प्रधानमन्त्री बालेन्द्र शाहलाई निर्वासित तिब्बती सरकारले दियो बधाई

623
Shares

एजेन्सी । प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतमा रहेको निर्वासित तिब्बती सरकारले शनिबार बधाई दिएको छ ।

सेन्ट्रल टिबेटन एडमिनिस्ट्रेशनको वेबसाइटमा प्रकाशित बधाई सन्देशमा केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट सिक्योङ पेन्पा छिरिङले शुक्रबार शपथ ग्रहण गरेका प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई ज्ञापन गरेको उल्लेख छ ।

बधाई पत्रमा सिक्योङले लेखेका छन्, ‘भर्खरैको जेनजी नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा तपाईंको उदय हुनु नेपालका जनता, विशेषगरी युवा पुस्ता, को आकांक्षाको शक्तिशाली प्रतीक हो ।’

पत्रमा अगाडि भनिएको छ, ‘नेपाल र तिब्बतबीच गहिरो ऐतिहासिक र आध्यात्मिक सम्बन्ध पुस्तौंदेखि कायम छ । नेपालमा रहेका तिब्बती समुदायले यस सम्बन्धलाई थप मजबुत बनाएका छन् । तिब्बतको जबर्जस्ती कब्जापछि नेपालमा शरण पाएका उनीहरूले आफ्नो तिब्बती पहिचान जोगाउँदै नेपालको सामाजिक र आर्थिक संरचनामा लामो समयदेखि योगदान पुर्याउँदै आएका छन् । यो नेपाल सरकार र नेपाली जनताको उदारताका कारण सम्भव भएको हो र त्यसका लागि हामी सधैं कृतज्ञ रहनेछौं ।’

पत्रको अन्त्यमा उनले लेखेका छन्, ‘नेपालको इतिहासको यस महत्त्वपूर्ण कालखण्डमा देशको नेतृत्व गर्दै गर्दा मेरो निष्कपट बधाई र सफलताको शुभकामना स्वीकार गर्नुहोस् । तपाईंको सक्षम नेतृत्वमा हाम्रा जनताबीचको मित्रता निरन्तर प्रगाढ हुँदै जानेमा हामी आशावादी छौं र नेपाल प्रगति, समृद्धि एवं सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने कामना गर्दछौं ।’