
काठमाडौं । पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक रिहा भएका छन्।
१३ दिनअघि पक्राउ परेपछि महाराजगञ्जस्थित सशस्त्र प्रहरीको नम्बर–२ गणमा राखिएका लेखक बिहीबार रिहा भएका हुन् । उनलाई पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको प्रहरीले जनाएको छ ।
लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको हो । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।
सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको कार्यालयको निर्णयअनुसार उनलाई ‘खोजी भएको बेला उपस्थित हुने गरी’ हिरासतमुक्त गरिएको हो ।
भदौ २३ र २४ गते काठमाडौंको बानेश्वरमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनामा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसका आधारमा प्रहरीले चैत १४ गते ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।
पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतबाट तीन पटकसम्म म्याद लिएर उनीहरूलाई हिरासतमा राखिएको थियो । स्वास्थ्य समस्याका कारण पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो भने पूर्वगृहमन्त्री लेखक महाराजगञ्जस्थित सशस्त्र प्रहरीको नम्बर–२ गणमा थिए ।
ओली र लेखकलाई छोड्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले चैत २३ मा उनीहरूलाई हिरासतमुक्त गर्न परमादेश जारी गरेको थियो ।
अदालतले चैत २५ पछि थप म्याद नथप्न र यदि अनुसन्धान पूरा नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम हिरासतमुक्त गरेरै बाँकी अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न आदेश दिएको थियो।
काठमाडौं जिल्ला अदालतले दिएको तेस्रो पटकको ५ दिनको म्याद बुधबार सकिएपछि सर्वोच्चको आदेशअनुसार ओली र लेखकलाई रिहा गरिएको हो।










प्रतिक्रिया