कार्ल्सबर्गले नेपालमा पानी जोगाउन सहयोग गर्ने, १० अर्ब लगानीको प्रतिबद्धता


काठमाडौं । विश्वप्रख्यात ब्रुअरी कम्पनी कार्ल्सबर्ग ग्रुपले नेपालमा जल स्रोत संरक्षणलाई प्राथमिकता दिँदै १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । डब्लुडब्लुएफ डेनमार्कसँगको रणनीतिक साझेदारीमा कम्पनीले पानीको दिगो व्यवस्थापन र वातावरणीय संरक्षणका क्षेत्रमा आफ्नो सक्रियता बढाएको हो ।

ब्रुअरी उद्योगका लागि पानी अनिवार्य र आधारभूत स्रोत भएकाले यसको दक्ष उपयोग र संरक्षणलाई कम्पनीले आफ्नो मुख्य एजेन्डा बनाएको छ। कार्ल्सबर्गका अनुसार यो पहलअन्तर्गत पानीको कुशलतापूर्वक प्रयोग गर्ने मात्र नभई भू–जल पुनर्भरण र बिग्रिएका सिमसार क्षेत्रहरूको पुनर्स्थापनामा विशेष ध्यान दिइनेछ ।

कम्पनीले सन् २०२६ देखि २०२८ सम्म सञ्चालन हुने गरी एक विशेष तीनवर्षीय योजना अघि सारेको छ । यस योजनाअन्तर्गत नेपालका विभिन्न क्षेत्रमा रहेका सिमसार क्षेत्रहरूको पुनर्स्थापना गरी पानीको उपलब्धतामा सुधार ल्याउने लक्ष्य राखिएको छ । यस कार्यले स्थानीय नदी–नालाको जलस्तर सन्तुलन कायम राख्न र पारिस्थितिक प्रणालीलाई मजबुत बनाउन दीर्घकालीन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यो कार्यक्रम ‘डब्लूडब्लूएफ रिस्क फिल्टर’को प्राविधिक मार्गदर्शनमा सञ्चालन हुनेछ। यस औजारको प्रयोगले कम्पनीको सञ्चालन र आपूर्ति शृंखलामा पानीसँग सम्बन्धित जोखिमहरू पहिचान गर्न र वैज्ञानिक तथ्यका आधारमा त्यसको व्यवस्थापन गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

कार्ल्सबर्गले नेपाललाई आफ्नो रणनीतिक प्राथमिकता प्राप्त बजारका रूपमा लिँदै १० अर्ब रुपैयाँ थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यो लगानी दिगो विकास, स्थानीय उत्पादन क्षमताको सुदृढीकरण र नेपालमा दीर्घकालीन व्यावसायिक साझेदारी विस्तारका लागि खर्च गरिनेछ ।

विश्वव्यापी रूपमा जलवायु परिवर्तन र जल संकटको चुनौती बढ्दै गएको सन्दर्भमा, कार्ल्सबर्गको यो कदमले व्यवसाय विस्तार र वातावरणीय उत्तरदायित्वलाई सँगसँगै लैजान सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ । यस पहलले नेपालको वातावरणीय दिगोपनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।