डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २०औं वार्षिक साधारण सभा सम्पन्न

161
Shares

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त सभामा नेपालका विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेको सभाले आर्थिक वर्ष २०८१/८२ को कार्य समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै, सभाले लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू पनि स्वीकृत गरेको छ । सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक समेत निर्धारण गरेको छ ।

सभामा अध्यक्ष श्रेष्ठले समीक्षा अवधिमा एशोसिएसनले हासिल गरेका मुख्य उपलब्धिहरू प्रस्तुत गरे । जसअन्तर्गत विकास बैंकहरूको हितका लागि गरिएका नीतिगत पैरवी, एनएफआरएस (ईसीएल), गोएएमएल र धितो मूल्यांकन जस्ता विषयमा सरोकारवालासँगको समन्वयलाई प्रमुखताका साथ उल्लेख गरियो ।
एशोसिएसनले सदस्य बैंकहरूको तथ्यांक व्यवस्थापन र निर्णय प्रक्रियालाई सहज बनाउन एचआर एमआईएस र फाइनान्स एमआईएस सफ्टवेयर विकास कार्य अघि बढाएको छ । साथै, बैंकिङ सुरक्षा र पारदर्शिताका लागि डोमेस्टिक पेप्स (राजनीतिक पहुँच भएका व्यक्ति/उच्च पदस्थ अधिकारी) सम्बन्धी डाटाबेस तयार गरी सदस्य बैंकहरूलाई उपलब्ध गराइएको जानकारी दिइयो ।

हाल नेपालमा १७ वटा विकास बैंकहरू सञ्चालनमा छन्, जसमा ८ वटा राष्ट्रिय स्तरका र ९ वटा क्षेत्रीय स्तरका छन् । तथ्यांक अनुसार २०८२ साल माघ मसान्तसम्म विकास बैंकहरूले १,१२६ शाखा र ३३९ एटीएममार्फत करिब ८० लाख ग्राहकहरूलाई बैंकिङ सेवा पुर्‍याउँदै आएका छन् ।

वर्तमान आर्थिक परिवेशमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौतीहरूका बाबजुद विकास बैंकहरू ग्राहकप्रति समर्पित भएर सेवा प्रवाह गरिरहेको सभामा चर्चा गरियो । अध्यक्ष श्रेष्ठले विषम परिस्थितिमा अभिभावकीय भूमिका निर्वाह गरेकोमा नियामक निकाय नेपाल राष्ट्र बैंकप्रति धन्यवाद व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा प्रविधिमैत्री बैंकिङ प्रणाली, सुशासन, व्यावसायिकता र पारदर्शितामा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याए । नयाँ वर्ष २०८३ मा सदस्य बैंकहरू अझ सबल र सुदृढ भई व्यवसाय विस्तारमा लाग्ने विश्वास एशोसिएसनले व्यक्त गरेको छ ।