शेखर गोल्छा छुटे, श्रीमतीको जिम्मा लगाइयो

1.9k
Shares

काठमाडौं । व्यवसायी शेखर गोल्छा छुटेका छन् । काठमाडौं जिल्ला अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न अस्वीकार गरेसँगै गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई रिहा गरिदिएको हो ।

गोल्छालाई आज साँझ ५ बजेमात्रै श्रीमती सीमा पन्त गोल्छाको जिम्मा लगाएर छोडिएको सीआईबीले जानकारी दिएको छ । अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने शर्तमा गोल्छा छुटेका हुन् । काठमाडौं जिल्ला अदालतले बिमा सम्बन्धी कसुरमा गोल्छालाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप्न अस्विकार गरेको थियो ।

गोल्छा सर्वोच्चको परमादेशअनुसार धितोपत्र सम्बन्धी कसुरमा ५ लाख धरौटी बुझाएर रिहा भएलगत्तै हिजो बिमासम्बन्धी कसुरमा पक्राउ परेका थिए । उनीविरूद्ध म्याद थप गरेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिल्ला अदालतसँग अनुमति मागेकामा न्यायाधीश मोना सिंहको इजलासले म्याद थप्न अस्विकार गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उनलाई हिरासतमा राख्ने प्रक्रियामा गम्भीर त्रुटी औंल्याउँदै परमादेश जारी गरेको थियो । परमादेशसँगै गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरिदिएको थियो ।

गोल्छालाई धरौटी वा जमानत तिर्न नसके मात्र थुनामा राख्नुपर्ने भन्दै सर्वोच्चले उनलाई हिरासतमा राख्ने गरी आदेश दिएको थियो । सोही आदेशका आधारमा ५ लाख धरौटी बुझाएर गोल्छा धितोपत्रको मुद्दामा थुनामुक्त भएका थिए ।

तर, बिमा ऐन सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएर प्रहरीलाई गोल्छालाई तुरून्तै पक्राउ गरेको थियो । बिमा सम्बन्धी मुद्दामा जिल्ला अदालत उपस्थित गराएर म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाउन जाँदा अदालतले म्याद थप्न अस्वीकार गरेको हो ।

गत बैशाख १० गते सीआईबीले गोल्छालाई धितोपत्र सम्बन्धी कसूरमा अनुसन्धान गर्न पक्राउ गरेको थियो ।