
काठमाडौं । विश्वप्रख्यात ब्रुअरी जायन्ट ‘काल्सवर्ग ग्रुप’ को पूर्ण स्वामित्व रहेको गोर्खा ब्रुअरीमा नेपालको प्रतिष्ठित व्यावसायिक घराना ‘जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज’ को इन्ट्रि भएको छ । जेजीआईका सञ्चालक राजबहादुर साहले गोर्खा ब्रुअरीको १५ प्रतिशत स्वामित्व प्रिमियम मूल्यमा खरिद गरेका हुन् ।
यो साझेदारीसँगै काल्सवर्गले नेपालमा थप १० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा पनि गरेको छ । साथै गोर्खा ब्रुअरीले राज ब्रुअरी पनि खरिद गरेको छ । सम्झौतासँगै जेजीआई गोर्खा ब्रुअरीको कन्ट्री पार्टनर बन्नेछ ।
गोर्खा ब्रुअरी केही समयअघि मात्रै विदेशी लगानीकर्ताको एकल नियन्त्रण (९९.९४ प्रतिशत) मा पुगेको थियो । जावलाखेल ग्रुपका अध्यक्ष राजबहादुर साहले गोर्खा ब्रुअरीको रणनीतिक सेयर हिस्सा खरिद गरेसँगै यस कम्पनीमा पुनः नेपाली स्वामित्वको पुनरागमन भएको छ ।
विश्वभरका १५० भन्दा बढी देशमा उपस्थिति जनाएको १७९ वर्ष पुरानो काल्सवर्गले नेपालको मदिरा बजारमा दशकौंदेखि वर्चस्व कायम गरेको जावलाखेल ग्रुपसँग सहकार्य गरेको हो ।
बिहीबार एक कार्यक्रममा काल्सवर्गका अध्यक्ष हेनरिक पाउल्सेन र सीईओ जेकब आरप एन्डर्सनले १० अर्ब रुपैयाँ थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे । उनीहरुले नेपालमा विकसित नयाँ राजनीतिक परिवेश र सुशासनको प्रत्याभूतिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताए ।
गोर्खा ब्रुअरीसँग हाल काल्सवर्ग, ट्युबोर्ग जस्ता प्रिमियम बियर ब्रान्डहरू छन् भने जावलाखेल ग्रुपसँग ह्वीस्की र भोड्काका २१ भन्दा बढी ब्रान्ड छन् ।








प्रतिक्रिया