
काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल तथा गृहमन्त्री सुधन गुरूङबीच व्यावसायिक साझेदारी रहेको देखिएपछि उनीमाथि राजीनामाको दबाब बढिरहेको छ।
भट्ट र अग्रवालको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनीमा गृहमन्त्री गुरूङको ठूलो हिस्सा सेयर रहेको पाइएपछि उनको आलोचना भइरहेको हो ।
आलोचना हुन थालेपछि सुधन प्रधानमन्त्री बालेनलाई भेट्न पुगेका थिए ।
आलोचना भएपछि प्रधानमन्त्री वालेन्द्र शाह(बालेन) ले उनलाई राजीनामा दिन आग्रह गरे । ‘प्रश्न उठिसकेकाले राजीनामा दिनुस्, हटाउँदा राम्रो म्यासेज जाँदैन,’ बालेनले सुधनलाई भनेको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।
तर, प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भने सुधनलाई तत्काल राजीनामा नदिन भने ।
‘प्रधानमन्त्रीज्यूले राजीनामा दिनु भने पनि बेनले तत्लकाल दिनु पर्दैन भनेपछि रोकिएको हो,’ स्रोतले भन्यो, ‘यसविषयमा पार्टीले पनि केही निर्णय गर्ला । गृहमन्त्रीले चर्चा भइरहेको विषयमा स्पष्टीकरण पनि दिइसक्नु भएको छ।’
पार्टी सभापति रवि लामिछानेले पनि गृहमन्त्री गुरुङलाई तत्काल राजीनामा नदिन भनेको स्रोतको दाबी छ । आइतबार रातिनै सभापति लामिछानेलाई भेट्न बूढानीलकण्ठ पुगेका गुरुङलाई लामिछानेले पार्टीभित्रबाट आवश्यक निर्णय गर्ने बताएका थिए ।
गुरुङले दिए स्पष्टीकरण
व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टसँगको साझेदारीमा विभिन्न कम्पनीमा गरेको सेयर लगानीलाई लिएर सार्वजनिक भएका विवाद र प्रश्नहरूबारे गृहमन्त्री गुरूङले स्पष्टीकरण दिएका छन् । आफूमाथि लागेका आरोपहरूलाई तथ्यहीन भन्दै उहाँले ती विषयलाई सरल भाषामा स्पष्ट पार्ने प्रयास गरेका हुन् । ‘२५ लाखको सेयर लुकाइएको’ भन्ने आरोपको खण्डन गर्दै उनले मन्त्रिपरिषद्को वेबसाइटमा सार्वजनिक गरिएको आफ्नो सम्पत्ति विवरणमा २ करोडभन्दा बढीको धितोपत्र लगानी स्पष्ट उल्लेख गरिएको बताएका छन् । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही २ करोडको समूहभित्रै पर्ने उनको दाबी छ । उनले भनेका छन्, ‘लुकाउने मान्छेले खुला रूपमा २ करोडभन्दा बढीको सम्पत्ति विवरण सार्वजनिक गर्दैन । यो लुकाउने विषय नभएर वर्गीकरणको मात्र कुरा हो ।’
मन्त्री हुनुअघि नै सेयर खरिद गरिएको स्पष्ट पार्दै उनले सबै कारोबार बैंकिङ च्यानलमार्फत भएको उल्लेख गरेका छन् । लगानीको स्रोतबारे प्रश्न उठेपछि उनले वि.सं. २०८०/०५/२९ को लिखित तमसुकमार्फत ऋण (कर्जा) लिएर सो रकम जुटाइएको र त्यसको पूर्ण रेकर्ड बैंकमा सुरक्षित रहेको जानकारी दिएका छन् ।
विवादास्पद व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टसँगको साझेदारी भनिएको विषयमा टिप्पणी गर्दै उनले कुनै पनि कम्पनीको सेयरधनी हुनु भनेको त्यहाँका सबै हजारौं सेयरहोल्डरहरूसँग व्यक्तिगत साझेदारी नगरेको तर्क गरेका छन् । ‘यदि सेयरहोल्डर हुनु नै दोषी हुनु हो भने सोही कम्पनीमा लगानी गर्ने बैंक र मिडिया हाउसहरूलाई पनि सोही नजरले हेर्नुपर्ने हुन्छ,’ उनले भनेका छन् ।
