
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू ‘जीवनी लेख्ने नभई इतिहास लेख्ने यात्रामा’ रहेको बताएका छन् । उनले सांसदहरूलाई भाइरल बन्ने प्रतिस्पर्धामा नलागी जनताका मुद्दा र विधेयकमा केन्द्रित हुन पनि आग्रह गरे ।
पार्टीका सांसदहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिलाई ठूलो सपना र जिम्मेवारीका रूपमा अघि बढाएको बताए ।
‘मैले राजनीतिलाई धेरै ठूलो सपनाको रूपमा अघि सारेको थिएँ । नेताको रूपमा एउटा मान्छे सरकारको कुन तहमा पुग्छ भन्ने ठूलो कुरा होइन,’ उनले भने, ‘सरकारमा मन्त्रीका रूपमा रहला, प्रधानमन्त्रीका रूपमा रहला त्यो ठूलो कुरा होइन । मुलुकलाई कस्तो नेतृत्व दिँदैछौं भन्ने मुख्य कुरा हो ।’
पार्टीको सभापति, सरकारको प्रधानमन्त्री वा मन्त्री बन्न मात्रै आफू राजनीतिमा आएको भन्ने बुझाइ भ्रम भएको उनको भनाइ थियो ।
‘मलाई जीवनीमा ठूलो इच्छा छैन । जीवनी लेख्नु ठूलो कुरा होइन । हामी इतिहास लेख्ने यात्रामा छौं,’ उनले भने ।
लामिछानेले रास्वपाका सांसदहरू नयाँ भएकाले मात्रै नभई राजनीतिमा सधैं सिक्ने र सिकाउने प्रक्रिया आवश्यक हुने बताए । पछिल्लो समय विश्व राजनीतिले नयाँ मोड लिइरहेको अवस्थामा आफ्नो पार्टीको उदय भएको उल्लेख गर्दै उनले रास्वपाले एक किसिमको विद्रोह गरेको दाबी गरे ।
‘विद्रोह भनेको समाजको निरन्तर प्रक्रिया हो । हामीले एक किसिमको विद्रोह गरेका हौं,’ उनले भने, ‘सही ढंगमा राजनीतिलाई लिएर आऔं, संसदीय अभ्यासलाई मर्यादित बनाऔं भन्ने हो ।’
त्यसक्रममा उनले सांसदहरूलाई लोकप्रियता र भाइरल संस्कृतिको पछाडि नलाग्न पनि सुझाव दिए । समितिहरूमा क्यामरा देखेपछि अनावश्यक उत्तेजना आउने प्रवृत्तिबाट बाहिर निस्किनुपर्ने उनको भनाइ थियो ।
‘अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को–चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ,’ उनले भने, ‘यो तपाईंको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईंको हो । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ ।’
आफ्नो बारेमा राम्रो चर्चा होस् भन्ने चाहना स्वाभाविक भए पनि लोकप्रियताको आडमा जनताका मुद्दालाई ओझेलमा पार्ने दौडमा नलाग्न उनले आग्रह गरे ।
‘मन त पर्छ आफ्नो बारेमा राम्रो चर्चा भएको । त्यस्तो लोभको केही अंश ममा पनि नभएको होइन,’ उनले भने, ‘तर हामी लोकप्रियताको आडमा जनताको मुद्दा छायामा पार्ने दौडमा नलागौँ । यसै पटक परिणाम दिनुपर्ने छ ।’






प्रतिक्रिया