
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निवास र उनी आवद्ध रहेको निर्माण सेवाको कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको छापाप्रति गम्भीर आपत्ति जनाएका छन् ।
आइतबार (२०८३ वैशाख २१ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री बानियाँले हेटौंडा र काठमाडौंस्थित आफ्नो घर तथा बानियाँ निर्माण सेवाको कार्यालयमा विभागले छापा मारी कागजात नियन्त्रणमा लिएको घटनाप्रति ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तिमा मुख्यमन्त्री बानियाँले आफू जहिले पनि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाजको पक्षमा रहेको दाबी गरेका छन्। उनले राजनीतिक र व्यवसायिक जीवनका बारेमा हुने छानबिनलाई सकारात्मक रूपमा लिए पनि छापा मार्ने शैली भने गलत भएको उल्लेख गरेका छन् ।
‘राज्यको जुनसुकै निकायले अनुरोध गर्दा आफू भौतिक रूपमै उपस्थित हुने अवस्था हुँदाहुँदै अकस्मात् गरिएको छापाबारीप्रति मेरो आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ ।’
उनले तीन तहको सरकारबीच समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिँदै संघीय सरकारको सकारात्मक कार्यमा आफ्नो सधैं साथ रहने समेत स्पष्ट पारेका छन् । राज्यका निकायले गर्ने अनुसन्धानमा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाउँदै उनले आफ्ना शुभेच्छुकहरूलाई भ्रमित र चिन्तित नहुन आग्रह गरेका छन् ।
मुख्यमन्त्री बानियाँले आफू ४० वर्षभन्दा लामो राजनीतिक यात्रा तय गरेर जनताको सेवकका रूपमा मुख्यमन्त्रीको पदमा पुगेको स्मरण गराउँदै संवैधानिक र कानूनी दायराभित्र रहेर गरिने जुनसुकै अनुसन्धानलाई सहयोग गर्ने बताएका छन् ।






प्रतिक्रिया