साथै, स्वार्थको द्वन्द्वबारे उठेका प्रश्नमा उनले यसको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय मातहतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको बताए । प्रक्रिया अवरुद्ध नभएको र छानबिन चलिरहेकाले आफूले कुनै हस्तक्षेप नगरेको उनको जिकिर छ।
प्रमुख प्रतिपक्षी दलको प्रश्न
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो विवाद र सम्पत्तिको स्रोतका विषयमा उठेका प्रश्नहरूमाथि तत्काल उच्चस्तरीय र निष्पक्ष छानबिन गर्न माग गरेको छ।
‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित पदमा बहाल रहँदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने आशंका हुनु स्वभाविक हो,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावमुक्त बनाउनका लागि उपयुक्त वातावरण सुनिश्चित गरिनुपर्ने बताएको छ । ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस् । यसमा हुने कुनै पनि ढिलासुस्ती, प्रभाव वा ढाकछोपले सुशासन र जनविश्वासमाथि गम्भीर आघात पुर्याउने,’ कांग्रेसले भनेको छ ।
त्यस्तै जेनजी मुभमेन्ट नेपालले पनि गृहमन्त्री सुधन गुरुङलाई पदबाट हटाएर पक्राउ गर्न माग गरेको छ । साथै, उनीमाथि लागेका आरोपहरूको निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्नेमा पनि जोड दिएको छ । ‘पदमा बहाल रहँदै अनुसन्धान गर्न कठिन हुने र यसले न्यायिक प्रक्रियामै असर पार्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।
जेनजी आन्दोलनपछि गुरुङ एकाएक सत्ता र शक्तिमा आएका पात्र हुन् । जेनजी आन्दोलनमा पानी बाँडेर चर्चामा आएका ‘हामी नेपाली’ नामक संस्थाका अध्यक्ष गुरुङ फागनु २१ मा सम्पन्न प्रतिनिधि सभामा निर्वाचित भएसँगै अप्रत्याशित रुपमा गृहमन्त्री बनेका हुन् । गल्ती गर्ने कसैलाई पनि छाड्दिन भन्ने गुरुङमाथि जेनजी आन्दोलन हाइज्याक गरेको समेत आरोप नलागेको होइन । तर, जेनजीको माग र भावनाअनुसार अघि बढ्ने भन्दै बालेन्द्र शाहसँगै रास्वपा प्रवेश गरेका उनी पार्टी सभापति रवि लामिछानेको इच्छा विपरित गृहमन्त्री बनेका हुन् । कतिपयले बालेनसँगको निकटताका कारण सुधनले राजनीतिक अनुभव नहुँदा नहुँदै पनि गृहको जिम्मेवारी पाएको टिप्पणी हुने गरेको छ ।
घटना के हो ?
गृहमन्त्री नियुक्त भएपछि सार्वजनिक गरेको सम्पत्ति विवरणमा स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफमा भएको सेयरको विवरण देखाएका थिएनन् ।
धितोपत्र बजारमा कारोबार हुने कम्पनीहरूमा २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरण उनले सार्वजनिक गरेका छन् । तर, उनले कुन कम्पनीमा कति लगानी रहेको छ भन्ने विवरण खुलाएका थिएनन् ।
गृहमन्त्रीमा नियुक्त हुनुभन्दा अगाडि उनले दोस्रो बजारबाट लगातार सेयर किनेको पाइएको हो । यस्तै सुलभ अग्रवालको मास्टरप्लान र दीपक भट्टको प्रभावमा लाइसेन्स पाएका २ लघुबिमा कम्पनीको संस्थापक सेयरधनी समेत रहेको खुलेको छ ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर लगतमा गृहमन्त्री गुरूङको नाममा २५ लाख रूपैयाँ बराबरको २५ हजार कित्ता संस्थापक सेयर रहेको देखिएको छ । कम्पनीको संस्थापक सेयरधनीको ४९औं नम्बरमा गोरखा, चुमनुब्री–२ स्थायी ठेगाना भएका सुधन गुरूङको नाम उल्लेख छ । उक्त कम्पनीको सञ्चालक समितिमा व्यवसायी दीपक भट्टको कम्पनी ‘इन्फिनिटी