अमेरिकी डलरमा ट्रम्पको हस्ताक्षर राखिने, पहिलोपटक बहालवाला राष्ट्रपतिको सिग्नेचर

133
Shares

एजेन्सी । अमेरिकाको अर्थ मन्त्रालय (ट्रेजरी विभाग) का अनुसार, अमेरिकी बैंक नोटहरूमा आफ्नो हस्ताक्षर हुने डोनल्ड ट्रम्प पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बन्ने भएका छन् ।

ट्रम्पको हस्ताक्षर अर्थमन्त्री (ट्रेजरी सचिव) स्कट बेसेन्टको हस्ताक्षरसँगै छापिनेछ । मन्त्रालयले यसलाई अमेरिकाको २५० औं वार्षिकोत्सव मनाउने एउटा अभूतपूर्व कदम भनेको छ ।

‘हाम्रो महान् देश र राष्ट्रपति डोनाल्ड जे ट्रम्पका ऐतिहासिक उपलब्धिहरूलाई सम्मान गर्न अमेरिकी डलरका नोटहरूमा उनको नाम हुनुभन्दा प्रभावशाली अर्को कुनै माध्यम हुन सक्दैन,’ बेसेन्टले भने । अमेरिकी बैंक नोटहरूमा परम्परागत रूपमा अर्थ मन्त्रालयका अधिकारीहरूको हस्ताक्षर हुने गर्दथ्यो ।

ट्रम्पको नामलाई विभिन्न सरकारी कार्यक्रम र सार्वजनिक भवनहरूसँग जोड्ने प्रशासनको यो पछिल्लो कदम हो ।
ट्रम्प र बेसेन्टको हस्ताक्षर भएका पहिलो १०० डलरका नोटहरू जुन महिनामा छापिनेछन् र अन्य नोटहरू त्यसपछि छापिनेछन् ।

हाल छापिने नोटहरूमा पूर्व राष्ट्रपति जो बाइडनकी अर्थमन्त्री जेनेट येलेन र कोषाध्यक्ष लिन मालेर्बाको हस्ताक्षर रहेको छ ।
सन् १८६१ देखि अमेरिकी बैंक नोटमा कोषाध्यक्षको हस्ताक्षर रहने परम्परा थियो जुन ट्रम्प प्रशासनको योजना अनुसार अब समाप्त हुनेछ ।

२५०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेसेन्टले ट्रम्पको नाम अंकित मुद्रा छाप्नु हाम्रो महान् देश र राष्ट्रपतिको ऐतिहासिक उपलब्धिहरूलाई सम्मान गर्ने एक प्रभावशाली माध्यम हुने बताए ।

वर्तमान अमेरिकी कोषाध्यक्ष ब्रान्डन बीचले देशको मुद्रा समृद्धि, शक्ति र अमेरिकी जनताको अटल भावनाको प्रतीकका रूपमा रहिरहने प्रतिबद्धता व्यक्त गरे ।

यस वर्ष ती १३ वटा मूल अमेरिकी उपनिवेशहरू (जुन पछि राज्य बने) ले बेलायतबाट आफ्नो स्वतन्त्रताको औपचारिक घोषणा गरेको २५०औं वार्षिकोत्सव परेको छ ।

क्यालिफोर्नियाका डेमोक्रेटिक गभर्नर र ट्रम्पका पुराना आलोचक गेभिन न्युसमले राष्ट्रपतिको आर्थिक रेकर्डमाथि प्रहार गर्दै यस घोषणाको प्रतिक्रिया दिएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब खाद्यान्न, ग्यास, भाडा र स्वास्थ्य उपचारका लागि बढी शुल्क तिर्नुपर्दा अमेरिकीहरूले ठ्याक्कै कसलाई दोष दिने भन्ने कुरा थाहा पाउनेछन् ।’

यसै महिनाको सुरुमा एक संघीय कला आयोगले अमेरिकाको २५०औं जन्मदिन मनाउन ट्रम्पको तस्बिर अंकित २४ क्यारेटको सुनको सिक्कालाई पनि स्वीकृति दिएको थियो ।

आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पको नाम कोभिड–१९ महामारीको समयमा लाखौं अमेरिकीहरूलाई पठाइएका राहत चेकहरूमा पनि छापिएको थियो ।