
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा गरेको चीनको राजकीय भ्रमणले विश्वकै सबैभन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धलाई सम्हाल्न सहयोग गरेको छ ।
सन् २०१७ मा उनले गरेको पहिलो भ्रमणको तुलनामा अहिलेको विश्व परिदृश्य धेरै खतरनाक छ । यस्तो बेलामा ट्रम्पले पहिलेको भन्दा बढी आत्मविश्वासी र शक्तिशाली चीनको सामना गर्नुपरेको छ । अमेरिका चाहिँ इरानमा जारी युद्धको आर्थिक र सैन्य दबाबले कमजोर बनेको अवस्थामा ट्रम्पले चीनको भ्रमण गरेका हुन् ।
यो शिखर सम्मेलन दुई शक्तिशाली राष्ट्रहरूबीचको पूर्ण सम्बन्ध विच्छेदलाई रोक्नको लागि गरिएको उच्चस्तरको प्रयासका रूपमा चिनिनेछ । पश्चिम एसियामा चलिरहेको द्वन्द्वले हर्मुज जलयोजक ठप्प भएको र विश्वव्यापी ऊर्जा सुरक्षा खतरामा परेको पृष्ठभूमिमा बेइजिङमा ट्रम्प र चीनका राष्ट्रपति सी चिनपिङबीचको बैठक कूटनीतिक प्रदर्शन मात्र हैन । यो विश्वव्यापी आर्थिक पतनबाट बच्नका लागि व्यावहारिक साझेदारीको खोजी समेत हो ।
इरान युद्ध र यसले विश्वव्यापी अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गर्नु यस शिखर सम्मेलनको मुख्य भूराजनीतिक उपलब्धि हो । इरानको पुरानो मित्र र इरानी तेलको प्राथमिक खरिदकर्ताको रूपमा चीनसँग तेहरानमाथि प्रभाव पार्न सक्ने अद्वितीय क्षमता छ । त्यसलाई ट्रम्प प्रशासनले अहिले स्वीकार गर्न बाध्य भएको छ ।
वाशिङटन छोड्नुअघि राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा इरान द्वन्द्व समाधान गर्न आफूलाई कसैको सहयोग नचाहिने दाबी गरेको भए पनि बेइजिङमा भएको छलफलको वास्तविकता फरक देखियो ।

ग्रेट हल अफ द पिपुलमा भएका वार्तामा महत्त्वपूर्ण समुद्री मार्गहरू पुनः खोल्नका लागि तेहरानमाथि चीनको प्रभाव प्रयोग गर्ने कुरामा केन्द्रित थिए । चीन र अमेरिका दुवैले हर्मुजमा कुनै पनि बाधाव्यवधान हुन नहुने बताएका छन् । त्यस्तै चीनले इरानलाई दिँदै आएको गुप्तचरी प्रविधि सहयोग पनि अबदेखि नदिने भनी सी सहमत भएको ट्रम्पले घोषणा गरेका छन् ।
यसले विगतका वर्षहरूको ट्रम्पको अमेरिका फर्स्टको नीतिमा आएको बदलावलाई संकेत गरेको छ । बेइजिङको सक्रिय सहभागिता बिना पश्चिम एसियामा क्षेत्रीय स्थिरता असम्भव रहेको कुरा सन् २०२६ मा आएर ट्रम्प प्रशासनले स्वीकार गरेको छ ।
ऊर्जा सुरक्षा ट्रम्पको भ्रमणको तत्कालीन प्राथमिकता भए पनि ताइवानको मुद्दा सबैभन्दा अस्थिर र विवादित विषयको रूपमा रह्यो । चीनका राष्ट्रपति सीले राजकीय भोजको क्रममा स्पष्ट चेतावनी दिँदै ताइवान मुद्दामा चालिने कुनै पनि गलत कदमले दुई राष्ट्रबीच प्रत्यक्ष भिडन्त वा द्वन्द्व निम्त्याउन सक्छ भने ।
