सुलभ अग्रवाल: थर्मल गन कालोबजारीदेखि सम्पत्ति शुद्धीकरणसम्म, के होला झन्डै खर्बको ऋण ?

2k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उपाध्यक्ष सुलभ अग्रवाललाई पक्राउ गरेर बयान लिन सुरु गरेको छ । कुनै समय १ खर्ब १५ अर्ब रुपैयाँभन्दा बढीको वार्षिक कारोबार गर्ने र १ खर्ब रुपैयाँ बराबरको कर्जा सुविधा लिएको शंकर समूहमाथि बालेन सरकारले लिएको एक्सनले व्यापारिक जगत तरंगित बनेको छ ।

आइतबार दिउँसो सुलभको बयान लिन सुरु गरिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले क्लिकमान्डुलाई जानकारी दिए ।

प्रहरीले केही दिनअघि व्यवसायी दीपक भट्टलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा अनुसन्धान गरिरहेको छ । भट्ट र अग्रवाल व्यावसायिक साझेदार हुन् । यतिसम्म कि शंकरलालले भट्टलाई आफ्नै छोरा भएको बताउने गर्छन् ।

‘दीपक भट्टमाथि अनुसन्धान गर्ने क्रममा सुलभ अग्रवालको पनि संलग्नता देखिएपछि उहाँलाई बयानका लागि बोलाएका हौं, अहिले हाम्रा अनुसन्धान अधिकृतहरुले उहाँको बयान लिइरहनु भएको छ’ महानिर्देशक ठाकुरले क्लिकमान्डुसँग भने ।

भट्ट र अग्रवालको संलग्नतामा अर्बौं रकम शुद्धीकरण गरिएको विभागका अधिकारीहरु बताउँछन् ।

‘राजनीतिक कनेक्सनका आधारमा उहाँहरुले धेरै कानुन मिच्ने काम गर्नुभएको छ’ विभाग स्रोतले भन्यो, ‘अहिलेको बालेन सरकार कसैलाई जोगाउने र कसैलाई बचाउने पक्षमा छैन । त्यसैले कानूनको कार्यान्वय गर्न हामीलाई सजिलो भएको छ ।’

यो समूहको केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग ठाडो पहुँच थियो । उच्च राजनीतिक पहुँचकै आधारमा उनीहरूले रजगज गर्दै आएका थिए ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले व्यवसायीहरुलाई पहिला सुन्ने र त्यसपछि मात्रै थुन्ने भनिरहँदा मातहतकै विभागले पहिला थुन्ने अनिमात्रै सुन्ने काम गरिरहँदा निजी क्षेत्रमा शंकाहरु उब्जिएका छन् । किनभने १५ हजार जनाभन्दा बढीलाई प्रत्यत्क्ष रोजगारी दिएको एउटा व्यापारिक घराना संकटान पर्दा त्यो समूहसँग आस्रित मान्छेहरुमा पनि चिन्ता हुन्छ ।

के होला झन्डै १ खर्ब ऋण ?

शंकर ग्रुपका अध्यक्ष र उपाध्यक्ष पक्राउ परेसँगै यो समूहलाई ठूलो परिमाणाम ऋण दिएका बैंकरहरु तनावमा परेका छन् । नेपाली बैंकिङ क्षेत्रले शंकर समूहलाई करिब १ खर्ब रुपैयाँको हाराहारीमा ऋण दिएको छ ।

‘यसअघि त यो समूहको डिफल्ट थिएन अब के होला भनेर चिन्तित छौं’ यो समूहमा १० अर्ब बढी ऋण दिएका एक बैंकका सीईओले क्लिकमान्डुसँग भने, ‘यो समूह टाट उल्टियो भने धेरै बैंकलाई गाह्रो हुन्छ । बैंकमा भएको पैसा जनताकै हो ।’

यो समूह सेयर बजारको पनि ठूलो खेलाडी हो । त्यसैले केही दिनदेखि सेयर बजारमा नकरात्मक प्रभाव पिररहेको कतिपयको विश्लेषण छ । ४० कम्पनी चलाइरहेको शंकर ग्रुपको बिजनेश पछिल्ला वर्षहरुमा उत्साहजन छैनन् । यो समूहमाथि मोटो रकम पुँजी पलायन गरेको आरोप पनि लाग्दै आएको छ ।