होल्डिङ्स’ की प्रतिनिधि प्रजुनी बज्राचार्य समेत रहेकी छन् । कम्पनीको मुख्य लगानीकर्तामा शंकर ग्रुपको नियन्त्रण रहेको हिमालखबरले प्रकाशित एक रिपोर्टमा उल्लेख छ । कम्पनीको मुख्य लगानीकर्ता लोबुचे इन्भेष्टमेन्ट कम्पनी र घान्द्रुक इन्भेष्टमेन्ट कम्पनी दुवै शंकर समूहकै रहेको हिमालखबरको रिपोर्टमा उल्लेख छ । यी २ कम्पनीको मात्रै ३० प्रतिशत सेयर स्वामित्व छ । यस कम्पनीमा कविता लोहियाको ५ लाख कित्ता र ओपी होल्डिङ्सको ५ लाख कित्ता सेयर रहेको छ ।
यसबाहेक शंकर ग्रुपकै जगदम्बा इन्टरप्राइजेजको पनि कम्पनीमा २ लाख ५० हजार कित्ता सेयर रहेको छ ।
यस्तै गुरूङले सुलभको मास्टरप्लान र भट्टकै प्रभावमा लाइसेन्स पाएको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा पनि गुरूङको २५ हजार कित्ता संस्थापक सेयर रहेको सेयर लगतले देखाउँछ । हिमालखबरमा प्रकाशित रिपोर्टअनुसार यस कम्पनीमा पनि शंकर समूहको लाङटाङ इन्भेष्टमेन्ट कम्पनीको ११ लाख २५ हजार अर्थात् १५ प्रतिशत र पाल्दोर इन्भेष्टमेन्टको ११ लाख २५ हजार अर्थात् १५ प्रतिशत सेयर हिस्सा रहेको छ । कविता लोहियाको ६ लाख कित्ता र ओपी होल्डिङ्सको पनि ५ लाख कित्ता नै सेयर रहेको छ ।
गृहमन्त्री गुरूङले एक साताअघि सार्वजनिक गरेको सम्पत्ति विवरणमा यी दुई कम्पनीमा रहेको ५० हजार कित्ता सेयरबारेको विवरण उल्लेख छैन । उनले धितोपत्र बजारमा २ करोड ७४ लाख रूपैयाँको सेयर रहेको दाबी गरे पनि अनुसन्धानमा तानिएका सुलभ अग्रवाल र दीपक भट्टको प्रभावमा लाइसेन्स पाएका कम्पनीमा गृहमन्त्री गुरूङ साझेदारको रूपमा भए पनि सम्पत्ति विवरण सार्वजनिक गर्दा उक्त तथ्यलाई लुकाएको देखिन्छ ।
उनले ‘जेनजी’ आन्दोलनपछि र मन्त्री नियुक्त हुनुभन्दा ठीक अघिको अवधिमा दोस्रो बजारमा निकै सक्रिय भएर सेयर खरिद गरेको देखिन्छ । उनले २०८२ माघ १५ देखि चैत ८ गतेसम्मको अवधिमा दोस्रो बजारमा ५३ लाख ३५ हजार ५८० रूपैयाँको सेयर खरिद गरेको पाइएको छ । उनले सबै सेयर ‘एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड इन्भेस्टमेन्ट लिमिटेड’ को मात्र खरिद गरेका हुन् । यसअघि दोस्रो बजारमा कहिल्यै कारोबार नगरेका गुरूङले मन्त्री बन्नुभन्दा अगाडि सेयर खरिद गर्नु र सम्पत्ति विवरणमा नखुलाउनुलाई अर्थपूर्ण र शंकाको दृष्टिकोणले समेत हेरिएको छ ।
गृहमन्त्री गुरूङ र हाल प्रहरी हिरासतमा रहेका व्यवसायीद्वय सुलभ अग्रवाल र दीपक भट्टबीचको सम्बन्ध पुरानो हो । गुरूङ आफैं सञ्चालक रहेको ‘हामी नेपाली’ संस्थामा भट्ट र शंकर समूहका सञ्चालकहरू सुलभ र साहिल अग्रवालले आर्थिक सहयोग गर्ने गरेको देखिन्छ ।
हाल सुलभले दीपकको नाममा भृकुटी स्टक ब्रोकरमार्फत् उधारोमा सेयर किनेको र सम्पत्ति शुद्धीकरणको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । भट्टसँगै सुलभ अग्रवालमाथि पनि अनुसन्धान भइरहँदा गृहमन्त्री गुरूङको उनै भट्ट र अग्रवालसँग व्यावसायिक सम्बन्ध रहेको देखिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहँदा, देशको शान्ति सुरक्षा र अनुसन्धानको कमान्ड सम्हाल्ने गृहमन्त्री नै उनीसँगको व्यावसायिक साझेदारीमा संलग्न हुनुले ‘स्वार्थको द्वन्द्व’ पैदा गरेको छ ।








प्रतिक्रिया