ओली रिहा, प्रहरीले लगायो आफन्तको जिम्मा

399
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ ।

उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी पक्राउ परेको १३ दिनपछि रिहा भएका हुन् । प्रहरीले ओलीलाई हाजिर जवानीमा परिवारको जिम्मा लगाएको हो । उनलाई जिम्मा लिन पत्नी राधिका शाक्य टिचिङ अस्पताल पुगेकी थिइन् ।

बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ।

सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको कार्यालयको निर्णयअनुसार उनलाई ‘खोजी भएको बेला उपस्थित हुने गरी’ हिरासतमुक्त गरिएको हो ।

भदौ २३ र २४ गते काठमाडौंको बानेश्वरमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनामा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रहरीले चैत १४ गते ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेपछि काठमाडौं जिल्ला अदालतबाट तीन पटकसम्म म्याद लिएर उनीहरूलाई हिरासतमा राखिएको थियो । स्वास्थ्य समस्याका कारण पूर्वप्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् भने पूर्वगृहमन्त्री लेखक महाराजगञ्जस्थित सशस्त्र प्रहरीको नम्बर–२ गणमा छन् ।

ओली र लेखकलाई छोड्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले चैत २३ मा उनीहरूलाई हिरासतमुक्त गर्न परमादेश जारी गरेको थियो। अदालतले चैत २५ पछि थप म्याद नथप्न र यदि अनुसन्धान पूरा नभएमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५ बमोजिम हिरासतमुक्त गरेरै बाँकी अनुसन्धान र तहकिकातको काम सम्पन्न गर्न आदेश दिएको थियो।

काठमाडौं जिल्ला अदालतले दिएको तेस्रो पटकको ५ दिनको म्याद बुधबार सकिएपछि सर्वोच्चको आदेशअनुसार ओलीलाई रिहा गरिएको हो भने लेखक रिहा हुँदै छन् ।

Skip This