
काठमाडौं । शुभश्री अग्नि सिमेन्टको व्यापार ५५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा ५५ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले सन् २०२४ मा १ अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले गत आव अर्थात् सन् २०२५ मा २ अर्ब ४६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।
कम्पनीले सन् २०२३ मा २ अर्ब ५५ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीका अनुसार गत आवमा १ अर्ब ११ करोड २० लाख रुपैयाँ ग्राइन्डिङ सिमेन्टबाट आम्दानी गरेको छ भने बाँकी १ अर्ब ३५ करोड ४० लाख रुपैयाँ क्लिङ्करबाट भएको उल्लेख छ ।
त्यस्तै, कम्पनीले चालुआवको ८ महिनाको अवधिमा १ अर्ब ३८ करोड ८० लाख रुपैयाँको व्यापार गरिसकेको छ । कम्पनीले गत आवमा उच्च कारोबार गरे पनि नाफा भने कमाउन सकेन ।
कम्पनीले गत आवमा ६ करोड ३० लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । सन् २०२४ मा ७ करोड ९० लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो । तर, कुल नगद सञ्चय १ करोड ७० लाख रुपैयाँबाट बढेर ८ करोड ५० लाख रुपैयाँ भएको छ ।
सन् २०१३ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भएको कम्पनी सन् २०२२ मा मात्रै पब्लिक कम्पनीमा परिणत भएको छ ।
कम्पनीले सन् २०१७ देखि दैनिक ७ सय मेट्रिक टन क्लिङ्कर उत्पादन गरी व्यावसायिक कारोबार सुरु गरेको थियो । कम्पनीले क्लिङ्करसँगै सन् २०१९ देखि दैनिक १२ सय मेट्रिक टन क्षमतामा ग्राइन्डिङ सिमेन्ट उद्योग सञ्चालन गर्दै आएको छ ।
कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ विभिन्न देशबाट आयात गर्दै आएको छ । कम्पनीले कोइला, लाइमस्टोन, जिप्सम, क्ले, आइरन ओरलगायत अन्य कच्चा पदार्थ तेस्रो मुलुकबाट आयात गर्दै आएको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ४ अर्ब ४७ करोड ११ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५३ करोड २० लाख रुपैयाँको रेटिङ गराएको हो ।
कम्पनीमा अग्नि सिमेन्ट इन्डष्ट्रिजको पूर्ण स्वामित्व छ । कम्पनीको अध्यक्षमा कृष्णप्रसाद पोखरेल छन् ।








प्रतिक्रिया