
काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालन गर्नका लागि नेपाली–चिनियाँ संयुक्त उपक्रम युसिन–एआरटी ज्वाइन्ट भेन्चर्सले पाँच वर्षका लागि जिम्मा पाएको छ ।
यो संयुक्त उपक्रमले आगामी ५ वर्षका लागि १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपैयाँमा सञ्चालनको जिम्मा पाएको हो । यो संयुक्त उपक्रमले सर्भिस प्रोभाइडरको जिम्मा पाए पनि सम्झौता हुन भने बाँकी छ ।
सम्झौता हुन अझै १५ दिन लाग्ने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जानकारी दिए ।
उनका अनुसार उक्त सुरुङमार्ग सञ्चालनका लागि सर्भिस प्रोभाइडर छनोट गर्न स्वदेशी र विदेशी गरी १० वटा कम्पनी ग्लोबल टेण्डरमा प्रतिस्पर्धा गरेका थिए ।
त्यसमध्ये सबैभन्दा कम रकम कबोल गरेको आधारमा चिनियाँ कम्पनी चोङ्गक्वीङ्ग युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेड र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सनको संयुक्त उपक्रम युसिन–एआरटी ज्वाइन्ट भेन्चर्सलाई छनोट गरिएको हो ।
आयोजनाले आज मात्रै उक्त कम्पनीलाई सञ्चालन तथा मर्मतसम्भारका लागि छनोट गरिएको आशय पत्र प्रकाशित गरेको छ । यो आशय पत्रको आधारमा कसैले चाहेमा दावी–विरोध गर्न ७ दिनको अवधि तोकिएको छ ।
‘सात दिनभित्र कसैले दावी नगरेको अवस्थामा आगामी १५ दिनभित्र छनोट भएको उक्त कम्पनीसँग सर्भिस प्रोभाइडरका लागि सम्झौता गर्नेछौं,’ क्लिकमान्डुसँग पन्थीले भने, ‘त्यसपछि सर्भिस प्रोभाइडरले आवश्यक जनशक्ति संकलन गरी तिनलाई आवश्यक तालिम उपलब्ध गराएपछि आगामी जेठको अन्तिम सातादेखि सर्वसाधारणका लागि नागढुंगा सुरुङमार्ग खुला हुनेछ।’
पन्थीका अनुसार सम्झौतामार्फत सञ्चालन र मर्मतसम्भारको जिम्मा पाउन लागेको युसिनले सेक्युरिटी गार्डसहित करिब १५० जना दक्ष जनशक्ति परिचालन गर्नुपर्नेछ ।

यसमा ५ जना भने चिनियाँ नागरिक हुने बताइएको छ । यो जनशक्तिमध्ये निश्चित संख्याका आधारमा सिफ्ट–अनुसार टोली परिचालन हुनेछ ।
सञ्चालनका लागि ठेक्का पाउन लागेको नेपाली–चिनियाँ संयुक्त उपक्रम युसिन–एआरटी ज्वाइन्ट भेन्चर्सले टोल ट्याक्स वापतको रकम उठाएर सरकारको खातामा जम्मा गर्नुपर्नेछ । यस्तै मर्मतसम्भार र सञ्चालनसमेत गर्नुपर्नेछ ।
गत पुस ३० गते खोलिएको टेण्डर बोलपत्रअनुसार सर्भिस प्रोभाइडरका लागि भारतीय कम्पनीतर्फ सेगमेन्टल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सहकार्यमा नेपाली कम्पनी स्वच्छन्द निर्माण सेवा प्राइभेट लिमिटेड, टनेलटेक सोल्युसन प्राइभेट लिमिटेडको सहकार्यमा नेपाली कम्पनी बाबरी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड र इल्सामेक्स मेन्टिनेन्स सर्भिस लिमिटेडको सहकार्यमा नेपाली कम्पनी पशुपति शिवाजी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड प्रतिस्पर्धामा सहभागी भएका थिए ।
यस्तै चिनियाँ कम्पनीतर्फ गन्सु हेङ्गटङ रोड एण्ड ब्रिज इन्जिनियरिङ कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी काष्टमण्डप कन्स्ट्रक्सन प्राइभेट लिमिटेड, सान्सी रोड एण्ड ब्रिज ग्रुप कर्पोरेशन लिमिटेडको सहकार्यमा नेपाली कम्पनी ब्राइट बुल निर्माण सेवा र जियाङसी टियानफेङ कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी डाँफे कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड प्रतिस्पर्धामा उत्रिएका थिए ।

