
एजेन्सी । तेलले धनी खाडी क्षेत्रमा सुरक्षा सुनिश्चित गर्नका लागि इरानलाई अर्को अमेरिकी–इजरायली आक्रमण विरुद्ध ग्यारेन्टी आवश्यक रहेको संयुक्त राष्ट्रसंघका लागि तेहरानका दूतले सोमबार बताएका छन् ।
राजदूत अमिर सइद इरावनीले बहराइनद्वारा आह्वान गरिएको सुरक्षा परिषद्को बैठकलाई सम्बोधन गरेका थिए । त्यसमा दर्जनौं देशहरूले महत्त्वपूर्ण हर्मुज जलयोजकमाथि नियन्त्रण कायम गरेकोमा इरानको निन्दा गरेका थिए ।
इरावनीले बैठकमा भने, ‘पर्सियाली खाडी र व्यापक क्षेत्रमा दिगो स्थिरता र सुरक्षा इरान विरुद्धको आक्रमणको स्थायी अन्त्य, पुनरावृत्ति नहुने विश्वसनीय ग्यारेन्टी र इरानको वैधानिक सार्वभौम अधिकार र हितको पूर्ण सम्मानबाट मात्र प्राप्त गर्न सकिन्छ ।’
सहभागी देशहरूले इरानको मात्र आलोचना गरेको तर अमेरिकाले घोषणा गरेको समुद्री नाकाबन्दीको भने विरोध नगरेको पत्रकारहरूसँग कुरा गर्दै इरानीले गुनासो गरे ।
‘अमेरिकाले समुद्री डाकु र आतंककारी जस्तै व्यवहार गरिरहेको छ । उसले दबाब र धम्कीमार्फत व्यापारिक जहाजहरूलाई लक्षित गर्ने, चालक दलका सदस्यहरूलाई त्रसित पार्ने, अवैध रूपमा जहाजहरू कब्जा गर्ने र चालक दलका सदस्यहरूलाई बन्धक बनाउने काम गरिरहेको छ,’ इरावनीले भने ।
उनले थपे, ‘तर अन्तर्राष्ट्रिय पारवहनप्रति चिन्ता व्यक्त गर्नेहरूमध्ये कसैले पनि आजको बैठकमा यस आतंककारी कार्यको उल्लेख गर्ने वा निन्दा गर्ने हिम्मत गरेनन् ।’









प्रतिक्रिया