पुराना कारलाई ७ लाख र मोटरसाइकललाई डेढ लाखमै विद्युतीय बनाउन सकिने

काठमाडौं विश्वविद्यालयलाई ईभी रुपान्तरणमा सफलता

0
Shares

काठमाडौं । काठमाडौं विश्वविद्यालयले २० वर्षसम्मका पुराना कारलाई विद्युतीय सवारी साधनमा कन्भर्ट गर्न सकिने जनाएको छ ।

काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका एसोसिएट प्रोफेसर तथा मेकानिकल इन्जिनियर डा. विराजसिंह थापाले २० वर्ष पुराना डिजेल कारलाई अतिरिक्त ७ लाख रुपैयाँ खर्च गरेपछि विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न सकिने जानकारी दिएका छन् ।

थापाको प्राविधिक विद्यार्थी टीमले विश्वविद्यालयकै करिब २५ वर्ष पुरानो डिजेल कारलाई विद्युतीय कारमा रूपान्तरण गर्न सफल भएका थिए । विश्वविद्यालयको संस्थापक उपकुलपति प्राध्यापक डा. सुरेशराज शर्माले विश्वविद्यालयका लागि खरिद गरेको पहिलो डिजेल सवारी साधन मारुती ८०० मोडेलको कारलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गरिएको थियो ।

‘सुरुमा नौलो विषय थियो, के-के उपकरण जुटाउने, कहाँबाट जुटाउने, मूल्य कति पर्छ, ईभी सम्बन्धित किट जडान गर्दा पुरानो सवारी साधनको कुन-कुन भाग काट्ने, कुन ठाउँमा जडान गर्ने, कस्तो ब्याट्री राख्ने जस्ता विषयका कारण सबै खर्च जोडेर करिब १५ लाख रुपैयाँ खर्च भएको थियो,’ डा. थापाले भने, ‘सुरुआती समय भएकाले केही अनावश्यक खर्च पनि लाग्यो । तर त्यो सफल भएपछि अब कुन सामान मात्रै राख्ने, किट बक्स कस्तो राख्ने लगायतको विषयमा विस्तृत रूपमा जानकारी र अनुभव समेत भइसकेकाले अब एउटा मारुती ८०० मोडेलको कारलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न ७ लाख रुपैयाँसम्म खर्च आउने हाम्रो विश्लेषण छ ।’

विश्वविद्यालयको टोलीले पुरानो गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्दा पुरानो पेट्रोल इन्जिन निकालेर त्यसमा इलेक्ट्रिक मोटर, चार्ज कन्ट्रोलर र अक्सिलरी ब्याट्रीहरू जडान गरेका छन् । यसमा मौलिक पक्ष के छ भने, गाडीको पुरानो गियरबक्सलाई ननिकाली त्यसलाई २ नम्बर गियरमा फिक्स गरिएको छ, जसले गर्दा गाडीले पर्याप्त पावर पाउँछ ।

‘यो गाडीमा लिथियम आयन ब्याट्रीको प्रयोग गरिएको छ । एक पटकको फुल चार्जमा यो गाडीले करिब १०० किलोमिटरको दूरी तय गर्न सक्छ,’ थापाले भने, ‘यसको अधिकतम गति प्रतिघन्टा ५० किलोमिटर छ । यसलाई उकालो, ओरालो र विभिन्न सडक खण्डहरूमा परीक्षण गरिसकेका छौँ ।’

यो प्रविधि विशेष गरी पुराना ट्याक्सीहरूका लागि निकै प्रभावकारी हुने उनको भनाइ छ । हाल १५–२० वर्ष पुराना ट्याक्सीहरू इन्जिन कमजोर भएर प्रदूषण फैलाउने कारक बनेका छन् । त्यस्ता गाडीलाई ५ देखि ७ लाख रुपैयाँको बजेटमा ईभीमा परिणत गर्न सकिन्छ । दैनिक १०० किलोमिटरभन्दा बढी नदौडिने उपत्यकामा कुदिरहेका ट्याक्सीहरूका लागि यो निकै किफायती र वातावरणमैत्री विकल्प हुने उनको भनाइ छ ।

उनका अनुसार काठमाडौं विश्वविद्यालयलाई अनुसन्धान र किट बक्स तयार गरेर जडान गर्न ६ महिनाको समय लागेको थियो । तर अब सबै अनुभव भइसकेकाले किट बक्स तयार छ भने एक सातामै डिजेल पेट्रोल कारलाई ईभीमा रूपान्तरण गर्न सकिन्छ।

