
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा २०८३ वैशाख २१ र २२ गते हुने भएको छ । शुक्रबारको महासंघ पदाधिकारीको बैठकले उच्च अदालतको अन्तरिम आदेशका कारण रोकिएको साधारणसभा वैशाख २१ र २२ गते गर्ने निर्णय गरेको हो ।
चैत्र २९ र ३० गतेका लागि तय भएको ६०औं वार्षिक साधारणसभा एवं निर्वाचन उच्च अदालत पाटनको अन्तरिम आदेशले स्थगित भएको थियो ।
न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार महासंघलाई साधारणसभा नगर्न अन्तरिम आदेश जारी गरेकोपछि रोकिएको थियो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ लगायतले महासंघको साधारणसभा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
साधारणसभा हुँदा निवेदकहरूलाई समेत असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्नु, नगराउनु भनी उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि महासंघको साधारणसभा र निर्वाचन प्रक्रिया पनि स्थगित भएको हो।
पेट्रोलियम ढुवानी महासंघ लगायतले उद्योग वाणिज्य महासंघले सदस्यता दिए पनि भोट हाल्ने अधिकार नदिएको भन्दै अदालतको ढोका ढकढकाएका थिए ।








प्रतिक्रिया