वीरगञ्जमा भोजपुरी गीत बजाउन प्रतिबन्ध, ८ बजेपछि मदिरा पसल बन्द गर्नुपर्ने

602
Shares

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. ३० मा भोजपुरी गीत बजाउन पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । वडाध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा बसेको सर्वपक्षीय भेलाले वडाभित्र आयोजना हुने कुनै पनि सामाजिक वा निजी कार्यक्रमहरूमा भोजपुरी गीत बजाउन नपाइने निर्णय गरेको हो ।

विशेष गरी विवाह, भोजभतेर तथा विभिन्न उत्सवहरूमा भोजपुरी गीतका कारण समाजमा विकृति फैलिएको निष्कर्ष निकाल्दै यस्तो निर्णय गरिएको वडाध्यक्ष यादवले जानकारी दिए । भेलाको निर्णय विपरीत कसैले भोजपुरी गीत बजाएको पाइएमा कडा कारबाहीका साथै नगद जरिवाना समेत गरिने वडा कार्यालयले जनाएको छ ।

गीत संगीतमा मात्र नभई वडाको शान्ति सुरक्षा र अनुशासन कायम राख्न अन्य कडा नियमहरू पनि लागू गरिएको छ । जसअनुसार वडामा सञ्चालित मदिरा पसलहरू अबदेखि बेलुकी ८ बजेभित्रै अनिवार्य रूपमा बन्द गरिसक्नुपर्नेछ ।

त्यसैगरी, राति १० बजेपछि आफ्नो घर बाहेक गाउँमा अनावश्यक रूपमा हिँडडुल गर्न र मदिरा सेवन गरी सार्वजनिक चोकहरूमा होहल्ला गर्न पनि निषेध गरिएको छ ।

समाजमा बढ्दै गएको उच्छृङ्खलता नियन्त्रण गर्न आयोजित सो भेलामा वडाका जनप्रतिनिधिहरू, नेपाल प्रहरीका प्रतिनिधि, स्थानीय अगुवा, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा युवाहरूको ठूलो सहभागिता रहेको थियो । यी निर्णयहरूको पालना भए/नभएको बारे वडा कार्यालय र प्रहरीले नियमित अनुगमन गर्ने बताइएको छ ।