महासंघ वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्दै रामचन्द्र संघई

196
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उद्यमी रामचन्द्र संघई उमेद्वार बन्ने पक्का भएको छ ।

देशभरका उद्यमी व्यवसायी एवं महासंघका पूर्वअध्यक्षहरुसँगको सल्लाह र छलफलपछि संघई वरिष्ठ उपाध्यक्षको उमेद्वार बन्ने निष्कर्षमा पुगेको जनाइएको छ ।

विगत २२ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा निरन्तर क्रियाशील संघई महासंघको पूर्वउपाध्यक्ष हुन् । रविभक्त श्रेष्ठको पालादेखि महासंघमा काम गरेका संघई शेखर गोल्छाको कार्यकालमा एशोसियटतर्फको उपाध्यक्ष तथा रोजगारदाता परिषद्को सभापति रहेका थिए ।

त्रिवेणी ग्रुपका निर्देशक समेत रहेका संघईले व्यवसायीको हकहितका पक्षमा लागि पर्ने अठोटसहित महासंघको वरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिनलागेको बताए ।

अहिले त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक र कृषिजन्य दर्जनौँ उद्योगहरू सञ्चालनमा छन् । करिब १८ हजार श्रमिक परिवार यी सबै उद्योगमा आबद्ध छन् । साना तथा मझौला उद्यम व्यवसायमा पनि संघई संलग्न छन् । साना तथा मझौला उद्यमी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे पूर्ण जानकार रहेको बताउदै संघईले यसको समाधानमा लागि पर्ने उल्लेख गरे ।

उद्योगी व्यवसायीका समस्या राम्रोसँग बुझ्न र महशुस गर्न सक्ने, रोजगारी सृजना गर्नसक्ने, उत्पादन बढाउन सक्ने एवं सरकारसमक्ष निजी क्षेत्रका समस्या समाधानमा पहल गर्नसक्ने नेतृत्व नै महासंघमा आवश्यक रहेको संघइले बताए ।

नयाँ सरकारले निजी क्षेत्रसँग नजिक रहेर काम गर्न जरुरी रहेको र निजी क्षेत्रले पनि सरकारसँग मिलेरै काम गर्न आवश्यक भएको बताउदै संघईले यसका लागि ठोस नीतिगत सुधार आवश्यक रहेकोमा जोड दिए ।

लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवद्र्धनका लागि समयसिमा सहितका काम अघि वढाउने सरकारको घोषणाले निजी क्षेत्र उत्साहित बनेको संघईको भनाइ छ ।

सत्तारुढ दलका सभापतिले संसदको पहिलो सम्बोधनका क्रममा निजी क्षेत्रलाइ आस्वस्त पार्दै गरेको सम्बोधनले समेत थप हौसला प्राप्त भएको भन्दै संघईले नयाँ सरकारले जनविश्वासमा अडेर देश र जनताको पक्षमा काम गर्नेहो भने अवको ५ बर्ष नेपालका लागि स्वर्ण युग सावित हुने उल्लेख गरे ।

महासंघको ६० औं वार्षिक साधारणसभा चैत्र २९ र ३० गते काठमाडौंमा आयोजना हुँदैछ । साधारणसभाले निर्वाचित गरेको कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ ।

Skip This