‘मलाई कसैले २० वर्ष पुरानो मारुती कार दियो भने म उसलाई ५–७ लाखमा कन्भर्ट गरेर दिन सक्छु भन्ने हिम्मत चाहिँ हामीले निकालिसक्यौँ । किनभने त्यो कन्भर्जन किटको डिजाइन चाहिँ लगभग हामीले हिट एन्ड ट्रायलबाट बनाएर टेस्ट गरेर यत्तिकोमा चाहिँ हुन्छ भनेका छौँ,’ थापाले भने, ‘अहिले म लागत खर्च ७ लाख भन्छु । ७ लाखमा सरकारले २ लाख अनुदान हालिदिने र जसको कार छ उसले ५ लाख हालिदिए ७ लाख लागत खर्चमा कन्भर्ट गर्न सक्छौँ । राज्य यो प्रक्रियामा पनि अगाडि बढाउन सक्छ ।’

उनका अनुसार विद्युतीय गाडीमा रूपान्तरण गर्न लाग्ने ७ लाखमध्ये ५० प्रतिशत सरकार र ५० प्रतिशत सवारी धनीले व्यहोरेर पनि अगाडि बढ्न सकिने उनले बताए ।

उनका अनुसार एउटा नीति बनाएर सरकारले पहिलो चरणमा अत्यधिक प्रदूषण फिँजाउने निकै पुराना ट्याक्सीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिन्छ । त्यसमा पनि एयरपोर्टमा छिर्ने सबै ट्याक्सीलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिन्छ । सरकारले २ सयवटा ट्याक्सीलाई ५० प्रतिशत अनुदान दिएको अवस्थामा करिब २ करोड रुपैयाँको सहयोगमा विद्युतीय सवारीमा रूपान्तरण गर्न कुनै समस्या नआउने उनले जानकारी दिए ।

‘कम्तीमा सरकारले पहिलो १ सय वटा वा पहिलो २०० वटालाई सब्सिडी दिन्छु भन्यो भने त लाइन लागिहाल्छ नि,’ थापाले भने, ‘राज्यले एउटा नीति लिएपछि मारुती कारबाहेक अन्य सबै प्रकारका कारहरूमा यो प्रविधि जडान गर्न पाइयो । मारुती कारजस्तै अन्य कारलाई पनि सहज रूपमा रूपान्तरण गर्न काठमाडौं विश्वविद्यालय सक्षम भइसकेको छ । मारुतीको साटो भेस्पा भ्यान आउला, हाइसहरू आउला, तिनीहरूलाई किट अलि फरक पर्छ र मूल्य अलि फरक पर्न सक्छ । दैनिक २ सय किलोमिटर कुद्ने हाइसजस्ता गाडीको हकमा २० देखि २५ लाखको हाराहारीमा लागत खर्च पर्न सक्छ ।’

थापाका अनुसार विश्वविद्यालयले यो प्रविधिको पेटेन्ट दर्ताका लागि प्रक्रिया अगाडि बढाएको छ । कसैले यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन चाहेको अवस्थामा विश्वविद्यालयले निःशुल्क तालिम र प्रविधि हस्तान्तरण गर्न तयार रहेको जनाएको छ।

‘सरकारले पेट्रोलियम पदार्थबाट विद्युतीय सवारीमा रूपान्तरण गर्न नीति त ल्यायो, तर कार्यविधि र नियमावली आएन । कार्यविधि नभई यातायात व्यवस्था विभागले रोड पर्मिट दिँदैन । विश्वविद्यालयले रिसर्चको लागि पर्मिट पायो,’ थापाले भने, ‘साझा यातायातले पनि अलिअलि कुदायो, तर निजी क्षेत्रलाई गाह्रो छ । अब कानुन बनाउँदा हामी जस्ता विज्ञहरूलाई समेटेर व्यावहारिक बनाउनु पर्छ ।’

यात्रुवाहक बसको हकमा भने साझा यातायातले काठमाडौं विश्वविद्यालयको सहकार्यमा १४ वर्ष पुरानो डिजेल बसलाई विद्युतीय बसमा रूपान्तरण गरेर सफलता पूर्वक परीक्षण गरिसकेको छ ।

डा. विराजसिंह थापा

पुरानालाई ईभी रूपान्तरण गर्न के-के आवश्यक छ ?

