नेपाललाई ‘गरिखाने’हरूको देश बनाउँछौं, निजी क्षेत्रलाई उड्ने र फैलिने सुविधा दिइनेछः अर्थमन्त्री डा. वाग्ले

0
Shares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई गरिखाने मान्छेहरूको देशको रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन्।

मुलुकको अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यका साथ आफूहरू सरकारमा आएको बताउँदै मन्त्री वाग्लेले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न र व्यवसाय विस्तार गर्न आग्रह गरे । ‘तपाईंहरूलाई उड्ने र फैलने सुविधा राज्यले दिन्छ,’ उनले व्यवसायीहरूलाई आश्वस्त पार्दै भने, ‘देश बनाउने हुटहुटी बोकेर हामी आएका छौं, आउनुस् अर्थतन्त्र बलियो बनाउन हातेमालो गरौं ।’

भेटका क्रममा अर्थमन्त्री वाग्लेले इमानदार व्यवसायीहरूले राज्यका तर्फबाट कुनै पनि प्रकारको दुःख वा हैरानी पाउने अवस्थाको अन्त्य गर्ने ग्यारेन्टी गरे । उनले भने, ‘इमानदार उद्योगी र व्यापारीहरू कानुनका कारण बदनाम बन्ने अवस्था आउन दिँदैनौं । रोजगारी सिर्जना गर्नेहरूले अब राज्यका निकायबाट हैरानी पाउँदैनन्, त्यसको ग्यारेन्टी म लिन्छु ।’

उनले उद्योग र अर्थतन्त्रको विकासका लागि राज्यले गर्नुपर्ने कामबारे सुझाव दिन निजी क्षेत्रलाई आह्वान गर्दै ती सुझावहरू कार्यान्वयन गर्न सरकार तयार रहेको बताए । यद्यपि उनले व्यावसायिक इमानदारितामा भने विशेष जोड दिएका छन् । ‘निजी क्षेत्र इमानदार भइदिए राज्यले दिलोज्यान दिएर सहयोग गर्छ, तर नियोजित र प्रायोजित गल्ती वा बेइमानीमा भने हामी निर्मम हुन्छौं,’ उनले चेतावनी दिए ।

नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने विषयमा निजी क्षेत्रले व्यक्त गरेको चिन्ताप्रति लक्षित गर्दै अर्थमन्त्री वाग्लेले यसलाई तत्कालै गरिहाल्ने पक्षमा आफू नरहेको बताए । निजी क्षेत्रको पिरमर्का बुझेको उल्लेख गर्दै उनले मुलुकको सर्वाङ्गीण विकासका लागि सबै पक्षलाई एकै ठाउँमा उभिन समेत आग्रह गरे ।

छलफलमा चेम्बरका पदाधिकारीहरूले अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको भूमिका र सरकारबाट अपेक्षित सहयोगका विषयमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।