ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन हुँदै, परिवार र सचिवालयका व्यक्ति पनि तानिन सक्ने

14
Shares

फाइल तस्बिर

काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्दै प्रहरीले प्रमुख राजनीतिक दलका शीर्ष नेता तथा उनीहरूको निकट समूहका सदस्यहरूमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान अघि बढाएको छ ।

आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको आगजनीपछि केही नेताहरूको घरबाट नगद रकम फेला परेपछि सुरु गरिएको प्रारम्भिक अनुसन्धानलाई थप विस्तार दिँदै अब व्यापक रूपमा छानबिन अगाडि बढाइएको स्रोतको भनाइ छ।

यसैक्रममा आइतबार नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । खड्काको घरमा जलेको पैसा बारेको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको गृहमन्त्री सुधन गुरुङले जनाएका छन्।

अनुसन्धानको दायरामा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनका परिवारका सदस्यहरूसमेत परेका छन् । यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) र उनकी छोरी गंगा दाहालको निवासबाट पनि नगद फेला परेको घटनालाई आधार बनाएर थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतको भनाइ छ ।

उक्त घटनामा ललितपुर महानगरपालिका–२६, सुनाकोठीस्थित गंगा दाहालको घरमा आगलागी हुँदा नगद रकम भेटिएको थियो, जसको मुचुल्का उठाएर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यससँगै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनको सचिवालयसँग सम्बन्धित केही व्यक्तिमाथि पनि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान थालिएको स्रोतको भनाइ छ।

सम्पत्ति शुद्धीकरण विभागले सीआईबीलाई पत्राचार गरेपछि सोही आधारमा अनुसन्धान तीव्र बनाइएको हो ।

यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न नेताहरूको निवासमा नगद फेला परेको विषय सार्वजनिक भएपछि सम्बन्धित स्थानहरूमा मुचुल्का उठाइएको थियो। अहिले सोही घटनालाई आधार बनाएर अनुसन्धानलाई थप विस्तार र तीव्रता दिइएको प्रहरी स्रोतले जनाएको छ।