यी कुराकानीहरूका क्रममा ट्रम्पको व्यक्तिगत व्यवहारमा उल्लेख्य परिवर्तन आएको विश्लेषकहरूले बताएका छन् । विगतका वर्षहरूमा जस्तो आक्रामक रूपमा प्रस्तुत हुनुको साटो ट्रम्प सीले दिएका चेतावनीहरूको सामना गर्दा असामान्य रूपमा शान्त देखिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका प्रश्नहरूमा पनि उनी धेरै संयमित रहे ।
यसले बदलिएको शक्ति सन्तुलनलाई उजागर गर्छ । पश्चिम एसियाको युद्धमा फसेको र आर्थिक रूपमा कमजोर बनेको वाशिङटन अहिले प्रशान्त क्षेत्रमा अर्को मोर्चा खोल्न चाहँदैन । यसले गर्दा यथास्थितिलाई कायम राख्न ट्रम्प बाध्य देखिएका छन्।
अमेरिकी प्रतिनिधिमण्डलको संरचनाले यो भ्रमण उच्च प्रविधि र व्यक्तिगत कूटनीतिको मिश्रण भएको संकेत गरेको छ । राष्ट्रपतिले आफ्नो प्रशासनका वरिष्ठ अधिकारीहरूका सागै इलोन मस्क र जेन्सेन ह्वाङ जस्ता प्रविधि क्षेत्रका दिग्गजहरूलाई समावेश गरेर राजनीतिक शक्ति र कर्पोरेट शक्तिबीचको खाडललाई पुर्ने प्रयास गरेका छन् ।

ट्रम्पले राष्ट्रपति सीलाई चीनको बजार खोल्नका लागि आग्रह गर्ने उद्देश्यले व्यापारिक नेताहरूलाई आफूसँगै लगेका हुन् । राष्ट्रपति सीले पनि चीनको ढोका विश्वका लागि अझै फराकिलो पार्ने भनेका छन् । यसले के संकेत गर्छ भने नवप्रवर्तन अझै पनि अमेरिकाको सबैभन्दा शक्तिशाली हतियार हो ।
यो प्रतिनिधिमण्डल शक्ति प्रदर्शन मात्र नभई रणनीतिक सेतु पनि हो । चीनले रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्समा विश्वको नेतृत्व गर्न खोजिरहेको बेलामा विरोधाभासी स्थिति छ । चिनियाँ कम्पनीहरूले भविष्यका मशिनहरूको शरीर निर्माण गर्न त सक्छन् तर ती रोबोटहरूलाई चलाउन चाहिने मस्तिष्क अर्थात् एनभिडिया जस्ता कम्पनीहरूले डिजाइन गरेका उच्च स्तरका सेमिकन्डक्टर चिपहरूका लागि उनीहरू अझै पनि अमेरिकामै निर्भर छन् ।
भ्रमणमा सहभागी व्यापारिक नेताहरूले परम्परागत कर्मचारीतन्त्रीय अड्चनहरूलाई पन्छाउँदै चिनियाँ सत्ताको माथिल्लो तहसम्म पहुँच पाए । इलोन मस्क र जेन्सेन ह्वाङको उपस्थिति र चिनियाँ नेताहरूसँगको संवादले प्राविधिक प्रतिस्पर्धाका सीमा निर्धारण गर्न मद्दत पुर्यायो ।
प्रविधि क्षेत्रका दिग्गजहरूले पनि कूटनीतिकर्मीको रूपमा काम गर्दै राष्ट्रिय सुरक्षाको रक्षा गर्ने र वैश्विक प्रविधि आपूर्ति शृंखलाको निरन्तरता सुनिश्चित गर्ने मध्यम मार्गको खोजी गरेका छन् । राजनीतिक भाषणहरूमा चीन र अमेरिकाबीच सम्बन्ध विच्छेदका कुरा गरिए पनि एकअर्काप्रतिको अपरिहार्य निर्भरता व्यावसायिक वास्तविकता हो भन्ने कुरा यस भ्रमणले प्रस्ट पारेको छ ।