उनका अनुसार अहिलेसम्म सरकारले पेट्रोलियम सवारी साधनलाई ईभीमा रूपान्तरण गर्ने विषयमा नीति मात्रै ल्याएको छ । तर ईभीमा रूपान्तरण कसरी गर्ने, कस्ता पार्टपुर्जाहरू राख्ने, कुन स्ट्यान्डर्डको राख्ने, सेफ्टी र क्वालिटीका मापदण्ड के-के हुने हो, परीक्षणको विधि के हुने हो? तयार गर्दा सरकारको सहयोगको मोडालिटी के हुने हो? तयार पश्चात रुट पर्मिट कसरी दिने हो, भाडा दर कस्तो हुने हो लगायतका समग्र क्षेत्रलाई सम्बोधन गर्ने गरी मापदण्ड ल्याउन आवश्यक रहेको उनको सुझाव छ ।

यस्ता विषयमा सम्बोधन नगरिकन बजारमा परिवर्तित ईभी सवारी साधन ल्याउन नहुने उनको भनाइ छ । यसरी तयारी बिना बजारमा ल्याइँदा आम उपभोक्तालाई महँगीको मार पर्नुका साथै गुणस्तरहीन सामग्री लगाएर उद्योगी व्यवसायीले अत्यधिक महँगो शुल्क असुल्न सक्ने र त्यस्ता सवारी साधन सुरक्षाको दृष्टिकोणले पनि जोखिम हुन सक्ने उनको भनाइ छ ।

उनका अनुसार ईभीमा रूपान्तरण गर्नका लागि अहिले डिजेल पेट्रोल गाडी बनाइरहेका र मर्मतसम्भार गरिरहेका वर्कसपका जनशक्तिलाई राज्यको तर्फबाट ईभी कन्भर्जन तालिम दिनुपर्छ । सिटीईभीटी वा विश्वविद्यालयबाट तालिम दिएर उनीहरूलाई सर्टिफिकेट दिनुपर्छ । यसो गर्दा रोजगारी पनि गुम्दैन र नयाँ प्रविधि पनि भित्रिन्छ ।

‘अर्को सबैभन्दा महत्त्वपूर्ण विषय भनेको सेफ्टी र क्वालिटीमा राज्यले पूर्ण रूपमा ध्यान दिनुपर्छ । ईभीको सबैभन्दा महत्त्वपूर्ण पक्ष ब्याट्रीसहितको किट बक्स हो, सरकारले तोकेको मापदण्डको ब्याट्री र पार्टपुर्जा मात्रै प्रयोग गर्न पाउने मापदण्ड तोकिनुपर्छ, अहिले ईभी हाइसहरू अत्यधिक दुर्घटना भएको खबर सुनिएको छ, त्यो चाहिँ क्वालिटी कन्ट्रोल नभएर हो । सरकारले स्ट्यान्डर्डाइज र क्वालिटी चेकमा कडाइ गर्नुपर्छ,’ प्रोफेसर थापाले भने ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तका अनुसार सरकारले पुराना पेट्रोलियम सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्ने विषयमा नीति ल्याइसके पनि आवश्यक पर्ने मापदण्ड ल्याउन आवश्यक तयारीमा मन्त्रालय जुटेको जानकारी दिए ।

‘सबै विषयवस्तुलाई समेटेर मापदण्ड ल्याउने विषयमा सरोकारवाला विज्ञ, व्यवसायीलाई समावेश गरी छलफल गर्न सुरु गरेका छौँ, छलफलको आधारमा कार्यविधिसहितको मापदण्ड ल्याउने तयारी सुरु भएको छ ।’

डिजेलको विकल्पमा हाइड्रोजन

थापाका अनुसार पेट्रोल गाडीलाई ब्याट्रीबाट ईभीमा लैजान सजिलो भए पनि ठूला र लामो दूरीका डिजेल गाडीका लागि ब्याट्री मात्र पर्याप्त हुँदैन । त्यसका लागि काठमाडौं विश्वविद्यालयले ‘ग्रिन हाइड्रोजन’ प्रविधिको परीक्षण गरिरहेको छ ।

विश्व विद्यालयले नेपालमै पहिलो पटक हाइड्रोजन कार र रिफिलिङ स्टेशनको सफल परीक्षण गरिसकेको छ ।

सरकारले काठमाडौं–धुलिखेल सडक उद्घाटन गर्दा हाइड्रोजन बस र रिफिलिङ स्टेशनको पाइलट प्रोजेक्ट सुरु गरेमा नेपालले डिजेल आयातमा गर्ने ठूलो खर्च बचाउन सक्ने उनको विश्वास छ । भविष्यमा पेट्रोलको विकल्पमा ब्याट्री र डिजेलको विकल्पमा हाइड्रोजन प्रयोग गरी नेपाली बिजुलीबाटै यातायात क्षेत्र सञ्चालन गर्न सकिने उनले बताए ।

