प्रस्तुत गर्न खोजेको देखिन्छ ।
मैले विशेष रूपमा हाइलाइट गर्न चाहेका केही समाजशास्त्रीय दृष्टिकोणहरू यस प्रकार छन्:
संघर्षवादी दृष्टिकोण
यस चलचित्रले शक्ति, वर्ग र जातीय असमानताले मानिसहरूको जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुरा देखाउँछ । समाजको माथिल्लो तहमा रहेका मानिसहरूले संरचनागत रूपमा फाइदा लिइरहँदा सीमान्तकृत समुदाय आर्थिक र सामाजिक रूपमा कसरी पछाडि पारिन्छन् भन्ने यथार्थ चलचित्रमा स्पष्ट देखिन्छ ।
विशेषगरी, सबै विद्यार्थी एउटै कक्षाकोठामा हुँदा पनि कसैलाई माथि र कसैलाई भुइँमा बस्न बाध्य बनाइने दृश्यले समाजभित्रको गहिरो विभेदको प्रतिबिम्ब प्रस्तुत गर्छ, जसले मेरो मन धेरै छोएको थियो ।
नारीवादी दृष्टिकोण
महिलाको शरीर, श्रम र निर्णयमाथिको नियन्त्रण चलचित्रको मुख्य विषयमध्ये एक हो । यसले पितृसत्ता, महिलामाथिको शोषण, गरिबी र लैंगिक दमनबीचको सम्बन्धलाई उजागर गर्न खोज्छ । मुख्य पात्र स्वस्तिमा खड्का मार्फत बादी समुदायका महिलाहरूले आफ्नै शरीर, श्रम र निर्णयमाथि समेत स्वतन्त्र अधिकार नपाउने यथार्थलाई देखाइएको छ ।
उनीहरूको जीवनमा अरूले निर्णय गर्ने संरचनाले महिलाको अस्तित्व र स्वतन्त्रतालाई कसरी सीमित बनाउँछ भन्ने कुरा चलचित्रले गहिरो रूपमा प्रस्तुत गरेको छ ।
प्रतीकात्मक अन्तरक्रियावाद
समाजले कुनै समुदायलाई एकपटक निश्चित लेबल लगाइदिएपछि त्यसले उनीहरूको दैनिक जीवन, सम्बन्ध र पहिचानमा कस्तो असर पार्छ भन्ने कुरा चलचित्रले देखाउँछ । सामाजिक पूर्वाग्रह र कलङ्कले व्यक्तिलाई कसरी हेर्ने दृष्टिकोण निर्माण गर्छ भन्ने यथार्थ पात्रहरूको व्यवहारमार्फत देख्न सकिन्छ ।
विकास तथा सहरी समाजशास्त्र
लालीबजार केवल एउटा स्थान मात्र नभई बसाइँसराइ, संघर्ष, अनौपचारिक अर्थतन्त्र र शहरी असमानताको प्रतीकजस्तै देखिन्छ । असमान शहरी संरचनाभित्र मानिसहरू कसरी बाँच्न, अनुकूल हुन र संघर्ष गर्न बाध्य हुन्छन् भन्ने पक्षलाई चलचित्रले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
सामाजिक बहिष्करण तथा सीमान्तीकरण
चलचित्रले समाजमा कसले सम्मान, अवसर र पहिचान पाउँछ र कसलाई सामाजिक संरचनाभित्र रहेर पनि अदृश्य बनाइन्छ भन्ने प्रश्न उठाउँछ । एउटै समाजमा बसेर पनि केही महिलाहरूले सम्मान, अवसर र पहिचान नपाउने यथार्थ चलचित्रले देखाएको छ । समाजको संरचनाभित्र रहेर पनि उनीहरूलाई अदृश्य बनाइने प्रक्रिया नै सामाजिक बहिष्करणको सबैभन्दा ठूलो उदाहरण हो ।
हरेक सिर्जना र मानिसमा केही कमजोरी हुन सक्छन्, सुधारका ठाउँहरू हुन सक्छन्, तर कुनै पनि चलचित्रको सबैभन्दा ठूलो शक्ति भनेको त्यसले समाजमा उठाउने प्रश्न, सुरु गर्ने बहस र दर्शकलाई सोच्न बाध्य बनाउने क्षमता हो । लालिबजार ले त्यो काम गर्न सफल भएको महसुस भयो ।
नेपाली सिनेमाले अहिले मनोरञ्जनसँगै समाजका गम्भीर विषयहरू उठाउन थालेको छ, सीमान्तकृत समुदायका आवाजलाई स्थान दिन थालेको छ, र यही परिवर्तन सकारात्मक संकेत हो ।
यस्ता चलचित्रहरूले समाजमा चेतना, संवाद र परिवर्तनका पाइला छोडेर जाने विश्वास मलाई छ ।
त्यसैले, लालिबजार एउटा अब्बल, साहसी र सोच्न बाध्य बनाउने सिनेमा बनेको महसुस भयो । यस्तै अर्थपूर्ण, यथार्थपरक र समाजसँग जोडिएका नेपाली सिनेमाहरूको प्रतीक्षामा हामी नेपाली दर्शकहरू सधैं रहनेछौं ।
नेपाली सिनेमा अझ उचाइमा पुगोस्, अझ बलियो बनोस्, र विश्वसामु नेपाली कथा, संघर्ष र पहिचानलाई गर्वका साथ प्रस्तुत गर्न सकोस् भन्ने शुभकामना ।
अन्त्यमा, लालिबजार केवल एउटा चलचित्र मात्र नभई नेपाली समाजभित्र रहेको जातीय विभाजन, गरिबी, लैङ्गिक हिंसा, सामाजिक असमानता र न्यायका प्रश्नहरूमाथि बहस गर्ने एउटा सामाजिक दस्तावेजजस्तै बनेको रहेछ । यो हेर्दा मलाई वास्तवमै खुसी लाग्यो ।
सम्पूर्ण नेपाली सिनेमा, यससँग जोडिनुभएका कलाकार, निर्देशक, लेखक, प्राविधिक तथा सम्पूर्ण सिनेकर्मीहरूलाई समाजशास्त्रको विद्यार्थी तथा समाज र मानव व्यवहारको सूक्ष्म पर्यवेक्षकको रूपमा मेरो धेरै सम्मान, शुभेच्छा र माया छ । हामी नेपाली दर्शकहरू सधैं नेपाली सिनेमा अझ राम्रो, परिपक्व र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्दै गएको हेर्न चाहन्छौं ।
त्यसैले, लालिबजार एउटा साहसी सिनेमा बनेको महसुस भयो । यस्तै अर्थपूर्ण, यथार्थपरक र समाजसँग जोडिएका सिनेमाहरूको प्रतीक्षामा हामी नेपाली दर्शकहरू सधैं रहनेछौं ।
(लेखक खरेल सामाजिक विज्ञानकी अध्येता हुन् ।)





प्रतिक्रिया