यस्तै चिनियाँ कम्पनीतर्फ चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी सामानान्तर निर्माण सेवा प्राइभेट लिमिटेड, चोङ्गक्वीङ्ग युसिन रोड एण्ड ब्रिज डेभलपमेन्ट कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन र रान्केन रेलवे कन्स्ट्रक्सन ग्रुप कम्पनीको सहकार्यमा नेपाली कम्पनी भेदान्सी इन्फ्रास्ट्रक्चर लिमिटेड प्रतिस्पर्धामा सहभागी भएका थिए ।
त्यस्तै टर्कीको अल्टीनोक कन्सलटिङ इन्जिनियरिङ कम्पनी लिमिटेडको सहकार्यमा नेपाली कम्पनी कुमार श्रेष्ठ निर्माण सेवा प्राइभेट लिमिटेड र भागेश्वरी कन्स्ट्रक्सन प्राइभेट लिमिटेड संयुक्त रूपमा प्रतिस्पर्धामा सहभागी भएको पन्थीले जानकारी दिए ।
आयोजनाले अन्तिम पटक पुस १६ गते १४ दिनको म्याद थप गरी पुस ३० गते बोलपत्र खोल्ने अवधि तोकेको थियो । सर्भिस प्रोभाइडर छनोटका लागि आयोजनाले पुस २ गते बोलपत्र खोल्ने गरी गत कात्तिक १६ गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
निर्धारित समयमा प्रतिस्पर्धामा थोरै कम्पनी सहभागी भएकाले इच्छुक कम्पनीहरूको आग्रहमा बोलपत्रको अवधि १५ दिन थप गरी पुस १६ गतेसम्मका लागि म्याद थपिएको थियो ।
आयोजनाका अनुसार निर्माणका क्रममा केही संरचनाको काम बाँकी रहेकाले २०२६ अप्रिलसम्म म्याद थप गरिएको छ ।
धादिङतर्फको प्रवेशद्वार (सिस्ने खोला) नजिकै पटक–पटक नयाँ पहिरो खसेर प्रवेशद्वारमा क्षति पुगेको र उक्त स्थानमा टोलगेट प्लाजासहित पहुँचमार्ग निर्माण गर्न बाँकी रहेकाले ६ महिनाको म्याद थप गरिएको थियो ।
पन्थीका अनुसार थपिएको अवधिमा पहिरो नियन्त्रणको काम र पश्चिमतर्फको टोलगेट निर्माण कार्य द्रुत गतिमा भइरहेको छ । सुरुङमार्गको पूर्वतर्फको टोलगेट निर्माण सम्पन्न गरी परीक्षणसमेत भइसकेको उनले बताए ।
यो सुरुङमार्ग अन्तर्गत दुई वटा टनेल निर्माण गरिएको छ ।
जसअनुसार आपतकालीन उद्धारका लागि २ हजार ५ सय ५७ मिटर लामो सहायक आपतकालीन सुरुङमार्ग (इभाक्युएसन टनेल) र सवारी साधन ओहोर–दोहोरका लागि २ हजार ६ सय ८८ मिटर दूरी र ३.५ मिटर चौडाइ भएको दुई लेनको मुख्य सुरुङमार्ग (मेन टनेल) निर्माण गरिएको छ ।
मुख्य सुरुङमार्गसँगै समानान्तर रूपमा निर्माण भएको आपतकालीन सुरुङमा ७ वटा क्रस प्यासेज (इन्ट्री गेट)निर्माण गरिएको छ ।
मुख्य सुरुङमार्गमा सवारी साधन ओहोर–दोहोर गर्दा हुने दुर्घटना, गाडी बिग्रने वा अन्य समस्या परेका यात्रुको उद्धारका लागि समानान्तर रूपमा यो सुरुङ निर्माण गरिएको हो ।

मुख्य सुरुङमार्गभन्दा २० मिटर दूरीमा देब्रेतर्फ समानान्तर रूपमा निर्माण भएको आपतकालीन सुरुङमार्ग साढे चार मिटर चौडाइ र ५ मिटर उचाइको छ । यो सुरुङमार्गलाई मुख्य सुरुङमार्गसँग जोड्न ३ सयदेखि ३ सय ५० मिटर दूरीमा क्रस प्यासेज निर्माण गरिएको छ ।
सुरुङमार्ग प्रयोग गरी ओहोर–दोहोर गर्ने सवारी साधनका लागि सरकारले टोलगेट (उपभोग दस्तुर) समेत तोकिसकेको छ ।
गत श्रावण २८ गते बसेको मन्त्रिपरिषद् बैठकले टोलगेट शुल्क निर्धारण गरेको थियो । जसअनुसार नागढुंगा सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने कार, भ्यानले ६५ रुपैयाँ र काठमाडौंबाट फर्कँदा ६० रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ र फर्कँदा ८० रुपैयाँ, ठूला बस र ट्रकले काठमाडौं आउँदा २६० र फर्कँदा २०० रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै भारी उपकरणले काठमाडौं आउँदा ६०० र फर्कँदा २५० रुपैयाँ तिर्नुपर्ने सरकारले निर्णय गरेको थियो ।
नागढुंगा सुरुङमार्ग २२ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको छ । यसमध्ये १६ अर्ब रुपैयाँ जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ । बाँकी ६ अर्ब रुपैयाँ नेपाल सरकारले व्यहोर्ने सम्झौतामा उल्लेख छ ।

सडक विभागले हाजमा–एण्डो कर्पोरेशनसँग २०१९ सेप्टेम्बर २३ मा ठेक्कासम्बन्धी सम्झौता गरेको थियो । सम्झौताअनुसार ४२ महिनाभित्र (२०२३ अप्रिल २५) निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
पन्थीका अनुसार सरकारले यसअघि दुई पटक म्याद थप गरेको थियो । पहिलो पटक १ वर्ष र दोस्रो पटक १८ महिनाको म्याद थप गरी निर्माण सम्पन्न गर्ने अवधि अक्टोबर २५ (२०८२ कात्तिक ८) तोकिएको थियो ।
कोभिडकाल, स्थानीयवासीको अवरोध, क्रसर उद्योग बन्द, भौगोलिक जटिलतालगायतका कारण पहिलो पटक २०८० साउन ४ (२०२३ जुलाई २०) मा १ वर्ष र २०८० चैत १२ (२०२४ अप्रिल २५) मा दोस्रो पटक १८ महिना म्याद थप गरिएको थियो ।
अन्तिम पटक थपिएको समयभित्र निर्माण सम्पन्न गरी सञ्चालन–व्यवस्थापन कम्पनी छनोट गरेर पुसभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने योजना भए पनि भेरिएसनका कारण अब जेठदेखि सञ्चालन गर्ने गरी सडक विभागले तयारी गरेको छ ।








प्रतिक्रिया