
काठमाडौं । सोमबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्यो । उक्त बैठकमा गृहमन्त्रीसमेत रहेका पार्टीका नेता सुधन गुरुङका विषयमा पनि छलफल हुने र केही निर्णय आउने अपेक्षा रास्वपाकै नेता/कार्यकर्ताहरूले गरेका थिए ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँगको साझेदारीमा विभिन्न कम्पनीमा गरेको सेयर लगानीलाई लिएर सार्वजनिक भएका विवाद आइरहँदा बसेको सरकारको नेतृत्व गरिरहेको दल रास्वपाको बैठकमा त्यस विषयमा गरमागरम बहस हुने अपेक्षा गरिएको भए पनि बैठकमा त्यस विषयमा कसैले एकै शब्द नउठाएको पाइएको छ ।
दीपक भट्ट र सुलभ अग्रवालको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफमा गृहमन्त्री गुरुङ संस्थापक सेयरधनी रहेको भन्दै चौतर्फी आलोचना भइरहँदा रास्वपाका केन्द्रीय नेताहरूले यसबारे बैठकमा प्रश्न गर्न आवश्यक नठानेका हुन् ।
‘आजको बैठकमा विवादास्पद व्यवसायीहरूसँग गृहमन्त्रीज्यूको साझेदारीका विषयमा प्रश्न उठेन,’ रास्वपाका एक केन्द्रीय नेताले भने,’कुनै पनि नेताले त्यस विषयमा केही भन्ने वा प्रश्न गर्ने गर्नु भएन ।’
यसअघि नै गृहमन्त्री गुरुले पार्टी सभापति रवि लामिछानेलाई विवादबारे बिफ्रिङ गरिसकेको र गृहमन्त्री स्वयंले स्पष्टीकरण सार्वजनिक गरिसकेको कारण पार्टी बैठकमा यस विषयमा प्रश्न नउठेको हुन सक्ने उनको भनाइ छ ।
बैठकमा यसअघि नै सार्वजनिक भएका प्रस्तावमा छलफल भएको उनले जानकारी दिए । बैठकमा हरेक केन्द्रीय सदस्यका लागि बोल्नका लागि २ मिनेको समय दिइएको थियो । अधिकांश नेताहरुले विधान संशोधन, महाधिवेशन कार्यविधि मस्यौदा लगायतका विषयमा धारणा राखेका थिए ।
बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवाली मनोनित गरेको छ भने पार्टीको केन्द्रीय सल्लाहकार परिषद्मा जीवनप्रभा लामा, मोतीप्रसाद पङ्गाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त भएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकले संघीय नेतृत्व मञ्चमा तुलसीप्रसाद चौधरी, रामसिंह थारु, जीवन धामी, प्रेमा चौधरी, नवराज राणा र एकराज चौधरीलाई मनोनित गरेको छ ।
बैठकमा सभापति रवि लामिछाने प्रस्ताव गरेको उक्त प्रस्तावहरु केन्द्रीय समितिबाट अनुमोदन गरिएको हो । रास्वपाले विद्यमान लेबीको व्यवस्था परिमार्जन गर्दै सांसदको १५ हजार रुपैयाँ, मन्त्रीको १८ हजार रुपैयाँ र स्वकीयको दुई हजार रुपैयाँ कायम गरेको छ ।








प्रतिक्रिया