
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ साधारणसभा र निर्वाचन प्रक्रिया तत्कालका लागि रोक्न अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र दीपक खनालको संयुक्त इजलासले बिहीबार रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
चैत २२ गते नेपाल पेट्रोलियम ढुवानी महासंघले दायर गरेको रिटमा २३ गते न्यायाधीश स्वीकृति पराजुलीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेकोमा बिहीबारको इजलासले अन्तरिम आदेशसहित निरन्तरता दिएको हो।
पेट्रोलियम ढुवानी महासंघलाई उद्योग वाणिज्य महासंघको सदस्यता दिए पनि भोट हाल्ने अधिकार नदिएपछि अदालत गएको र मतदान अधिकार नदिने गरि महासंघले रोक लगाउन नमिल्ने आदेश भएको पेट्रोलियम ढुवानी महासंघका महासचिव विश्व अर्यालले क्लिकमान्डुलाई जानकारी दिए । अदालतले आफूहरूलाई पनि मतदानको अधिकारसहित सहभागी गराएर अधिवेशन गर्न भनेको उनको भनाइ छ ।
यसबारे निर्णय गर्न उद्योग वाणिज्य महासंघले शनिबारका लागि बैठक बोलाइसकेको छ । निर्धारित मितिका लागि तय भएको चुनाव भने नसर्ने महासंघ स्रोतको दाबी छ ।
महासंघको साधारण सभा हुँदा निवेदकहरूलाई समेत असर पर्ने देखिँदा सो निर्णय नभएसम्म संस्थाको साधारणसभा नगर्न नगराउन अन्तरिम आदेश जारी गरेकोले उनीहरूलाई पनि सहभागी मतदानमा सहभागी गराउने निर्णय गरेर महासंघ अघि बढ्ने उनको भनाइ छ।
तर, मतदानका अधिकार पाएकाहरूले उम्मेदवारी पनि दिन सक्ने भएकाले तोकिएको मितिमा सधारणसभा र निर्वाचन हुने सम्भावना भने न्यून देखिएको छ ।
महासंघको साधारणसभा र निर्वाचन चैत २८ र २९ गतेका लागि तय भएको थियो ।











प्रतिक्रिया