थर्मल गन कालोबजारी गर्दागर्दै पक्राउ परेका थिए सुलभ

देश कोरोना भाइरसको संन्त्रासमा थियो । कोरोना नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ गतेदेखि लगाएका लकडाउनका कारण जनताहरु सडकमा निस्कन सकेका थिएनन् । घरभित्रै बसेका थिए ।

तर राज्यले अवैतानिक महावाणिज्यदूतका लागि दिएको सुविधाको दुरुपयोग गर्दै व्यवसायी सुलभ अग्रवालले भने कालोबजारी गरेर मालामाल पैसा कमाउने रणनीति बनाए ।

र, किर्गिस्तानका अवैतानिक महावाणिज्यदूत रहेका अग्रवाल निलो नम्बरप्लेट भएको कुटनीतिक गाडी कुदाउँदै कालोबजारी गर्न खुलेआम सडकमा निस्किए ।

२५ सय ३ हजार रुपैयाँमा किनेको थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्दागर्दै गत चैत २५ गते प्रहरीले ६७ थान थर्मल गनसहित अग्रवाललाई रंगेहात पक्राउ गर्यो । र, त्यसपछि खुल्यो शंकर ग्रुपको पैसा कमाउने धन्धा ।

यो व्यापारिक समूहले पछिल्ला दुई दशकमा अर्बौं कमाएको छ । समग्र निजी क्षेत्रलाई लज्जित बनाउने यो घटनालाई सरकारले गंभीरताका साथ छानविन अघि बढायो पनि ।

प्रहरीले अग्रवाललाई काठमाडौं जिल्ला अदालतमा पेश गर्यो । र, अदालतले २५ लाख २५ हजार रुपैयाँ धरौटी लिएर अग्रवाललाई तारेखमा छाडेको थियो । सुलभका भाई साहिल पैसाको बिटो बोकेर काठमाडौं जिल्ला अदालत पुगेका थिए ।

‘पैसाले सबैकुरा किन्न सकिन्छ त्यसैले जसरी भएपनि पैसा कमाउनुपर्छ भन्ने उहाँहरुको सोच हो,’ अग्रवाल निकट एक व्यवसायीले भने, ‘हामीले थर्मल गनमा हात नहाल फस्छौ भन्दा ओम्नीले लुट्न हुने मैले किन नहुने भन्थे उनीहरु ।’

अदालतले छाडेलगत्तै प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अग्रवाललाई पक्राउ गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।

किनभने प्रहरीले पक्राउ गरेपछि अग्रवालमाथि अनुसन्धान गर्दा उनले आफ्नो सम्पत्तिको स्रोत देखाउन सकेका थिएनन् । २०७९ को निर्वाचनपछि पनि ओली, देउवा र प्रचण्डकै सरकार बन्यो । ती नेतासँग दीपक भट्टको बलियो उठबस थियो । जसकारण अग्रवाल जोगिएनन् मात्रै थप बलियो बनेर निस्किए । दीपकले राजनीतिक सेटिङ मिलाउने अनि सुलभले पैसाको व्यवस्था गर्ने उनीहरुको रणनीतिले २/४ वर्ष गज्जपसँग काम गर्यो ।

थर्मल गन कालोबजारी प्रकरणमा सुलभले सफाइ पनि पाए । तर कुकर्म गर्न भने छाडेनन् । र अहिले फेरि उनै अग्रवाल फेरि सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा बयान दिइरहेका छन् । जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक अवस्थाले अग्रवाललाई अफ्ठ्यारोमा पुर्याएको छ ।

म्यानमारबाट सुरु भएको व्यापारिक यात्रा

शंकर ग्रुपको व्यवसायिक यात्राको शुरुवात म्यानमारबाट भएको हो । सुलभका हजुरबुबा रावतमाल गोल्यान (अग्रवाल) ले सन् १९६० को दशकमा बटम उद्योग लगाएका थिए । म्यानमारबाट नेपाल आएर उद्योग लगाए पनि रावतमान गोल्यान भने सफल हुन सकेनन् । त्यसपछि गोल्यानले ट्रेडिङमा हात हाले । सन् १९३५ मा रावतलालले काठमाडौं न्युरोडमा विदेशबाट कपडा ल्याएर बिक्री गर्ने सिलसिलामा यो ग्रुपको जन्म भएको हो ।