चिनियाँ प्रविधि रूपान्तरणमा अमेरिकाका टेक दिग्गजहरूलाई साझेदारको रूपमा प्रस्तुत गरेर ट्रम्प प्रशासनले २१औं शताब्दीको अर्थतन्त्रलाई परिभाषित गर्ने क्षेत्रहरूमा दीर्घकालीन बजार पहुँच र प्रभाव सुरक्षित गर्ने प्रयास गरिरहेको छ ।
आर्थिक रूपमा यो भ्रमण आपसी कमजोरीको पृष्ठभूमिमा भएको थियो । चीन अहिले बढ्दो बेरोजगारी, असमान वृद्धि, घरजग्गा क्षेत्रको समस्या र स्थानीय सरकारको उच्च ऋण जस्ता गम्भीर आन्तरिक चुनौतीहरूसँग जुधिरहेको छ । यी घरेलु दबाबहरूले गर्दा राष्ट्रपति सीका लागि अमेरिकासँगको स्थिर सम्बन्ध अनिवार्य आवश्यकता बनेको छ ।
ट्रम्पका लागि भने यस भ्रमणले व्यापार सम्झौता गर्ने अवसर प्रदान गर्यो जसअन्तर्गत चीनले अमेरिकी कम्पनी बोइङका २०० वटा विमान किन्ने भएको छ । त्यसका साथै अमेरिकी कृषि उत्पादनहरूको आयात बढाउने प्रतिबद्धता पनि चीनले जनाएको छ।
इरान युद्धको लागतबाट थाकेका अमेरिकी जनतालाई सकारात्मक सन्देश दिएर यसले ट्रम्पको लोकप्रियता बढाउन मद्दत गर्न सक्छ । चीनको यो सद्भाव अमेरिकी अर्थतन्त्रका लागि स्थिरताको कारक बनेको छ यद्यपि दुई देशबीचको व्यापक प्रतिस्पर्धा कायमै छ ।
भ्रमणका क्रममा ट्रम्पलाई सीले १५औं शताब्दीको टेम्पल अफ हेभनको भ्रमण गराए र भव्य गार्ड अफ अनर गराए । सम्मान खोज्ने ट्रम्पको लालसालाई बुझेको चीनले ट्रम्पलाई स्वागत गर्न उपराष्ट्रपति हान चङलाई विमानस्थल पठाएको थियो । २०० बालबालिकाले गीत गाएर ट्रम्पको स्वागत गरेका थिए ।
लेनदेनमा आधारित ट्रम्पको स्वभावलाई सम्मान दिन र व्यवस्थापन गर्न गरिएको यो रणनीतिक कदम थियो । ट्रम्पले पनि आफ्ना आयोजकको प्रशंसा गर्दै सीलाई महान् नेता र दुई देशको सम्बन्धलाई विश्वकै सबैभन्दा महत्त्वपूर्ण भनेर वर्णन गरे ।
यो आपसी प्रशंसालाई कतिपयले सतही भनेर आलोचना गरेको भए पनि यसले दुवै नेताहरूलाई आ–आफ्नो देशमा कमजोर नदेखिई द्वन्द्वबाट पछि हट्न आवश्यक कूटनीतिक वातावरण तयार पारेको छ । यो संस्थागत शत्रुताका विरुद्ध व्यक्तिगत सम्बन्धलाई कवचको रूपमा प्रयोग गर्ने एक प्रकारको संकट व्यवस्थापन थियो ।

चीनलाई शक्तिशाली बनाउन ट्रम्पले नजानिदो पारामा भूमिका खेलेको भनी चिनियाँ जनताले प्रशंसा गर्ने गरेका छन् । चिनियाँ जनताको दृष्टिकोणमा ट्रम्प अव्यवस्थित तर उपयोगी व्यक्ति हुन् ।
