प्रलोभनमा पार्न नसकेपछि विवादमा तानियो, भेटघाट सहज बनाउन अनलाइन फाराम: पर्यटन मन्त्री

826
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलले मन्त्रालयमा भेटघाटका लागि अनलाइन फाराम भर्नुपर्ने व्यवस्थाका सम्बन्धमा बजारमा चलेका चर्चाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले प्रलोभनमा पार्न नसकेपछि आफूलाई विवादमा तान्ने पुरानो चलनको निरन्तरतास्वरूप यस्तो हल्ला फैलाइएको दाबी गरेका छन् ।

मन्त्री पौडेलले मन्त्रालयको मुख्यालय आम नागरिकका लागि सधैँ खुला रहेको प्रस्ट पार्दै अनलाइन प्रणाली केवल सहजताका लागि ल्याइएको बताएका छन् । उनका अनुसार केही दिनअघि जारी गरिएको सूचनाको उद्देश्य अनलाइनमार्फत पनि भेटघाटको समय तय गर्न सकिन्छ भन्ने मात्र हो, अन्य माध्यमबाट भेट्न पाइँदैन भन्ने होइन ।

उनले भनेका छन्, ‘अनलाइनबाट समय लिने व्यवस्था एउटा विकल्प मात्र हो । त्यो आजको आजै वा केही दिनअघि नै पनि गर्न सकिन्छ । विशेष सल्लाह, सुझाव दिन र अपर्झट गुनासोका लागि जतिबेला आए पनि हुन्छ, त्यसका लागि कुनै बन्देज छैन ।’

उनले थप पारदर्शी बन्नका लागि आफ्नो व्यक्तिगत मोबाइल नम्बर ९८५६०३१६४७ समेत सार्वजनिक गर्दै नागरिकका गुनासा सिधै सुन्न आफू तयार रहेको उल्लेख गरेका छन् ।

मन्त्री पौडेलले कामको चाप र मन्त्रालयको मर्यादालाई ध्यानमा राख्दै केवल बधाई दिन, शुभकामना दिन वा सम्बन्ध विस्तारका लागि मात्र मन्त्रालय नआउन आग्रहसमेत गरेका छन् । काम र उद्देश्य लिएर आउनेका लागि ढोका सधैँ खुला छ, तर औपचारिकता र बधाईका लागि मात्र आउने परिपाटीलाई निरुत्साहित गर्नैपर्ने उनको भनाइ छ ।

पछिल्लो समय मन्त्रीलाई भेट्न गुगल फाराम भर्नुपर्ने नियम झन्झटिलो भएको भन्दै आलोचना भएपछि मन्त्री पौडेलले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले प्रविधिमैत्री बन्ने प्रयासलाई गलत व्याख्या नगर्नसमेत सबैमा अनुरोध गरे ।