
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्सालले आफ्नो चल–अचल सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरिएको आर्थिक वर्ष २०८२/०८३ को विवरण अनुसार मन्त्री लम्सालसँग घरजग्गा, सुनचाँदी र ठूलो परिमाणमा नगद मौज्दात रहेको देखिएको छ ।
मन्त्री लम्सालको नाममा भन्दा पनि उनको परिवारका सदस्यको नाममा बढी अचल सम्पत्ति देखिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ मा जमुना लम्सालको नाममा १ कठ्ठा १० धुर जग्गामा बनेको घर रहेको छ । नवलपरासीको कावासोती नगरपालिकामा जमुना लम्सालकै नाममा १० कठ्ठा १५ धुर जग्गा रहेको छ ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा बोधराज लम्सालको नाममा ७ रोपनी खेत, १४ रोपनी बारी र ८ रोपनी बारी गरी कुल २९ रोपनी जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
मन्त्री लम्सालसँग सुन ३० तोला र चाँदी ५० तोला छ ।
मन्त्री लम्सालको आफ्नै नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा गरी ९० लाख रुपैयाँ नगद मौज्दात रहेको छ । यद्यपि, उक्त रकमको स्रोत र प्राप्त मिति भने फाराममा खुलाइएको छैन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थायी ठेगाना भएका मन्त्री लम्सालले आफ्नो पदीय जिम्मेवारी सम्हालेपछि कानुन बमोजिम यो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । विवरणमा सवारी साधन वा अन्य सेयर लगानीबारे भने उल्लेख गरिएको छैन ।








प्रतिक्रिया