आज पनि धमाधम खाली गरिँदै सुकुम्बासी बस्ती, २ सय १४ परिवार सरकारको सम्पर्कमा

77
Shares

काठमाडौं । सरकारले आज पनि काठमाडौँ उपत्यकाका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ। बस्तीहरू खाली गर्ने क्रममा हालसम्म २१४ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ ।

उनीहरूलाई तत्कालका लागि विभिन्न होटलहरूमा बसोबास र खानपानको व्यवस्था मिलाइएको समेत सचिवालयको भनाइ छ ।

शनिबार बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ स्थित गोठाटार बुद्धचोक र वडा नं. ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बस्तीमा रहेका भौतिक संरचना भत्काउनुपूर्व त्यहाँ रहेका मानिसहरूका सरसामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका थिए। यस क्षेत्रका संरचनाहरू भत्काइसकेपछि हिजो बाँकी रहेका काठमाडौँ वडा नं. ९ स्थित गैरीगाउँ र वडा नं. ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक एवं सरकारी जग्गा खाली गरिनेछ।

हिजो काठमाडौँ वडा नं. ११ स्थित थापाथलीमा रहेको जग्गा खाली गरिएको थियो। उक्त स्थानको जग्गा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा खाली गरिएको थियो।