महासंघ कोशी अध्यक्षमा प्यालनसहित राउत विजयी

126
Shares

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशीको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष समेत रहेका राउतले संघका केन्द्रीय सदस्य नवीन रिजाललाई हराउँदै दोस्रो कार्यकालका लागि प्यालनसहित निर्वाचित भएका हुन् ।

संघको नयाँ कार्यसमितिका लागि आइतबार राति भएको निर्वाचनमा राउतले साढे ६७ प्रतिशत मत पाउँदा रिजालले साढे ३२ प्रतिशत मात्र मत पाए । निर्वाचनमा राउतले वस्तुगतमा ११, जिल्ला नगरमा २४ तथा एशोसिएटतर्फ १०७ मत पाउँदा रिजालले वस्तुगतमा ६, जिल्ला नगरमा १३ तथा एशोसिएटतर्फ ३९ मत पाएका थिए ।

राउत महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल समूहका हुन् भने रिजाल वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ समूहका हुन् । राउत र रिजाल दुवै विराटनगरका उद्योगी हुन् ।

त्यसैगरी राउत प्यालनबाट जिल्ला नगर उपाध्यक्षमा ऋषिराज तिम्सीना, वस्तुगत उपाध्यक्षमा राजन श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध चुनिएका थिए । त्यस्तै एशोसिएट सदस्यमा पनि राउत प्यालनका देवकीनन्दन अग्रवाल र भविश श्रेष्ठ निर्विरोध चुनिएका थिए ।

जिल्ला नगर पाँच सदस्यका लागि भएको निर्वाचनमा पनि राउत प्यालनका पाँचै जना निर्वाचित भएका छन् । कोशी प्रदेशका १४ जिल्लाका ३८ जिल्ला र नगर, १९ वटा वस्तुगत र १४८ वटा एशोसिएट गरी २०५ मतदाताले मतदान गरेका थिए ।

राउत र रिजाल एकआपसका चिरपरिचित प्रतिद्वन्द्वी हुन् । उनीहरूबीच ८ वर्षपछि व्यावसायिक चुनावी मैदानमा भेट भएको थियो । २०७४ सालमा मोरङ व्यापार संघको नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुवै आ–आफ्नो प्यानलबाट प्रतिस्पर्धा गर्दा राउतको प्यानल पराजित भएसँगै उनको समूह त्यहाँबाट विस्थापित भएर महासंघ प्रदेशतर्फ सरेको थियो ।