एसवाई प्यानलले चितवनमा युपिभिसी उद्योग खोल्दै, ६ महिनाभित्रै उत्पादन बजारमा आउने गरी निर्माण सुरू

434
Shares

चितवन । एसवाई प्यानलले चितवनको रत्ननगरमा युपिभिसी उद्योग सञ्चालनको तयारी सुरु भएको छ । नगरपालिकाको वडा नं. १४ पिठुवामा ६० करोड रुपैयाँको लगानीमा अत्याधुनिक उद्योग चलाउने तयारी गरिएको हो ।

कोरियाली बहुराष्ट्रिय कम्पनी एसवाई प्यानलले नेपाली आवासीय क्षेत्रमा गुणस्तरीय र दिगो निर्माण सामग्री उपलब्ध गराउने उद्देश्यका साथ ‘एसवाई युपिभिसी उद्योग’ सञ्चालनमा ल्याउन लागेको हो ।

सोमबार एक विशेष कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा र कम्पनीका कार्यकारी प्रमुख होङ सङ बुले संयुक्त रूपमा उद्योगको शिलान्यास गरे । कम्पनीले हालै निष्कासन गरेको आइपीओबाट संकलित रकमको उपयोग गर्दै यो उद्योग सञ्चालनमा ल्याउन लागेको कार्यकारी प्रमुख होङ सङ बुले जानकारी दिए ।

उद्योगको निर्माण कार्य आगामी ६ महिनाभित्र सम्पन्न गरी उत्पादन बजारमा ल्याउने लक्ष्य राखिएको छ । यस कारखानाबाट झ्याल, ढोका र पार्टेसनसहित ६ प्रकारका युपिभिसी सामग्रीहरू उत्पादन हुनेछन् । अत्याधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार उत्पादन गरिने यी सामग्रीहरू टिकाउ, सुरक्षित, आरामदायी र वातावरणमैत्री हुने कम्पनीको दाबी छ ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख बुले भने, ‘हाम्रो उद्देश्य केवल उत्पादन मात्र होइन, नेपाली जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनु पनि हो । हामी नेपाली आवासीय निर्माण क्षेत्रमा नयाँ लगानी र गुणस्तरीय परिवर्तनका लागि प्रतिबद्ध छौं ।’

कार्यक्रमका प्रमुख अतिथि मेयर प्रलाद सापकोटाले नगरपालिका भित्र स्थापना हुने उद्योगहरूको सुरक्षाका लागि स्थानीय सरकार सदैव जिम्मेवार रहने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योगमा स्थानीय स्तरका गरिब तथा विपन्न समुदायका युवाहरूलाई रोजगारी दिन आग्रह समेत गरे ।

यस्तै, एसवाई प्यानलका निर्देशक अनिल सापकोटाले उद्योग सञ्चालनपछि स्थानीय स्तरमा रोजगारी सिर्जना, सीप विकास र औद्योगिक वृद्धिमार्फत आर्थिक सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

वि.सं. २०७४ सालदेखि पिठुवामा स्थापित एसवाई प्यानलले हाल घर निर्माणका सामग्रीहरू उत्पादन गरी नेपालका साथै भारत र भुटानमा समेत निर्यात गर्दै आएको छ । नयाँ युपिभिसी उद्योगले स्वदेशी उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा समेत सघाउ पुर्‍याउने लक्ष्य लिएको छ ।

शिलान्यास कार्यक्रममा कम्पनीका प्रबन्धक लि थे गुन, निर्देशक ली हुवा छुन, वडाध्यक्ष होमनाथ रानाभाट, निवर्तमान वडाध्यक्ष हरिकुमार श्रेष्ठ, डिएसपी सुवास भट्ट लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।