रावतमाल गोल्यानका छोरा शंकरलाल अग्रवालले बाबुको व्यवसायिक यात्रालाई अगाडि बढाउन सन् १९८० को दशकमा शंकर ग्रुपको स्थापना गरे ।

शंकरलालले सुरुको व्यवसायिक यात्रा भने ट्रेडिङबाट गरेका थिए । अहिले शंकर ग्रुप अन्तर्गत ४० वटाभन्दा बढी कम्पनी छन् ।

शंकरलाल अग्रवालका बुबाले उद्योगमा सफलता हासिल नगरे पनि शंकरलालले भने ट्रेडिङमा पाएको सफलतालाई विस्तारै उद्योगतर्फ केन्द्रित गराए ।

नेपालको सबैभन्दा ठूलो स्टिल उद्योगको स्वामित्व शंकर ग्रुप अन्तर्गत छ । सन् १९९४ मा शंकरलाल अग्रवालले जगदम्बा स्टिल उद्योग खोलेका थिए । सन् २००१ मा जगदम्बा सिमेन्ट खोलिएको थियो । यस्तै धागो उद्योग जगदम्बा यार्न शंकर ग्रुप अन्तर्गतको अर्को सफल कम्पनी हो ।

सिमेन्ट र डण्डी उद्योगमा शंकर ग्रुप नेपालको पायोनियर मानिन्छ । शंकर ग्रुपले कम्पनीहरुमा सौरभ ग्रुप तथा अम्बे ग्रुपसँग साझेदारी लगानीमा व्यवसायिक यात्रा अगाडि बढाएको छ ।

ट्रेडिङबाट पाएको सफलताले शंकरलालले उद्योगमा सफलता पाए । उनका छोराहरु साहिल अग्रवाल र सुलभ अग्रवालले व्यवसाय अगाडि आउँदा ग्रुप फेरि ट्रेडिङमा केन्द्रित भयो । छोराहरुको सक्रियता र आक्रमक सोचले यो समूहको ग्रोथको पारो उकालो मात्रै छ ।

शंकर ग्रुप टिभिएस मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता बनेपछि नेपाली बजारमा टिभिएसले बलियो उपस्थिती जनायो । अहिले टिभिएस मोटरसाइकल र स्कुटरको एसेम्बल नेपालमै हुन्छ । केही समयअघि यो समूहले मलेसियाको प्रोटोन गाडीलाई भित्र्याएको थियो । प्रोटोन गाडीको नेपालमा आधिकारिक बिक्रेता शंकर ग्रुपको कम्पनी जगदम्बा अटोमोबाइल्स हो ।

यसबाहेक सिमेन्ट उद्योगमा पछिल्लो समय ग्रुपले हेटौंडामा रिद्धिसिद्धी तथा उदयपुरमा सौर्य सिमेन्ट ल्याएको छ । नक्सालमा ५ तारे होटल हिल्टन बनाइरहेको छ । यसबाहेक ग्रुपले जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ ।

वित्तीय क्षेत्रमा भने शंकर ग्रुपको सबैभन्दा बढी लगानी रहेको जीवन बीमा कम्पनी हिमालयन लाइफ हो । त्यस्तै हिमालयन रि इन्स्योरेन्समा पनि ग्रुपको ठूलो लगानी छ ।

जब सुलभ अग्रवालले सक्रियरूपमा बिजनेश हेर्न थाले तब यो ग्रुप निरन्तर बदनाम बनिरहेको निकटस्थहरु बताउँछन् ।

‘सुलभ म्याचुअड छैन तर मास्टरमाइन्ड छ, पैसाले सबैथोक गर्न सकिन्छ भन्नेमा उसको दिमाग खर्च नगरेर असल काम गरेर मात्रै पैसा कमाउनुपर्छ भन्नेमा लगाएको भए उ धेरै गर्न सक्ने मान्छे हो’ सुलभलाई नजिकबाट चिन्ने एक व्यवसायी भन्छन् ।

Skip This