चीनमा ट्रम्पको भाइरल उपनाम च्वान ज्वानगुओ हो जसको अर्थ हुन्छ– ट्रम्प हाम्रा देशभक्त छोरा र राष्ट्रनिर्माता हुन् जसको कार्यले अनजानमै चीनलाई अझ बलियो र आत्मनिर्भर बन्न मद्दत पुर्याएको छ । हुन पनि ट्रम्पले चीनमाथि आर्थिक प्रतिबन्ध र कठोर भन्सार शुल्क लगाएर आत्मनिर्भर बन्न प्रेरित गरेका हुन् ।
चीनको स्याओ इन्स्टाग्राम जस्तै सामाजिक सञ्जाल हो र त्यहाँका प्रयोगकर्ताहरूले अमेरिकी राजनीतिकर्मीहरू भन्दा पनि इलोन मस्क, जेन्सेन ह्वाङ र टिम कुक जस्ता प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूमा बढी चासो राखेका छन् । उनीहरूका अनुसार, यिनीहरू त्यस्ता व्यक्ति हुन् जसलाई चीनको बजार कति महत्त्वपूर्ण छ भन्ने कुरा थाहा छ (उदाहरणका लागि, आईफोनका ८० प्रतिशत उच्चस्तरीय पाटपुर्जाहरू चीनमै बन्छन् ।)
ट्रम्पको चीन भ्रमणलाई रणनीतिक यथार्थवाद भन्न सकिन्छ । दुई महाशक्तिहरू व्यापार युद्धको अराजकताबाट अगाडि बढेर अब व्यवस्थित प्रतिस्पर्धाका लागि तयार भएका छन् । राष्ट्रपति सीलाई आगामी सेप्टेम्बरमा ह्वाइट हाउस भ्रमणको लागि ट्रम्पले दिएको निमन्त्रणाले दुवै पक्ष उच्चस्तरीय संवादको निरन्तरताका लागि प्रतिबद्ध रहेको देखाउँछ ।

यस भ्रमणले परम्परागत अर्थमा ठूलो नीतिगत परिवर्तन नल्याएको भए पनि बिग्रन सक्ने सम्बन्धलाई सुधार्नु नै यसको मुख्य उपलब्धि हो । प्राविधिक क्षेत्रका व्यक्तिहरूको प्रतिनिधिमण्डलको विज्ञता र विश्वव्यापी ऊर्जा संकटको साझा खतरालाई उपयोग गरेर ट्रम्प र सीले हालको संकटलाई समाधान गर्ने सहमति जनाएका छन् ।
हर्मुज जलयोजक विवादित रहेसम्म अमेरिका र चीन एक–अर्कालाई अँगालो हाल्न बाध्य हुनेछन् । ट्रम्प र सीबीचको शिखर सम्मेलनले दुई देशको प्रतिस्पर्धालाई व्यवस्थित गर्दै विश्वव्यापी अर्थतन्त्र संकटमा आउँदा कट्टर प्रतिद्वन्द्वीहरूले पनि साझा धरातल भेटाउन सक्छन् भन्ने प्रमाणित गरेको छ ।
यस भ्रमणले अत्यन्तै जोखिमपूर्ण क्षणमा विश्व व्यवस्थालाई स्थिर बनाउने महत्त्वपूर्ण काम गरेको छ । अमेरिकाका लागि यसले पश्चिम एसियामा कूटनीतिक साझेदार र आफ्नो औद्योगिक तथा कृषि क्षेत्रका लागि आर्थिक लाभ सुनिश्चित गरेको छ । चीनका लागि यसले बढ्दो भन्सार शुल्कबाट राहत र विश्वव्यापी शक्तिको रूपमा आफ्नो स्थितिको पुनः पुष्टि गराएको छ ।
प्रतिनिधिमण्डलमा रहेका व्यापारिक नेताहरूले महत्त्वपूर्ण कडीको रूपमा काम गर्दै भूराजनीतिक टक्करको युगमा पनि बजारको जादु नै पूर्ण युद्ध रोक्नको लागि सबैभन्दा प्रभावकारी उपकरण भएको कुरा प्रमाणित गरेको छ ।





प्रतिक्रिया