सरकारले प्रतिशोधपूर्ण रूपमा थुने पनि न्यायको जित भयो: केपी ओली

140
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १३ दिनको प्रहरी नियन्त्रणपछि रिहा भएका छन् ।

रिहा भएलगत्तै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले सरकारले आफूलाई पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाएर गैरकानुनी हिरासतमा राखेको आरोप लगाएका छन्।

मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि आफू अन्ततः रिहा भएको उल्लेख गर्दै उनले यसलाई न्यायको जितका रूपमा अथ्र्याएका छन्।

अध्यक्ष ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, राजनीतिक दल, नेताहरू र सञ्चारकर्मीहरूप्रति विशेष आभार प्रकट गरेका छन्। उनले परमादेश जारी गरी आफूलाई न्याय दिने सर्वोच्च अदालतप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

प्रहरी नियन्त्रणमा रहँदा आफूप्रति मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र स्वास्थ्योपचारमा खटिने त्रिवि शिक्षण अस्पताल (टीयूटीच) परिवारलाई पनि उनले धन्यवाद दिएका छन्।

आफ्नो रिहाइको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीमाथि सरकारले दमन गरेको भन्दै ओलीले दुःख व्यक्त गरेका छन्। प्रहरी हस्तक्षेपबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन्।

अझै केही दिन अस्पतालमै रहने

प्रतिकूल स्वास्थ्य अवस्थाका कारण अध्यक्ष ओली तत्काल घर नफर्कने भएका छन्। उनले केही दिन अस्पतालमै रहेर थप उपचार गराउने जानकारी दिएका छन्। यस घडीमा सद्भाव र शुभेच्छा प्रकट गर्ने पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरूलाई उनले हार्दिक धन्यवाद दिएका छन्।

प्रहरीले ओलीलाई हाजिर जवानीमा परिवारको जिम्मा लगाएको हो ।

सर्वोच्च अदालतको परमादेश र सरकारी वकिलको कार्यालयको निर्णयअनुसार उनलाई ‘खोजी भएको बेला उपस्थित हुने गरी’ हिरासतमुक्त गरिएको हो ।

भदौ २३ र २४ गते काठमाडौंको बानेश्वरमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर किशोरहरूको मृत्यु भएको घटनामा छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा प्रहरीले चैत १४ गते ओली र लेखकलाई भक्तपुरबाट पक्राउ गरेको थियो ।

Skip This