
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको स्पष्ट पारेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले तोकेको मूल्यअनुसार नै इन्धन बिक्री गर्नुपर्ने भएकाले मूल्य घटाउन नसकिने बताए ।
मंगलबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उनले बाध्य भएर मूल्य बढाउनुपर्ने अवस्था रहेको उल्लेख गरे । आम उपभोक्ताले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई दबाब दिइरहेका बेला सचिव राउतले अहिले पनि खाना पकाउने ग्यास र पेट्रोलमा सरकारले घाटा खाएर व्यापार गरिरहेको दाबी गरे ।
उनका अनुसार यदि पूर्ण रूपमा स्वचालित मूल्यमा जाने हो भने पेट्रोल लगायतका इन्धनको मूल्य अहिलेको भन्दा पनि धेरै महँगो हुनेछ । सरकारले उपभोक्ताहरू मारमा नपरुन् भनेर नै पूर्ण रूपमा स्वचालित मूल्यअनुसार बिक्री नगरेको उनले बताए ।
सचिव राउतले भने, ‘महँगोमा किन्ने र सस्तोमा बिक्री गर्दै जाँदा पहिलेको सञ्चित मुनाफा पनि सकिएको छ, त्यसैले सरकारले बाध्य भएर मूल्यवृद्धिको कदम चाल्नुपरेको हो ।’ उनले पूर्ण रूपमा स्वचालित मूल्यमा जाँदा मूल्य धेरै माथि जाने भएकाले सरकारले अलि तलै राखेर काम गरिरहेको जानकारी दिए ।
यस्तै, सरकारले नेपाल आयल निगमका कर्मचारीहरूले बोनस खाइरहेको कुराको पनि खण्डन गरेको छ । सचिव राउतले निगम मुनाफामा नभएकाले कर्मचारीहरूले बोनस खाने अवस्था नरहेको र लगातार तीन वर्ष नाफा आएपछि मात्र बोनस खान पाइने नियम रहेको स्पष्ट पारे ।






प्रतिक्रिया