तर हाइड्रोजन प्रविधि निकै महँगो हुने भएकाले निकै धनी व्यक्तिले रोजेको अवस्थामा उपभोग गर्न सकिने उनको भनाइ छ ।

मोटरसाइकललाई ईभीमा रूपान्तरण गर्न डेढ लाखसम्म खर्च

सुन्दर यातायात प्राइभेट लिमिटेडका अध्यक्ष भेषबहादुर थापाले पनि पेट्रोलियमबाट चल्ने पुराना सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न प्राविधिक रूपमा सहज रहेको जानकारी दिए ।

नेपालमा पहिलो पटक निजी क्षेत्रमार्फत सुन्दर यातायातले ईभी सार्वजनिक सवारी साधन राजधानीको सडकमा गुडाइरहेको छ । उनका अनुसार करिब डेढ लाख रुपैयाँको लागत खर्चमा पुराना मोटरसाइकललाई विद्युतीय सवारीमा रूपान्तरण गर्न सकिन्छ ।

ईभीमा रूपान्तरण गर्न सहज भए पनि सरकारको तर्फबाट स्पष्ट नीति र कानुनी सहजताको आवश्यकता रहेको उनको भनाइ छ । उनका अनुसार पछिल्लो ६–७ वर्षदेखि विभिन्न क्षेत्रबाट सवारी साधन रूपान्तरणका विभिन्न परीक्षण र कार्यहरू भइरहेका छन् ।

उनका अनुसार यो प्रक्रियामा गाडीको पुरानो इन्जिन र गियरबक्स हटाएर त्यसको सट्टामा मोटर, कन्ट्रोलर र ब्याट्री जडान गरिन्छ । इन्धनको ट्याङ्की भएको ठाउँमा ब्याट्री व्यवस्थापन गरिन्छ । यद्यपि, फ्याक्ट्रीबाटै निर्मित ईभी र रूपान्तरित ईभीको बनावटमा भने केही भिन्नता हुने भए पनि यो पूर्णतः सम्भव रहेको उनको भनाइ छ ।

उनका अनुसार कार र जिपको हकमा करिब ८ देखि १० लाख रुपैयाँसम्म खर्च हुन सक्छ । सवारी साधनको डिस्प्ले र अन्य फिचरहरू थप गर्दा लागत केही बढ्न सक्छ । ५० लाख हाराहारीमा किनिएका पुराना जिप कारलाई थप केही लगानी गरेर ईभीमा बदल्दा वातावरण र आर्थिक दुवै हिसाबले फाइदा हुने उनको भनाइ छ ।

भेषबहादुर थापाका अनुसार ३ घण्टामा पेट्रोल मोटरसाइकललाई विद्युतीयमा रूपान्तरण गर्न सकिन्छ । यस्तो परिवर्तित मोटरसाइकलमा करिब ४० रुपैयाँ बराबरको चार्ज गरेर सहज रूपमा ८० किलोमिटर यात्रा तय गर्न सकिने उनको भनाइ छ ।
विद्युतीयमा रूपान्तरण गरिएका मोटरसाइकल आर्थिक दृष्टिकोणले निकै किफायती हुने भेषबहादुर थापाले बताए ।

‘पेट्रोल वा डिजेलबाट चल्ने सवारीमा ८० किलोमिटर यात्रा गर्न करिब ८०० रुपैयाँ खर्च हुन्छ भने विद्युतीयमा रूपान्तरण गरिएको बाइकमा सोही दूरी तय गर्न मात्र ३० देखि ४० रुपैयाँको बिजुली खपत हुन्छ,’ थापाले भने, ‘रूपान्तरण गरिएको मोटरसाइकलले एक पटकको फुल चार्जमा सामान्यतया ८० किलोमिटरको माइलेज दिन्छ । यद्यपि यसको क्षमता १०० किलोमिटर भनिए तापनि ब्याट्रीको सुरक्षाका लागि ८०–९० किलोमिटरमा ‘लक’ गरिएको हुन्छ । लिथियम फस्फेट ब्याट्री प्रयोग गरिने यस्ता बाइकहरूमा ब्याट्री पूर्ण रूपमा शून्य नहोस् भन्नका लागि यस्तो प्रविधि अपनाइएको हो ।’

यसलाई फुल चार्ज गर्न ३ देखि ४ घण्टा लाग्ने र एक पटक चार्ज गरेपछि ८० किलोमिटरको यात्रा आनन्दले गर्न सकिने उनले बताए ।

Skip This