
काठमाडौं । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको सम्पूर्ण खर्च विवरण सार्वजनिक गरेको छ । आयोगको जेठ ५ गते बसेको बैठकको निर्णयानुसार उक्त चुनावी खर्चको एकीकृत हिसाव सार्वजनिक गरिएको हो ।
आयोगका अनुसार उक्त निर्वाचन सम्पन्न गर्न नेपाल सरकारबाट कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २०० रुपैयाँ प्राप्त भएको थियो । जसमध्ये ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्रै खर्च भएको छ । सरकारले उपलब्ध गराएको बजेटमध्ये १ अर्ब ७५ करोड भन्दा बढी रकम बचत भएको देखिन्छ ।
आयोगको तथ्यांक अनुसार उक्त निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेका थिए। यस आधारमा हेर्दा एकजना मतदाता बराबर सरदर २६३ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ को दफा ३६ तथा शासकीय सुधार सम्बन्धी कार्ययोजना बमोजिम बजेट निकासा, खर्च, राजस्व र धरौटी सहितको समग्र वित्तीय विवरण सार्वजनिक गरिएको हो ।





प्रतिक्रिया